Aamsanchar

१० दिन भित्र कानुनी दायरामा नआउने औषधि पसल बन्द गर्ने बालेनको चेतावनी

Author Image
बुधवार, मंसिर २०, २०८०

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले मापदण्डविपरीत अनधिकृतरूपमा सञ्चालन भइरहेका फार्मेसी बन्द गराउने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमा लेखेर साहले अनधिकृतरूपमा सञ्चालन भइरहेका फार्मेसीलाई मापदण्डमा आउन मंसिर २९ गतेसम्मको समय दिएका छन्।

महानगरपालिकावासीको स्वास्थ्यका लागि आफूहरू निकै संवेदनशील रहेको भन्दै उनले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सुधारात्मक कार्य गर्दै आइरहेको बताएका छन्। तर आम मानिसको जनस्वास्थ्यमा लापरबाही भइरहेको अनुगमनका क्रममा पाएको उनले जनाएका छन्।

‘काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधी पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधी बिक्री वितरण भइरहेको, औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधी समेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सन बिना औषधी बिक्री वितरण भइरहेको गुनासो आइरहेको छ’, उनले लेखेका छन्, ‘यही महिनाको २९ गतेभित्र औषधी पसलहरूले सुधारात्मक कार्य गरेको नपाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (क) ९ तथा काठमाडौं महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन भई काठमाडौं महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार औषधी पसल बन्द गर्नेसम्मको कारबाही गरिने ब्यहोरा सम्बन्धित सबैको जानकारी गराउन चाहन्छौँ।’

साहले मानव स्वास्थ्यमाथि खेलबाड भइरहेकी थाहा पाए महानगरपालिकाको स्वास्थ्य विभागमा उजुरी गर्न वा महानगरपालिकाको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र को निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्क गर्नसमेत सर्वसाधारणलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर