Aamsanchar

मेची राजमार्ग नजिकै पाटेनागी–लुहाकिलमा हिमपात, हिउँमा रमाउन पर्यटक पुग्न थाले 

Author Image
बिहिवार, माघ ४, २०८०

सुकेपोखरी क्षेत्र ।

बिर्तामोड । इलाम-पाँचथर सिमा क्षेत्र पाटेनागी–लुहाकिल र सुकेपोखरी क्षेत्रमा हिमपात भएपछि आन्तरिक पर्यटकहरूको चलहपहल बढेको छ ।

गत माघ २ गते बिहान देखि बेलुकाका सम्म निरन्तर हिमपात हुँदा सो क्षेत्र सेताम्मे बनेको छ । गत वर्ष जाडोको मौसममा पटक पटक हिमपात हुने यस क्षेत्रमा यस वर्ष भने पहिलो पटक हिमपात भएको इलाम नगरपालिका ३ का वडाध्यक्ष हेमन सुनुवारले जानकारी दिए ।

मेची राजमार्ग देखि छोटो दूरीमा पर्ने यस स्थानमा यतिबेला विभिन्न स्थानबाट हिउँ खेल्न, रमाउन जानेको संख्या बढ्दै गएको छ । हिमपातले रमणीय बनेको सो क्षेत्रमा पर्यटक मात्र होइन स्थानियहरु पनि खुसी बनेका छन् ।

हिमपात भएपनि पर्यटकहरूको आगमन बढ्दा सुकेपोखरीका कटेज र होमस्टेहरू पर्यटकले भरिभराउ हुन थालेका छन् ।

समुद्री सतहबाट २ हजार ८ सय देखि ३ हजार मिटर उचाइ मै हिमपात भएको छ । हिमपात भएपछि खेतीपाती बालीनाली फस्टाउने भएकाले स्थानीहरू पनि खुसी बनेका छन् । विगतका वर्षमा पुष महिनामै हिमपात हुने गरेको थियो भने यस वर्ष माघ लागेपछि मात्र हिमपात भएको छ ।

हिउँका कारण डाँडाहरु र रूख बिरुवाहरू पनि सेताम्मे बनेको छ । अरुबेला पनि हिमाली क्षेत्र जस्तै लाग्ने सो क्षेत्र अहिले भने हिमाली क्षेत्र झै देखिएको छ । दुई दिन अघि भएको हिमपातले बाटोहरू अवरुद्ध भएको थियो । क्रमश हिउँ पग्लँदै गएपछि अहिले बाटो हिउँ रहित भएको छ । बाटोमा हिउँ विलाई सकेकोले पर्यटकहरूले सावरी साधनहरू सहजै पुराउन थालेका छन् । बाटोको हिउँ पग्लिए पनि अन्य ठाउँको हिउँ अझै केही दिन पग्लिने सम्भावना कम छ । त्यहाँको मौसम अनुसार फेरी हिमपात हुने सम्भावना रहेको स्थानीय सुरेश राईले जानकारी दिए ।


कहाँबाट पुग्न सकिन्छ पाटेनागी–लुहाकिल ?
पाटेनागी–लुहाकिल कुनै दुर्घम क्षेत्र भने होइन । झापाको बिर्तामोडबाट मोटरसाइकल वा सानो गाडी मार्फत करिव ४ घण्टाको यात्रा गर्दा पाटेनागी पुग्न सकिन्छ । त्यसका लागि महेन्द्र राजमार्गको चारआली देखि उत्तर मेची राजमार्ग मा पर्ने, कन्याम, फिक्कल, इलाम, नेपालटार रक्से बजार कटेपछि बागखोर भन्ने ठाउँ आउँछ । बाघखोरबाट सय मिटर अगाडि बढेपछि दायाँ तर्फ एउटा कच्ची बाटो भेटिन्छ, सोही बाटो भएर पूर्व उत्तर दिशा हुँदै ७ किलो मिटरको दूरी पारगर्दा पाटेनागी पुग्न सकिन्छ ।

त्यसैगरी मेची राजमार्गमै पर्ने पाँचथरको राँके बजार हुँदै रमणीय स्थल पौवाभञ्ज्याङ पुगिन्छ । पौवाबाट पूर्व तर्फको बाटो हुँदै जाने हो भने करिव ४ किलो मिटर दूरीमा पर्दछ सुकेपोखरी  ।  सुके पोखरीबाट करिव ३० मिनेटको पैदल यात्रा गर्दा लुहाकिल–पाटेनागी पुग्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर