Aamsanchar

विराटनगरको तुलसी सहकारीका सञ्चालक कारागार चलान

Author Image
शुक्रवार, मंसिर १५, २०८०

विराटनगर – बचतकर्ताको रकम ठगी गरेर फरार भएको आरोप लागेका विराटनगरको तुलसी सहकारी संस्थाका सञ्चालक केदारनाथ शर्मालाई जिल्ला अदालत मोरङले थुनामा राख्न आदेश दिएको छ।

न्यायाधीश राजेश्वर अर्यालको इजलासले सहकारीका अध्यक्ष शर्मालाई पुर्पक्षका लागि थुनामा राख्न शुक्रबार आदेश दिएको हो। आदेशपछि उनलाई मोरङ कारागार चलान गरिएको अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार शर्मा सहकारी ठगी मुद्दाका प्रतिवादी हुन्।

प्रहरीले उनलाई काठमाडौंबाट बिहीबार राति विराटनगर ल्याएको थियो। प्रहरीले बुझाएपछि अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। मोरङ अदालतले थुनामा राख्न आदेश दिएपनि सहकारीको रकम हिनामिना मुद्दाका प्रतिवादी शर्मालाई कैलाली जिल्ला अदालत धनगढी उपस्थित गराउने तयारी छ। त्यहाँ पनि उनीविरुद्ध अर्को मुद्दा छ।

कैलालीपछि उनलाई दाङ लगिने प्रहरी स्रोतले बतायो। शर्माविरुद्ध विभिन्न १९ वटा जिल्लामा मुद्दा चलेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार सहकारी सञ्चालनका नाममा उनले बचतकर्ताको रकम अपचलन गरेको खुलेको छ।

विराटनगरमा प्रधान कार्यालय रहेको तुलसी सहकारी भने २०७९ फागुन १ गतेदेखि बन्द छ। सहकारी ठगी मुद्दाका अन्य प्रतिवादीहरू तुलसी सहकारीकी उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई २०७९ चैत २४ गते पुर्पक्षका लागि थुनामा राख्न मोरङ अदालतले आदेश दिएको थियो।

सचिव न्यौपाने सहकारीका अध्यक्ष शर्माकी पूर्वपत्नी हुन्। सहकारीमा संकट आएपछि उनीहरूबीच सम्बन्ध विच्छेद भएको पाइएको छ। २०५२ सालमा दर्ता भएको तुलसी सहकारी सञ्चालनको जिम्मा शर्माले २०७२ सालदेखि लिएका थिए। विराटनगरमा केन्द्रीय कार्यालय रहेको सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजारमा शाखा कार्यालय छन्।

मुख्य कार्यालय विराटनगरसहित तीनवटै शाखा कार्यालयमा गरेर सहकारीका २१ हजार १ सय ५४ बचतकर्ता थिए। सहकारीको केन्द्रीय कार्यालय विराटनगरमा १० हजार १ सय ७८, दमक शाखामा ६ हजार ९ सय ६८, गाईघाटमा ३ हजार ३ सय ३४ र गोलबजार शाखामा ६ सय ७४ वटा निक्षेप खाता थिए।

बचतकर्ताको करिब डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप शर्मामाथि छ। सर्वसाधारणले जम्मा गरेको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ अपचलन गरेर उनी फरार भएको प्रहरीको अनुसन्धानले देखाएको छ। शर्मालाई यसअघि गत असारमा प्रहरीले भारतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो।

सहकारीले विराटनगर कार्यालयबाट ६० करोड ४१ लाख ८ हजार, दमक शाखाबाट ६० करोड ७२ लाख ९३ हजार, गाईघाट शाखाबाट २३ करोड ६६ लाख ९६ हजार र गोलबजार शाखाबाट ९४ लाख ४६ हजार रुपैयाँ बचत संकलन गरेको थियो। प्रहरीको अनुसन्धानबाट सहकारी संस्थामा सर्वसाधारणले बचत गरेको रकम अध्यक्ष शर्माले अनधिकृत हिसाबले आफ्नो कम्पनीमा ऋण प्रवाह गरेको पत्ता लागेको छ।

सहकारीले ४१ करोड ६३ लाख ९५ हजार ३ सय ७८ रुपैयाँ अध्यक्ष शर्माको ६ वटा कम्पनीलाई ऋण प्रवाह गरेको देखिन्छ। सहकारीको कूल पुँजी एक अर्ब ६५ करोड ६५ लाख ९३ हजार २ सय ९१ रुपैयाँ छ। जसमध्ये एक अर्ब ४८ करोड ६८ लाख ५० हजार ७ सय ५१ रुपैयाँ ऋण लगानी गरेको देखाइएको छ। १६ करोड ९७ लाख ४२ हजार ५ सय ४० रुपैयाँ खर्चको हिसाब पत्ता लाग्न सकेको छैन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)