Aamsanchar

बिर्तामोड नगरको बाख्रा पालन कार्यक्रम सफल बन्दै

Author Image
शुक्रवार, पौष २०, २०८०

बिर्तामोड । झापाको बिर्तामोड–८ किसानभिट्टामा बसोवास गर्दै आएका १२ जना महिलाहरू आजभोली धेरै खुुसी देखिने गरेका छन् ।
हिजोको दिनमा सीमित आयश्रोतको भरमा जीवन यापन गर्न बाध्य रहेका ति महिलाहरू अहिले भने बाख्रा पालन व्यवसायीमा लागेपछि दश बिस हजार सरसापट आदानप्रदान गर्न सक्ने आर्थिक हैसियतमा पुगे पछि महिलाहरू उत्साहित बने सँगै खुसी बनेका हुन् ।

बिर्तामोड नगरपालिकाले विपन्न वर्गलाई आर्थिक रुपमा माथि उठाउन महिलाहरूलाई जिविकोपार्जन गर्न सहयोग पुर्याउने उद्देश्यले २०७४ सालमा सुरु गरेको मेयर पकेट कार्यक्रम अन्तरगत महिलाहरूलाई नगरपालिकाले पैँचो रुपमा तीन÷तीन वटा बाख्रा उपलब्ध गराएको थियो ।

नगरपालिकाले सर्तसहित उपलब्ध गराएको बाख्राबाट वृद्धि भएको तीनवटा पाठापाठी नगरपालिकालाई कृषक महिलाहरूले फिर्ता गरिसकेका छन् ।
नगरपालिकाले महिला कृषकहरुबाट फिर्ता पाएको पाठापाठीहरु अरु क्षेत्रका महिलाहरूलाई वितरण गर्दै आएको छ । मेयर पकेट कार्यक्रम यतिबेला ग्रामीण महिलाहरूलाई आर्थिक रुपमा आत्मनिर्भर बन्न सक्ने कार्यक्रम सावित भएको छ ।

व्यवसायिक रुपमा बाख्रा पालन सुरु गरेका महिलाहरू यसै पेशाबाट वार्षिक लाखौं आम्दानी लिन सक्ने भएका छन् । समुहमा आवद्ध रहेका किसानभिट्टाका महिलाहरू र उनीहरूको परिवारमा राम्रो खान, राम्रो लगाउन अनि बालबालिकाहरूलाई समयसापेक्षको उचित शिक्षा दिक्षा दिलाउन सक्षम बन्दै गएका छन् ।

किसानभिट्टामा मेयर पकेट कार्यक्रम अन्तरगत १५ जना महिलाहरूलाई ४५ वटा बाख्रा वितरण गरिएको थियो । हाल १५ जना महिलाले गरेको मेहनतका कारण सयौँ खसी बाख्राहरू उत्पादन भई सकेको छ । स्थानीय कल्पना सिटौलाको भनाई अनुसार समूहमा आवद्ध बाख्रा पालन किसनले मात्र ३ सय भन्दा धेरै खसी बाख्रा बनाउन सफल बनेका छन् । हाल क्रमश बेच्न तयार भएका पाठापाठी र खसी बोकाहरु बिक्री पनि गर्दै आएकी छन् । बाख्रा पालन व्यवसायमा रमाउँदै आएकी कल्पना यतिवेला व्यवसायबाट धेरै उत्साहित बनेकी छन् ।

त्यस्तै किसानभिट्टाका अरु महिलाहरूको पनि वर्तमान अवस्था कल्पनाको जस्तै छ । १५ जनाको समूह बनाएर बाख्रा पालनको बारेमा तालीम लिने र चिन्तन मनन गर्दै एक आपसमा मिलेर बाख्रा पालन व्यवसाय गर्ने गरेका छन् त्यहाँ महिलाहरूले ।

बिर्तामोड नगरपालिकाले हालसम्म मेयर पटेक कार्यक्रम अतरगत ५ सय ४० वटा पाठा वितरण गरिसकेको छ । नगरका विभिन्न वडा गरेर १२ वटा समूह मेयर पकेट कार्यक्रममा आवद्ध रहेको छन् ।
२०७९/०८० वाट नगरपालिकाले बाख्रा पालन किसानहरूको लागि बाख्रा प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्न सुरु गरेको छ । यस आर्थिक वर्षमा १० लाख ७५ हजार बजेट बाख्रा प्रर्वद्धन कार्यक्रमको लागि छुट्याएको बिर्तामोड नगर पशु सेवा शाखा प्रमुख साबित्रा दाहाल बताइन ।
दाहालले दिएको जनाकारी अनुसार बाख्रा प्रर्वद्धन कार्यक्रम भने ३ ठाउँमा सुरु भएको छ । बाख्रा प्रर्वद्धन कार्यक्रमबाट किसानहरूले बाख्रा खोर व्यवस्थापन, बाख्राको स्वास्थ्य उपचार, दाना बनाउने मेसिनरी सुविधा पाएका छन् ।

२०७४/०७५ साल देखि अति विपन्न वर्गलाई अक्षित गरेर समूहगत पैँचोको रुपमा पाठा पाठी वितरण गर्दा नगरपालिकाले सस्तो लोकप्रियताको लागि सो काम गरेको भनेर आलोचना भएको थियो । तर त्यो बेलाको आलोचित कार्यक्रम अहिले भने नमुना र उदाहरणीय सावित भएको छ ।

कृषि क्षेत्रमा काम गर्नेहरूलाई उत्पादन क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले कार्यक्रम गरेको हो । सामान्य घरको काम गरेर बचेको समयलाई सदुपयोग गरेर बाख्रा पालन व्यवसाय गर्न सकिने भएकाले बाख्रा पालन व्यवसाय कृषकहरूको अतिरिक्त आयश्रोतको माध्ययम बनेको छ ।

नगरपालिकाले पशुपालनमा आधारित सबै क्षेत्रहरूमा कार्यक्रमहरू बनाएको छ । दुग्ध उत्पादनमा पनि नगरले जोड दिएको छ ।
दूध र माछा मासु उत्पादनमा बिर्तामोड नगरपालिका आत्मनिर्भर बन्न तर्फ उन्मुख भएको छ । यस किसिमको कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तर दिदै अझ प्रभावकारी कार्यक्रमहरू अघि बढाइने नगर प्रमुख पवित्रा महतरा प्रसाईँले आमसंचारलाई बताइन ।

बिर्तामोड एक व्यवसायिक केन्द्रको रुपमा स्थापित नगरमा पर्दछ । बिर्तामोडमा सयौँ साना ठूला उद्योगहरू सञ्चालनमा रहेको छन् । बिर्तामोडलाई केन्द्र बनाएर व्यापार व्यवसाय गर्न र शिक्षा आर्जन गर्न लगायत कार्यकाका लागि नगर भन्दा बाहिरका मानिसहरूको अस्थाई बसोबास गर्नेको संख्या बिर्तामोडमा धेरै रहेको छ । यस कारण पनि बिर्तामोडमा कृषि उपज बस्तुको माग उच्च रहेको छ ।
विगतका वर्षहरमा बिर्तामोडको बजारलाई भारतीय कृषि उत्पादनले ओल्टदै आएको थियो भने पछिल्ला बर्ष यता नगरको नीति र कार्यक्रमका कारण स्थानीय कृषि उत्पादनले कृषिजन्य वस्तु उत्पादन सँगै बजार पनि ओगट्न थालेको छ ।

स्थानीय सरकारले विपन्न वर्गका नागरिकको हितका लागि अझै नीति तथा कार्यक्रम ल्याउन जरुरी रहेको छ । तथापि पनि बिर्तामोड नगरले कृषि र पशुपालनको क्षेत्रमा गर्दै आएको काम तारिफ योग्य नै रहेको छ ।

भिडियो रिर्पोट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर