Aamsanchar

आम जनता पार्टीका कार्यकर्तामाथि प्रहरीकाे लाठीचार्ज

Author Image
बिहिवार, पौष ५, २०८०

काठमाडौँ –भन्सार विभाग घेराउ गर्न पुगेका आम जनता पार्टी (आजपा)को आम सम्पर्क मञ्चसम्बद्ध नेता कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ । भन्सार विभागको मूल गेटसम्म समेत पुग्न नदिई प्रहरीले अवरोध गरेपछि दुई पक्षीय झडपको अवस्था बनेको हो । सो क्रममा सुरुमा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल भएको थियो भने पछि लाठीचार्ज भएको हो ।
आजपा आम सम्पर्क मञ्चको भन्सार कानुन सुधार संघर्ष समितिकी संयोजक रञ्जु कुमारी साहले प्रहरीले लाठीचार्ज गर्दा दुई जना सामान्य घाइते भएको जानकारी दिइन् । घाइतेहरूको हात र खुट्टामा सामान्य चोट रहेको छ ।

आजपाको झन्डासहित प्रदर्शनमा पुगेकाहरूले प्रहरी दमन भएको भन्दै चर्को नाराबाजी गरेका थिए ।

भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था गलत रहेकाले त्यसको खारेजीका लागि आफूहरूले आन्दोलन गर्दै आएको अध्यक्ष प्रभु साहको भनाइ छ । यो व्यवस्थाको विरोधमा गत चार महिनाअघिदेखि नै आजपाले चरणबद्ध आन्दोलन गर्दै आएपनि मागबारे सुनुवाइ हुन नसकेको उनको भनाइ छ ।

यसैबिच भन्सार विभागका निर्देशक पुण्य विक्रम खड्काले आजपाको मागबारे अर्थ मन्त्रालयलाई आवश्यक अवगत गराएका छन् । यो विषय अर्थसँग सम्बन्धित रहेकाले जानकारी पठाइएको खड्काको भनाइ छ ।

विभागले अर्थ मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा भन्सार नियमावली, २०६४ को परिच्छेद १० मा रोहेको पुरस्कार सम्बन्धी सम्पूर्ण प्रावधान हटाउने लगायतका विभिन्न माग राख्दै आम सम्पर्क मञ्च, राजस्व सुधार संघर्ष समितिले मिति २०८०।०९।०३ मा यस विभागको महानिर्देशक समक्ष ज्ञापनपत्र प्रस्तुत गरेको छ । उक्त संघर्ष समितिको तर्फवाट मिति २०८०।०९।०१ गते देखि यन्त्र विभागको मूलद्वारा धर्ना दिँदै आएको ब्यहोरा अवगत गराउँदै पेस हुन आएको ज्ञापनपत्र भन्सार नियमावलीमा रहेको विषयसँग सम्बन्धित रहेकोले यसैसाथ संलग्न गरी आवश्यक कार्यार्थ पठाइएको ब्यहोरा आदेशअनुसार अनुरोध छ ।’

यसैबिच आजपा र आमसम्पर्क मञ्चले सरकारले तुरुन्त सकारात्मक कदम नचाले अब भन्सार विभागमा तल्चा लगाउने घोषणा गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर