Aamsanchar

बाँतर समुदायद्वारा मेची-महाकाली अभियान संचालन

Author Image
मङ्गलवार, माघ २, २०८०

विराटनगर – तराई मधेशमा बसोवास गर्दै आएको अल्पसंख्यक दलित बाँतर सरदार समुदायले मेची-महाकाली अभियान सञ्चालन गरेको छ । माघे संक्रान्तिको अवसर पारेर झापाको मेची नगरपालिका -७ स्थित आफ्ना कूल देवता गेड् बावाको पूजा गरी मेची- महाकाली अभियान सञ्चालन गरेको हो।

परम्परागत रुपमा पटेरको गुन्द्री र डोरी बनाउँदै कृर्षि पेशा आत्मसाथ गर्दै आएका सरदार बाँतर समुदायका अगुवाहरुले सरदार बाँतर संघर्ष समिति गठन गरेर अभियान सञ्चालन गरेको हो । मुलुकभर छरिएर बसेका सरदार बाँतर समुदायका युवा पुस्ता आफ्नो धर्म संस्कार र पहिचानको जर्गेना गर्न शिक्षाको मुलधारमा ल्याउनुपर्ने र राज्यको हरेक निकायमा प्रवेश सहज गराउन अभियान सञ्चालन गरेको संघर्ष समितिका अध्यक्ष राम कुमार सरदारले जानकारी दिए । उनले भने,´युवा पुस्तालाई आफ्ना संस्कृतिको जर्गेना गराउन अभियानले मद्दत पुग्ने छ ।`

अल्पसंख्यक दलित बाँतर समुदायलाई शिक्षाको मुलधारमा ल्याउने कामको सुरवात भएको महासचिव किशोर कुमार सरदारले बताए । उनले भने,`समुदायको संस्कृति तब मात्र दिगो रहन सक्छ,जब त्यो समुदाय शिक्षा, स्वास्थ्य र आर्थिक रूपमा पनि सबल हुन्छ । `

 

उनले बाँतर संस्कृतिलाई समृद्ध बनाउन बाँतर लिपि,नाचगान,बाजा,खानपान आदिलाई अब पर्यटन व्यवसायसँग जोड्नुपर्ने आवश्यक रहेको बताए । सरदार बाँतर संघर्ष समिति नेपालले स्थापनाकालदेखि नै समाजमा आपसी भाइचारा भावनाको विकास गर्दै बाँतर संस्कृतिको जगेर्ना र संरक्षण गर्न बाँतर जनसमुदायलाई एकतावद्ध गर्दै राजनीतिक, शिक्षा, स्वास्थ्य,आर्थिक र सामाजिक रुपमा सशक्तिकरण गर्दे आएको छ ।

बाँतर सरदार समुदायलले आ–आफ्नो गाउँ टोलमा समूहसमूह कूलदेवताको पूजापाठ गरी विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरी देशैभरी माघेसंक्रान्ति पर्व धुमधामका साथ मनाएका छन् । बाँतर सारदार समुदायहरुले आफ्नो धर्म संस्कृति संरक्षण गर्ने उद्देश्यले तिल, च्यूरा, भूजाको लड्डु, पानफूल, सूपाडी, तुलसीको पात,लगायत सामग्रीले सामूहिक पूजापाठ गरी कुलदेवतालाई बली दिएर माघेसंक्रान्ति पर्व धुमधामका साथ मनाएका छन् ।

माघेसंक्रान्तिका दिन बाँतर सरदार समुदायहरुले आफ्नो कुल देवतालाई पूजा–आजा गरी सरदार ९मुखिया० को घरमा गई गाउँका पैरजनहरु मिलेर गेंड सिंहलाई सामुहिक पूजा–आजागरी माघेसंक्रान्ति पर्व मनाउने परम्परा रहेको छ । सदियौंदेखि बाँतर जातिका मानिसहरुले हिन्दु रितिरिवाज अनुसार माघ १ गते माघेसंक्रान्तिका दिन सरदार (मुखिया)को घरमा सामूहिक पूजा गर्ने चलन रहेको बाँतर जातिका अगुवा सुनिता सरदारले बताइन् ।

कोशी प्रदेशको मोरङ्ग, सुनसरी र झापासहित मधेश प्रदेशको सप्तरी सिरह र धनुषामा उल्लेख्नीय संख्यामा रहेका सो समुदाय मेचीदेखि महाकालीसम्म फैलिएर बसोबास गर्दै आएका छन् । उनीहरूले जनसख्याको अधारमा राज्यको हरेक निकायमा विशेष आरक्षणसहित पहुँचको नीति बनाउन राज्यलाई दबाब समेत दिने बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)