Aamsanchar

‘धर्म भजाएर भोटको राजनीति गर्नेहरू पाखण्ड’

Author Image
आइतवार, मंसिर १०, २०८०

धर्म, संस्कार, संस्कृति र परम्परा भनेको ब्यक्तिले आफ्नो संस्कार संस्कृति अनुसार मान्ने, मनाउने हो । ब्यक्तिको, समुदायको धर्म हुन्छ । तर राष्ट्रको कुनै धर्म हुँदैन । अझ हाम्रो जस्तो बहु जातीय, बहुभाषिक, बहुधार्मिक र बहु सांस्कृतिक परम्परा रहेको मुलुकमा त झन् राज्यको कुनै धर्म मात्र राज्यको धर्म हुनै सक्दैन । कतिपय मुलुकहरू कुनै खास जाति विशेषको बाहुल्यता भएको वा एकै जातिको मात्र बसोबास भएको स्थानमा कुनै एक धर्मलाई राज्यको धर्मको रुपमा व्याख्या गरिएको हुनसक्छ । तर, नेपालको परिवेश ठीक विपरित छ । त्यसैले नेपाललाई कसैले कुनै धर्म विशेषको राज्य बनाउँछु भन्छ भने त्यो समाजमा झगडा लगाउने र भोटको राजनीतिका लागि आफ्नो स्वार्थको रोटी सेक्ने पाखण्ड हो ।

धार्मिक स्वतन्त्रता भएको, सबै धर्मका प्रति समभाव राख्नु धर्म निरपेक्ष राष्ट्र नै नेपालको सन्दर्भमा उपयुक्त हुन्छ । धर्मको आडमा आफूलाई भगवान विष्णुको अवतार भएको भ्रम फैलाएर निरंकुश शासन लादने राणा र शाहवंशको राजगद्दी अन्त्य भएर मुलुक लोकतान्त्रिक गणतन्त्रको महामार्गमा आइपुगेको छ । यस्तो आधुनिक परिवर्तन भइसक्दा पनि पुरातनपन्थी सोच भएका, परिवर्तनको आन्दोलनमा कुनै भूमिका र योगदान नदिएका राष्ट्रघाती, जनविरोधी सनमन्तका दलाल सन्तानहरू फेरिपनि धर्मका नाममा राजनीति गरेर निरंकुश ज्ञानेन्द्रको गुमेको गद्दी फर्काउन सकिन्छ कि भनेर धमिलो पानीमा माछा मार्ने दाउ हेरेर बसेका छन् । यिनलाई साँचिक्कै धर्मको माया भएको हो भने जजसले धर्मको कुरा उठाउँछन्, उनीहरूले आफ्नो सारा सम्पत्ति आफू नजिकको मठ, मन्दिर र देवालयहरुलाई लिखत पास गरेर दान गरुन्, अनि धर्मको कुरा गरुन् ।

यहाँपनि धर्मको कुरा गर्ने भए पार्टी, दल त्यागेर धर्मको मात्र कुरा गर्नु प¥यो । दलको नेतृत्वमा बसेर धर्मका कुरा गर्दै भोटको राजनीति गर्ने पाखण्डले कुनैपनि धर्मको रक्षा गर्न सक्दैन । कुनैपनि देशको एउटा मात्र धर्म हुनु हुदैन । जातको धर्म हुन्छ, एउटा देशमा धेरै धर्म मान्ने जनता बस्न सक्छन् । त्यसैले अब धर्म निरपेक्ष भनेर संविधानमा लेखिसकिएको अवस्थामा एकल धार्मिक मुलुक घोषणा गरेर संविधान संशोधन गर्न त्यति सजिलो छैन । त्यसले अर्को विद्रोह जन्माउँछ । धर्मका नाममा विवाद गर्नेहरू, झगडा बढाउन खोज्नेहरुले देश र जनताको भलो चाहेका होइनन् । पहिचान र धर्मका नाममा हिंसाको राजनीतिलाई बढावा दिनेहरू यो मुलुकका धमिरा हुन् । यिनले देशलाई भित्रभित्रै समाप्त पारिरहेका हुन्छन्  ।

कमजोरले गर्छ धर्मको आडमा राजनीति

जब कुनै पनि पार्टी वा समूहको नीति, बिचार र कार्यक्रम जनहितकारी, हुदैन । तब त्यस्तो जमातले कि जाती नश्लवादी र धर्मका नाममा हिंसाको बाटो समाउँछ, कि धर्मको आडमा भ्रमको जालो फैलाउने दुष्प्रयास गर्छ । पार्टीको नीति समाजवादी छ, लोक कल्याणकारी राज्य व्यवस्थाको कल्पनासहितको आर्थिक, सामाजिक कार्यक्रम लिएर जनताको आँगनमा जाने पार्टीले धर्मको सहारामा राजनीतिको रोटी सेक्ने चरम स्वार्थी खेल गर्नै पर्दैन । पार्टीको नीति कार्यक्रमलाई मन पराएर जनता आफैं दलमा आवद्ध भइहाल्छन् नि । नीति जनतामा फेल भएपछि, जनताले चुनावमा नपत्याएपछि, अग्रगमन र परिवर्तनका बाधक र विरोधीहरू, प्रतिगामी, पुनरुत्थानवादी झुण्डले जहिले पनि कि जातीयताका नाममा, कि धर्मका नाममा आफ्नो राजनीतिक डम्फु बजाउने गरेका छन् ।

धर्मको प्रचार गर्ने, शास्त्रको व्याख्या गर्ने, वैदिक संस्कार गर्ने, गराउने, कर्मकाण्ड, न्वारन, पास्नी, ब्रतवन्ध,  विवाह, तिथि सराद (श्राद्ध) दशगात्र–सुद्याईकर्म, भजन–कीर्तन पुराण गर्ने वाचन गर्ने यी सबै कर्म राजनीतिक दलले गर्ने होइन । दलमा आस्था राख्ने वा दलकै नेताकार्यकर्ता भएपनि उस्ले व्यक्तिगत र पारिवारिक रुपमा यो कार्य गर्न सक्दछ । तर राजनैतिक दलले यस्तो कार्यको ठेक्का लिएर हिँड्दा देश बन्न सक्दैन । अनि यस्तो कार्यको पछि लागेर राष्ट्र बनाउँछौं भनेको कुरा पत्याएर आफ्नो समय र सामथ्य खेर फाल्नु राम्रो होइन । राजनैतिक दलले त समग्र नीतिहरूले समाजलाई, राष्ट्रलाई प्रगतिपथमा लैजाने कार्यक्रम पो ल्याउनु पर्दछ । यो धर्मको कुरा गर्ने काम साधु, सन्त, महन्त, पुजारी, गुरुजीहरु, बिजुवा, फेदाङवा, लामा, मौलानाहरुलाई छोडिदिनुपर्छ । दलले सबै जनताको हितका खातिर दलको काम गर्ने, धार्मिक क्षेत्रले धर्मसंस्कार संस्कृति र परम्पराको संरक्षण, संवर्द्धनमा लाग्ने हो । जनताले आफ्नो रुचि र आस्था अनुसारको धर्म मान्ने हो ।

नीतिमा स्खलित भएपछि वा बदलिदो समाजले आफ्नो पार्टीको नीतिलाई अश्विकार गरेको थाहा पाएपछि कमजोर दलले धर्म, जात र नश्लवादको कुरा गर्न थाल्छ । यी तीन कुराले अन्ततः फरक धर्मसम्प्रदाय र जनताजनताबीचमा द्वन्द्व बढाउँछ ।  नीतिमा परिर्वतन गरेर, सुधारेर प्रतिष्पर्धा गर्न सकिन्छ । धर्म ग्रन्थमा परिवर्तन सम्भव हुँदैन । संस्कार र संस्कृतिमा त समय अनुसार केही परिवर्तनहरू हुदै आएका छन् । तर धर्म र जातमा धरै फसियो भने त्यस्तो विवादले हिंसा बढ्दछ । विश्वमा यस्ता कैयन उदाहरणहरू छन् । जो धर्मका नाममा भएका छन् ।  संकीर्णतावाद धर्मभिरु र नश्लीय जातिवादीहरु भनेका मानवता विरोधी हुन् । तिनले विश्व ब्रह्माण्डको रक्षा र समग्र मानव जातिको कल्याण साँच्दैनन् । जातिभित्र पनि थर र गोत्र, धर्म भित्रपनि आफ्नो सम्प्रदायको मात्र चिन्ता गर्ने हुँदा राजनीति गर्छु भन्नेले जाति र धर्मको कुरा लिएर आउँछ भने मानवतावादी सभ्य नागरिकले त्यस्ता पाखण्डीलाई बहिष्कार गर्नुपर्दछ । सबै जाति, सबै भाषाभाषी, समुदायका मानिसको कल्याण हुने, कसैप्रति बिभेद नहुने सबैलाई समान ढङ्गले समेटने नीति ल्याउनेलाई मात्र राजनीतिमा स्थान दिनु अविवेकशिल नागरिकको कर्तव्य र दायित्व हो ।

अधर्मीको पञ्जामा धर्मको खेती

धर्म, संस्कार र संस्कृति हाम्रा अमूल्य निधि हुन् । तर धर्मलाई कमाई खाने भाँडो बनाउनेहरु, धर्म, संस्कार र संस्कृतिका नाममा विकृति भित्र्याउनेहरू, धर्मको आडमा आफ्नो दुनो सोझ्याउँदै आएका पाखण्डीहरुकै कारण अधर्मीको पञ्जामा धर्मको खेती भइरहेको छ । धर्म, संस्कार र संस्कृति भनेको स्वेच्छाको विषय हो । यो अनिवार्य र दण्डनीय विषय होइन हाम्रो मुलुकमा । कानूनको पालना अनिवार्य विषय हो । धार्मिक कानून भएका मुलुकहरूमा भने धर्म, संस्कार र संस्कृति मान्नै पर्ने अनिवार्य विषय बन्दछ । तर हाम्रो मुलुकमा पनि धर्मको ठेक्का लिएर बसेकाहरूले यसलाई आफ्नो स्वार्थ अनुकुल हुनेगरि दूरुपयोग गरिदिँदा हाम्रो मौलिक सनातनी धर्ममा प्रहार भइरहेको छ ।

कुनै संघरसंस्था, विद्यालय वा सार्वजनिक निकायहरूको उन्नयनका लागि पनि धार्मिक अनुष्ठानहरू आयोजना गर्ने गरिएको पाइन्छ । आर्थिक उपार्जन अर्थात धन आर्जन, संकलन गर्ने उद्देश्य राखेर धार्मिक अनुष्ठानहरू आयोजना गर्नु नै गलत हो । अनुष्ठानमा आएर कसैले स्वेच्छाले दान गर्नु भनेको अलग्गै विषय हो । तर, घरघरै खाता बोकेर पुगी जबर्जस्ती चन्दा लेखाउनु पनि धर्म विरोधी कार्य हो । सार्वजनिक हुने डरले, अगुवाहरूले केही अनिष्ट पो गरिदिने हुन् कि भन्ने त्रासले चन्दा लेखाउन निमुखा गरीब हरुलाई बाध्य बनाइनु धर्म होइन । पाप हो । सामाजिक काममा धनी, पूँजीपतिहरूले लगानी गर्नुपर्छ । जोसँग धेरै धन छ, त्यसैले धेरै दिनुपर्छ । गरीबहरु सँग चन्दा असुलेर मैले यस्तो सामाजिक काम गरेँ भनेर महान समाजसेवीको पगरी गुथ्नेहरूले अर्काको चन्दा बिनै आफ्ना पितृहरूको सम्झनामा, आफ्नै सम्पत्तिको लगानीमा सत्कर्म गर्नसक्नु पर्दछ । न कि अरुको पैसामा समाजसेवी बन्ने अधर्मी काम गरेर आत्मरतिमा रमाएर भ्रमको जालो फैलाउनु ।

धर्म भनेको सम्प्रदाय विशेषले मान्ने र नमान्ने पनि हुनसक्छ । तर लोकतान्त्रिक शासन ब्यवस्था भएको  मुलुकमा राजनीतिले सबै देशबासी जनातको भलो  गर्नुपर्छ । जनता सबैको हुनुपर्छ । राजनीतिमा जनता मेरो र तेरो भन्ने हुँदैन, हुनु हुँदैन । राजनीति कुनै वर्ग, पेशा वा धर्म वा जातजाति, सम्प्रदाय वा भूगोल वा रङ्गका आधारमा हुनुहुँदैन । हुन त सामन्त र कम्युनिष्टहरू आफ्नो वर्ग विशेषका लागि राजनीति गर्दछन् । उनीहरु सबै जनताका लागि राजनीति गर्दैनन् । सामन्तको संरक्षक राजतन्त्रले आफ्नै वरिपरीका आफ्ना दास, दलालको हित संरक्षण गर्न खोज्दछ भने कम्युनिष्टहरू त सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने भनेरै राजनीतिमा लागेका हुन् । उनीहरूको स्कूलिङ्ग नै यस्तै हुन्छ । एउटा वर्गको हित भए पुग्छ, कम्युनिष्ट र सामन्तलाई । लोकतन्त्रमा राजनीति कुनै एउटा पक्षको लागि अरुलाई बर्ग शत्रु सफाया गर्ने भनेर गर्न पाइदैन । अधिनायकवादीहरू आततायी हुन्छन् । उनीहरु धर्म र वर्गका नाममा मानवता विरुद्धको अपराधमा संलग्न हुन्छन् । अनि धर्म र बर्ग भजाएर भोटको राजनीति गर्दछन् । यिनीहरू धर्म र बर्गका नाममा राजनीति गर्ने पाखण्डहरू हुन् ।

जात र धर्मका नाममा ठूला बिनास

संसारमा धर्म र जातका नाममा ठूलाठूला नरसंहार हरु भएका छन् । राजनीतिका नाममा भन्दा जात र धर्मका आडमा भएका हिंसामा ठूलो मानवीय क्षति ब्यहोरेको छ, विश्वले । राम जन्मभूमि र बाबरी मस्जिदका नाममा भारतमा भएको धार्मिक झगडा होस् वा जर्मनीमा नाजी फौजद्वारा यहुदीहरूको विनास, वा मुस्लिमकै दुईवटा समूह सिया र सुन्नी बीचको लडाइ वा हुतु र तुत्सीबीचको जातीय युद्ध होस् वा काला र गोरहरुबीचमा भएको बिभेद विरुद्धको संघर्षः यस क्रममा धरै ठूलो मानवीय क्षति भएको छ । राजनैतिक आन्दोलनहरूमा को कुन बिचार वा आस्थामा आवद्ध मानिस हो देख्ने बित्तिकै थाहा हुँदैन, ठम्याउन सकिन्न । तर धर्म र जातका आधारमा हुने लडाइमा एकले अर्कोलाई देख्ने बित्तिकै थाहा पाइहाल्छ र यस्तो खाले लडाइमा ठूलो मानवीय क्षति हुने प्रबल सम्भावना रहिरहन्छ ।

धार्मिक ग्रन्थहरूमा पनि देवता र दानवबीचको लडाइँ, राजनीति र शासनसत्ता टिकाउन धर्मका नाममा भएको महाभारतको युद्ध, यदुवंशीहरुको बिनास, राम र रावणका सेनबीचको लडाइँ, आदिलाई हेर्ने हो भने स्वार्थ, धमण्ड, आपसी बेमेल, द्वेश, घृणा, अपमान, तिरस्कार, पक्षपात, बिभेद, दमन र उन्मादका कारण नै ठूलाठूला युद्धहरु भएका छन् । युद्धले कसैको जित हुँदैन । क्षणिक उन्माद त गराऊँला तर, ठूलो नरसंहार पछिको सन्नाटामा युद्ध अपराधीहरूले आफैं पश्चतापमा जलेर आत्महत्या गरेका थुप्रै उदाहरणहरू छन् । अत्याचारी शासकहरूको अन्त्य अत्यन्तै दुःखदायी ढङ्गले हुने गरेको छ । यस्ता युद्ध अपराधीहरू कि त मारिएका छन्, कि देश छोडेर भागेका छन् । कि बहुलाएर हिँडेका छन् । जात र धर्मका नाममा मानव नरसंहार गर्ने गराउनेहरूको कहिल्यै भलो हुँदैन । इतिहासमा कतै भलो भएको पनि छैन ।

विज्ञान प्रविधिको विकाससँगै दुनियाँ आज कहाँ पुगिसक्यो । बिकसित देशहरू मङ्गल ग्रहमा मानव बस्ती बसाउने योजनाकासाथ खोज अनुसन्धान गरिरहेछन् । मृत्यु भएको मानिसलाई प्रविधिको सहायताले पुनर्जीवित गर्न सकिन्छ कि भनेर अध्ययन, अनुसन्धान गरिरहेका छन् । तर, गरीब, पछौटे र अविकसित देशका स्वार्थी मान्छेहरू भने जात र धर्मका नाममा आपसमा लडेर आफू त सकिने नै भए, भावी पुस्तालाई समेत दुःख, कष्ट र अनिश्चयको भुँमरीमा धकेलिरहेका छन् । जहाँ विकास, त्यहाँ शान्ति र सुख, जहाँ अभाव र गरीबी त्यहाँ जातीय, धार्मिक झगडा । अनि कसरी मुलुक बन्नसक्छ रु कसरी विकास हुन्छ रु विकास बिना कसरी समृद्धि आउँछ रु त्यसैले कसैले पनि जात र धर्मका कुरा गरेर देशलाई बर्बादीको खाडलमा हाल्ने राष्ट्रघाती कामकुरा गर्छ भने देशभक्त लोकतन्त्रवादी  जनताले त्यस्ता देशका दुश्मन हरुलाई बेलैमा चिन्नुपर्छ । र त्यस्ता मानवता विरुद्धका अपराधीलाई दुत्कार्नु पर्छ । सकार्नु हुँदैन । धर्म र जातका नाममा हुने र भएका लडाइ पुर्‍याएको क्षतिका बारेमा कुरा बुझाउनु पर्छ ।

धार्मिक र जातीय सदभाव नै एकताको प्रतीक

एक समय बीपी कोइरालाले भन्नुभएको थियो – कि नेपाललाई बर्बाद गर्ने देशद्रोहीले सबभन्दा पहिला मिलेर बसेका नेपालीहरूका बीचमा धार्मिक, जातीय, भाषिक र सांस्कृतिक रुपमा विभाजन ल्याउने छन् । त्यसपछि उनीहरूले केही गर्नु पर्दैन । हामी आपसमै लडेर समाप्त हुनेछौं, यदि विदेशी र देशभित्रकै देश घातीहरुको षड्यन्त्र लाई चिर्न सकेनौँ भने । हो, अहिले ठीक यस्तै खेल गरिरहेका छन्, यो देशका दुश्मनहरूले । जात र धर्मका नाममा भएका हिंसामा परी संसारमा करोडौं मानिसहरूले ज्यान गुमाएका छन् । तर हिंसामा चपेटिएको देशले जहिल्यै हारेको छ । हिंसाको पीडाबाट मुलुकले कहिले प्रगति गर्न सक्दैन । राजनैतिक आन्दोलन र विद्रोह त एक पटक हार–जित भएपछि साम्य हुन्छ, तर जातीय, धर्मका नाममा भएका हिंसा अनन्तकालसम्म चलिरहन्छ ।

मिलेर बसेका नेपालीहरूमा पछिल्लो समय केही राष्ट्रघाती, देशद्रोहीले विभाजन ल्याउने अनेक षड्यन्त्र गरिरहेका छन् । खासगरी नेपालीहरूको साझा चाड बडा दशैँलाई विवादित बनाएर यो नेपालीको विशेष चाड होइन । यो त विदेशीको चाड हो भनेर नेपालको नागरिकता भएका केही मानिसहरू केही वर्षदेख दशैँमा आफ्नो निधार र अनुहारमा आफैं कालो मोसो दलेर दशैँ बहिष्कार गरौँ, दशैँ नमनाउन भन्दै गाडीमा माइकिङ्ग गर्दे हिडन् थालेका छन् । नेपालमा धेरै जातजातिका धेरै पर्वहरू छन् । तर कसैले कसैको पर्व बहिष्कार गरौँ भन्दैन । सबैले एक आपसमा मिलेर चाडपर्वहरू मनाउँछन् । कसैले कसैको पर्वलाई बहिष्कार गर्दैन । सम्मान नै गर्दछन् । ती कालो टिका लगाउनेहरू नास्तिक नै भएपनि उनीहरूका पनि कुनै न कुनै पर्वहरू हुँदाहुन्, तर दशैं मनाउने हरुले  कहिल्यै अरुले चाडपर्व नमानून् भनेर बहिष्कार गरेका छैनन्  र गर्नुपनि हुँदैन ।

दशैँ मनाउने, दशैँमा चामलको अक्षतालाई दही र रातो रङ्गमा मुछेर निधारमा जमरासहित लगाउने विशुद्ध नेपाली परम्परा हो । यसो गरेर भारतीयहरूले दशैँ मनाउँदैनन् । उनीहरु देवी दुर्गाको उपासना, आराधना गर्छन । प्रसादी बाँडेर खान्छन्, तर नेपालीले जस्तो नयाँ कपडा लगाएर निधारमा रातो अक्षताको टिका र जमरा लगाएर आफन्त र मान्यजनका हातबाट टिक र आर्शिवाद लिन उनीहरु दशैँको पूर्णिमासम्म हिँड्दैनन् । भारतीय, अरबी र तिब्बतियन मूलका नेपालमा बसोबास गर्नेहरूले पनि सामाजिक सद्भावका लागि दशैँमा टिका लगाउने गरेका छन् । तर खास नेपालीहरूले धुमधामकासाथ मनाउने दशैँ पर्व कुनै एउटा जाति वा भाषी वा धर्मावलम्बीको मात्र पर्व हुँदै होइन । यो नेपालीहरूको साझा चाड हो । यो चाड सबैले मनाउनै पर्छ भन्ने छैन । नमनाउन पनि पाइन्छ । तर अर्काले चाड–पर्व मनाएका बेला त्यसको विरोधमा माइकिङ्ग गर्दै हिँड्नाले सामाजिक सद्भाव भड्किन्छ । सद्भाव भड्कियो भने हिंसा बढ्छ । त्यसैले धार्मिक र जातीय सद्भाव बढाएर राष्ट्रिय एकताको प्रतीकलाई अझ बलियो बनाउने काममा सबै लागौं ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर