Aamsanchar

पत्रकारलाई पार्टी पत्रकारिता त्यागेर मानवीय संवेदनशीलताका विषयमा लेख्न सुझाव

Author Image
शुक्रवार, माघ ५, २०८०

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको आयोजनामा शुक्रवार बिर्तामोडमा ‘पत्रकारिताका परिवर्तित क्षेत्रहरु’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र पूर्वअध्यक्ष तारा बरालको प्रमुख आतिथ्यमा भएको अन्तरक्रियाको सहजीकरण वरिष्ठ पत्रकार नेपाल प्रेस इन्स्टीच्यूटका अध्यक्ष तीर्थ कोइराला र द्वन्द्व विश्लेषक तथा प्रकृति अधिकार अभियन्ता श्रवण शर्माले गरेका थिए । नेपाली पत्रकारिता राजनीतिक विषयमा मात्र सीमित रहेकाले मानव जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको जलवायु परिवर्तन र त्यसका असरहरु अबको पत्रकारिताका क्षेत्र हुनुपर्नेमा सहजकर्ताहरुले जोड दिएका थिए । मिडियाले मानवीय संवेदनशीलताका विषय उठाउनुपर्ने उनीहरुले सुझाए ।

वरिष्ठ पत्रकार कोइरालाले अहिले पुँजी र प्रविधिले पत्रकारलाई किचेको, कपीपेष्ट पत्रकारिता मात्र मौलाएको भन्दै पत्रकार अल्छी हुनु नहुनेमा जोड दिए । उनले राजनीतिक आग्रह पूर्वाग्रहबाट माथि उठेर समुदाय र राष्ट्रका लागि पत्रकारिता गर्न पत्रकारहरुलाई सुझाए । सीडीईआर युएसएका नेपाल प्रतिनिधि समेत रहेका अर्का सहजकर्ता शर्माले मानव अस्तित्वसँग जोडिएका सवालहरुमा पत्रकारको ध्यान जानुपर्ने बताए । आदर्श राजनीति र मानव जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको जलवायु परिवर्तनका विषय पत्रकारिताले उजागर गर्नुपर्ने उनले बताए । मानव स्वास्थ्य, कृषि, उपभोग्य वस्तुको गुणस्तर लगायत मानव अस्तित्वको सवाललाई मिडियाले ‘इग्नोर’ गरिरहेको, पत्रकारहरु विज्ञान र विषयगत ज्ञानको अभावमा तथ्य र तथ्यांकको नजिक पुग्न नसकेको बताए ।

कोइराला र शर्माले ०४६ सालदेखि आजसम्म पनि पत्रकारिताका विषय उस्तै रहेको भन्दै अब परम्परागत शैली छोडेर परिवर्तनका एजेन्डामा कलम चलाउनुपर्ने बताए । प्रमुख अतिथि महासंघका पूर्वअध्यक्ष बरालले पत्रकारितामा राजनीतिकरण अति भएको भन्दै सबै पत्रकारलाई पार्टी पत्रकारिता त्याग्न सुझाए । पार्टी पत्रकारिताबाट कहीं नपुगिने भन्दै बरालले पत्रकार आचारसंहिताको पालना गर्दै मानवीय मूल्य मान्यता, समुदाय र राष्ट्रहितलाई प्राथमिकतामा राखेर जिम्मेवार पत्रकारिता गर्नुपर्नेमा जोड दिए । अन्तरक्रियामा महासंघ झापाका पूर्वअध्यक्ष केशव आचार्य, गोविन्दचन्द क्षेत्री लगायतले व्यवसायिक र मर्यादित पत्रकारितामा जोड दिए । पत्रकारहरु दिपीन राई, गणेशमान मुखिया, लीलाराज झापाली, ज्ञानेन्द्र निरौला, बिनोद पाण्डे, स्वस्तिका आचार्य, पर्वत पोर्तेल, प्रदीप परियार र विटू केसीले सहजकर्ताहरुलाई पत्रकारिताका विषयमा विभिन्न जिज्ञासा राखेका थिए । महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले स्वागत र सचिव डिकेश लामाले सञ्चालन गरेको कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरु चिन्तामणि दाहाल, मोहन काजीसहित पत्रकारका विभिन्न संघ–संगठनका प्रतिनिधिको सहभागिता थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर