Aamsanchar

धरान उपमहानगरपालिकाले आविष्कार केन्द्र खोल्ने

Author Image
सोमवार, माघ १५, २०८०

सुनसरी – सुनसरीको धरान उपमहानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ । धरानमा रहेको पूर्वाञ्चल इन्जिनियर क्याम्पसमा स्थानीय आविष्कार केन्द्र खोल्न आज क्याम्पससँग उपमहानगरले सम्झौता गरेको हो ।

उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई र क्याम्पस प्रमुख काजिराम कार्कीबिच स्थानीय आविष्कार केन्द्र खोल्न सहमती पत्र आदान प्रदान भएको मेयर राईका स्वकीय सचिव रसिक लिम्बुले जानकारी दिए ।

क्याम्पस प्रमुख कार्कीका अनुसार पहिलो चरणमा केन्द्रलाई आवश्यक पर्ने करिब २ करोड लागतको भवन उपमहानगरले निर्माण गर्ने सहमती भएको हो ।

‘हाम्रो क्याम्पसको हाताभित्र उपमहानगरले भवन निर्माण गर्ने सहमती आज भएको हो । यो सँगै धरानबासीको पनि पहुँच हुनेगरी अन्वेषण गर्न आवश्यक औजार, मेशिन र भौतिक पूर्वाधारको संरचना धरानले बनाउनेछ,’ सम्झौताबारे कार्कीले  भने ।

उनले पूर्वीक्षेत्रका इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुले अन्वेषण,अनुसन्धान गर्ने स्थान र नयाँ आविष्कार गर्न खोज्ने धरानबासीको लागि स्थानीय आविष्कार केन्द्रले स्थान र आवश्यक पर्ने मेशिनरी औजार उपलब्ध गराउने तयारी रहेको जनाए ।

कार्कीले महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्र जस्तै भएपनि स्थानीय आविष्कार केन्द्र छुट्टै संस्था भएको प्रष्ट पारे,‘राष्ट्रिय आविष्कार केन्द्रसँग भविष्यमा समन्वय भएर काम चाहिँ हुन सक्छ तर यो क्याम्पस र धरान उपमहानगरको स्वामित्वमा हुने छुट्टै आविष्कार केन्द्र हो ।’

कार्कीले आविष्कार केन्द्रको सञ्चालन कार्यविधि बनाइनसकेको भन्दै उपमहानगरका प्रतिनिधि र क्याम्पसका प्रतिनिधि बसेर सञ्चालन, प्रयोग, अनुसन्धान, अन्वेषणको कार्यविधि तयार गर्ने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर