
सुकेपोखरी क्षेत्र ।

बिर्तामोड । इलाम-पाँचथर सिमा क्षेत्र पाटेनागी–लुहाकिल र सुकेपोखरी क्षेत्रमा हिमपात भएपछि आन्तरिक पर्यटकहरूको चलहपहल बढेको छ ।
गत माघ २ गते बिहान देखि बेलुकाका सम्म निरन्तर हिमपात हुँदा सो क्षेत्र सेताम्मे बनेको छ । गत वर्ष जाडोको मौसममा पटक पटक हिमपात हुने यस क्षेत्रमा यस वर्ष भने पहिलो पटक हिमपात भएको इलाम नगरपालिका ३ का वडाध्यक्ष हेमन सुनुवारले जानकारी दिए ।
मेची राजमार्ग देखि छोटो दूरीमा पर्ने यस स्थानमा यतिबेला विभिन्न स्थानबाट हिउँ खेल्न, रमाउन जानेको संख्या बढ्दै गएको छ । हिमपातले रमणीय बनेको सो क्षेत्रमा पर्यटक मात्र होइन स्थानियहरु पनि खुसी बनेका छन् ।

हिमपात भएपनि पर्यटकहरूको आगमन बढ्दा सुकेपोखरीका कटेज र होमस्टेहरू पर्यटकले भरिभराउ हुन थालेका छन् ।
समुद्री सतहबाट २ हजार ८ सय देखि ३ हजार मिटर उचाइ मै हिमपात भएको छ । हिमपात भएपछि खेतीपाती बालीनाली फस्टाउने भएकाले स्थानीहरू पनि खुसी बनेका छन् । विगतका वर्षमा पुष महिनामै हिमपात हुने गरेको थियो भने यस वर्ष माघ लागेपछि मात्र हिमपात भएको छ ।



कहाँबाट पुग्न सकिन्छ पाटेनागी–लुहाकिल ?
पाटेनागी–लुहाकिल कुनै दुर्घम क्षेत्र भने होइन । झापाको बिर्तामोडबाट मोटरसाइकल वा सानो गाडी मार्फत करिव ४ घण्टाको यात्रा गर्दा पाटेनागी पुग्न सकिन्छ । त्यसका लागि महेन्द्र राजमार्गको चारआली देखि उत्तर मेची राजमार्ग मा पर्ने, कन्याम, फिक्कल, इलाम, नेपालटार रक्से बजार कटेपछि बागखोर भन्ने ठाउँ आउँछ । बाघखोरबाट सय मिटर अगाडि बढेपछि दायाँ तर्फ एउटा कच्ची बाटो भेटिन्छ, सोही बाटो भएर पूर्व उत्तर दिशा हुँदै ७ किलो मिटरको दूरी पारगर्दा पाटेनागी पुग्न सकिन्छ ।
त्यसैगरी मेची राजमार्गमै पर्ने पाँचथरको राँके बजार हुँदै रमणीय स्थल पौवाभञ्ज्याङ पुगिन्छ । पौवाबाट पूर्व तर्फको बाटो हुँदै जाने हो भने करिव ४ किलो मिटर दूरीमा पर्दछ सुकेपोखरी । सुके पोखरीबाट करिव ३० मिनेटको पैदल यात्रा गर्दा लुहाकिल–पाटेनागी पुग्न सकिन्छ ।



