Aamsanchar

एमालेले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने

Author Image
मङ्गलवार, पौष ३, २०८०

विराटनगर – नेकपा एमालेले मध्यपहाडी राजमार्ग केन्द्रित अभियानपछि अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने जनाएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

नेकपा एमाले मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘मध्यपहाडी यात्रा अभूतपूर्व रुपमा सफल भयो, यसबाट हामी उत्साहित छौं । अब पार्टीले हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने निर्णय गर्छ ।’ तर हुलाकी राजमार्ग केन्द्रित यात्रा सुरु हुने मिति भने उनले बताएनन् ।

नेकपा एमालेले गत मंसिर १४ गतेदेखि पुस ३ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी राजमार्ग केन्द्रित अभियान चलाएको थियो । एमालेले पुस ५ गते काठमाडौंमा बैठक बसेर उक्त अभियानको समीक्षा गर्दै छ ।

एमाले महासचिव पोखरेलले झुलाघाट–चिवाभञ्ज्याङ यात्रा सफल भएको बताए । यात्राका क्रममा नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति अभूतपूर्व क्रेज देखिएको जिकीर गर्दै उनले भने, ‘यात्राको जति चर्चा भयो, त्यसभन्दा धेरै प्रभाव देखिएको छ ।’

जनतामा पहिचानको मुद्दाको खासै प्रभाव देखिएन – पोखरेल

मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रालाई पहिचानको नाममा अवरोध गर्ने प्रयास भए पनि जनतामा पहिचानको मुद्दाको खासै प्रभाव नदेखिएको पोखरेलले बताए ।

कोशी प्रदेश नामप्रति एमाले प्रतिबद्ध रहेको भन्दै उनले जनतामा गइसकेको एजेन्डा एमालेले नछाड्ने बताए । महासचिव पोखरेलले पहिचानको मुद्दा उठाउनेलाई व्यवस्थित रुपमा आफ्ना मुद्दालाई जनतामा लैजान आग्रह गरे । पहिचानको मुद्दा समाधान गर्ने एमाले नै भएको बताउँदै उनले जनताबाट अस्विकृत भएको एजेन्डा नबोक्न पनि आग्रह गरे ।

पहिचान पक्षधरले एमालेले यात्राका क्रममा स्वागत गरेर आफ्ना एजेन्डा राख्नुको साटो विरोध गरेर जनतासँगको दुरी बढाएको उनको भनाइ छ ।

पहिचान पक्षधरले एमालेको अभियानलाई अवरोध गर्न खोज्दा गोपाल किराँतलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)