Aamsanchar

श्री गणशाय नमः । आजको राशिफल । ११ पुष २०८०, बुधवार

Author Image
बुधवार, पौष ११, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
नयाँ प्रविधिको प्रयोगले ज्ञान र क्षमतामा बृद्धि हुनेछ, अझ कलात्मक विषयमा रुचि छ भने वरिष्ठ कर्मचारीलाई समेत प्रभावित तुल्याउन सकिने छ । एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्छ, एकअर्काका त्रुटिप्रति सचेत हुने र माफ गरी अघि बढेमा सम्बन्ध मजबुत हुनेछ । नयाँ मित्रको सङ्गतले ज्ञान बढाउने समय हो । सामाजिक सम्बन्ध सुदृढ बनाउने समय छ, दानपुण्य र परोपकारमा मन जानसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
नयाँ परियोजना वा काम थाल्न अनुकूल समय छ, सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् । मानसिक सबलता र आन्तरिक क्षमतामा बृद्धि हुनाले घरपरिवारमा प्रभुत्व जमाउन सकिने छ, तर कुनैकुनै कुराले तपाईंलाई एक्लो र खिन्न बनाउन सक्छ । बोलीमा विशेष बल छ, मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल भइने छ । सानो प्रयासले भाग्य र भविष्य सपार्न सकिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
निर्णयात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नुहोस्, सफलता मिल्नेछ । विपरीत परिस्थिति भए पनि कामलाई कुशलतापूर्वक झेल्नसक्ने सामर्थ्यको विकास गर्न सकिने छ । पेसागत उन्नतिका लागि गरेको प्रयास सार्थक बन्नेछ । पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफ्ना भावना र महत्त्वाकाङ्क्षाहरू उपर नियन्त्रण गर्नुपर्ने समय हो, लटरी, सट्टापट्टा वा अन्य कुनै आकस्मिक स्रोतबाट धेरथोर धन लाभ हुनसक्छ । लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला, व्यवसाय तर्फ मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुन्छ । व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा पनि सावधानी र सतर्कता अपनाउने समय हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो । घरमा अभिभावकवर्ग तथा कार्यक्षेत्रमा सिनियर्सका तुलनामा जुनियर्स वा भाइबहिनीको सहायता पाउन सकिने दिन हो । अझ राजनीति वा समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । रोकिएको काम बन्ने र पदीय दायित्वमा बृद्धि हुने दिन छ, खोजी गर्दा आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
सङ्घर्ष नै जीवनको अर्को नाम हो भन्ने ठानी अघि बढ्दा महत्त्वाकाङ्क्षा पूरा गर्नुका साथै करियरमा परिवर्तन ल्याउन सक्नुहुन्छ । प्रयास गर्दा सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पुरस्कार प्राप्त गर्ने ग्रहयोग बनेको छ, त्यसैले आलस्य त्यागेर मिहिनेत गरेमा राम्रो उपलब्धि हासिल हुने दिन हो, प्रतिस्पर्द्धीसमेत सहयोग माग्दै तपाईंसामु आउनसक्छन् । भेटघाटको समयमा व्यक्तिगत उन्नति÷प्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु होला, नत्र सम्बन्धमा खाडल सिर्जना हुने तथा तनाव बढ्ने समय हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
धार्मिक÷सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो । मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
हाकिमको कचकच बढ्नेछ, अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने बाध्यता हुनेछ, तापनि प्रयत्न गर्दा लाभमूलक क्षेत्रको पहिचान गर्न सकिने छ । परिवार र साथीहरूप्रतिको तपाईंको भावनाले चिन्ता बढाउन सक्छ, त्यस्तै स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलोसमेत हुनसक्छ । गरेका प्रत्येक काममा असफलता वा बाधा व्यहोर्ने दिन हो, त्यस्तै आज मनमा टुसाएको भ्रमले भयङ्कर मनोविकृतिलाई निम्त्याउन सक्छ, होस राख्नुपर्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
मस्ती गर्ने समय हो, पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुन्छ । पटकपटक प्रयास गरे पनि सहयोगी र मित्रवर्गसँग सम्बन्धमा धमिलोपना आउने छ, सहयोग आदान÷प्रदान र व्यवहार धान्नसमेत मुस्किल पर्नसक्छ । भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो, नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस्, फाइदा हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, त्यसैले परिश्रम र आरामको सन्तुलनमा ध्यान दिई पठनपाठनमा जुट्नुपर्छ, बहस वा तर्कवितर्कमा विजयी भइने छ । प्रतिष्ठा प्राप्त गर्न प्रतिस्पर्द्धा गर्ने दिन हो । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति पनि बन्नेछ, कुनैकुनै विषयमा बेकारको तर्क वा बहस हुनसक्ने दिन हो, त्यसैले मुखमा लगाम लगाएकै जाती हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
टाढा रहेका छोराछोरीमार्फत राम्रो समाचार आउने तथा सुख÷सन्तोष मिल्ने राम्रो दिन छ । आफूले चिताएका हाँके÷ताकेका काम पनि सम्पन्न हुने समय हो । पढाइप्रति दिलचस्पी जाग्नेछ, रचनात्मक समय हो, विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ । अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । उद्यमी र लगनशील व्यक्तिले अझ धेरै फाइदा बटुल्नेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । गरेका प्रयासमा असफल हुन सकिन्छ । दबाब र मानसिक तनाव बढ्ने दिन हो । हाकिम वा उच्चपदस्थ अधिकृतसँगको सम्बन्ध कमजोर बन्नसक्छ । व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर