Aamsanchar

मेची आँखा अस्पतालमा अति शिशिष्टकृत सेवा सुरु, अघिल्लो वर्ष २ लाख ७६ हजार बढीले बहिरङ्ग सेवा लिए, ३६ हजार ३५८ विरामीको आँखा शल्यक्रिया

Author Image
शुक्रवार, माघ २६, २०८०

बिर्तामोड । झापाको बिर्तामोड –९ स्थित सैनिकमोडमा रहेको मेची आँखा अस्पतालको २७ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।  आज अस्पताल परिसरमा एक भव्य समारोहका बीच विविध कार्यक्रम आयोजना गरि वार्षिकोत्सव सम्पन्न भएको हो ।

सामाजिक सेवा तथा परोपकारको सिद्धान्त अन्तरगत सर्वसुलभ तथा गुणस्तरीय नेत्र स्वास्थ्य सेवा प्रदान गर्दै समायानुकुल अस्पतालको सेवा लगायत स्तरवृद्धि मा उल्लेखनीय प्रगति गर्दै आएको अस्पतालले सन २०२३ मा बहिरङ्ग सेवा अन्तरगत १ लाख ९७ हजार ८७२ तथा आउटरिच (शिविर) कार्यक्रम अन्तरगत ९७ हजार २५ जना गरि जम्मा २ लाख ७६ हजार ८९३ जना बिरामीहरूको आँखा परिक्षण भएको छ । यो संख्या सन् २०२२ को तुलनामा २०.३६ प्रतिशत वृद्धि हो ।

त्यसैगरी शल्यक्रिया सेवा तर्फ ३४ हजार ५४५ र बाह्य कार्यक्रम अन्तरगत १ हजार ८१३ जना गरि जम्मा ३६ हजार ३५८ जना विरामीहरुको आँखाको शल्यक्रिया गर्न अस्पतालको टिम सफल भएको प्रतिवेदनमा उल्लेख छ । जसमा २१ हजार ९५७ जनाको मोतिया विन्दुका अप्रेसन भएको छ ।

नेपालमै उत्कृष्ट मध्यको एकमा पर्न सफल मेची आँखा अस्पतालमा अतिविशिष्टकृत सेवाहरू तर्फ रेटिनाको शल्यक्रिया ७ हजार ४०२, कोर्निया २ हजार ८०५, अकुलोप्लास्टिक ३ हजार ५६७, र अन्य शल्यक्रिया  ६ सय २७  वटा मेची आँखा अस्पतालमा भएको छ ।

नेपाल सरकार सँगको सम्झौता अनुरूप स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत एक वर्ष भित्र ५१ हजार ९१५ जना बिरामीहरूले आँखा परिक्षण गराएका छन भने स्वास्थ्य बिमा कार्यक्रम मार्फत ५ जार ६६१ जनाले आँखाको शल्यक्रिया गराएको जानकारी दिइएको छ ।

त्यसैगरी स्क्रिनिङ क्याम्पबाट रेफर भएर आएका विपन्न, वेवारिसे र असहाय  ४ हजार ७५६ जना बिरामीलाई विभिन्न सेवाहरू बाट गत वर्ष ५३ लाख ७५ हजार रुपैयाँ बराबरको स्वास्थ्य सुविधा अस्पतालले प्रदान गरेको छ ।

अधिकतम बिरामीहरूलाई सहज उपचार सेवा प्रदान गर्न विभिन्न स्थानमा स्थापना गरिएको शाखाहरू मा भौतिक पूर्वाधार निर्माण गर्ने कामलाई निरन्तरता दिदै आएको मेची आँखा अस्पतालले भद्रपुर आँखा उपचार केन्द्रमा अन्तरंग विभाग अन्तरगत बिरामी वार्ड भवन निर्माण गरेको छ ।

विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार सन् २०५०  सम्ममा विश्वको कुल जनसङ्ख्याको लगभग ५० प्रतिशत अर्थात ५ अर्ब जनसङ्ख्यामा दृष्टिदोष हुनेछ र त्यस समस्यालाई प्रभावकारी रूपले सम्बोधन गर्न अहिले देखि नै आवश्यक तयारी गर्नु पर्ने देखिन्छ । सय तथ्यलाई आत्मसात गर्दै सारसंक्षेप पूर्व तयारी अनुरूप यस अस्पतालले र्कोनिया तथा रिफ्राक्टीभ सर्जरी, मायोपिया क्लिनिक, रेटिना, अकुलोप्लास्टिक, अर्थोपेडिक जस्ता सेवाहरूको लागि अत्याधुनिक उपकरणहरू खरिदका लागि लगानी गरिएको बताईएको छ ।

पब्लिक प्राइभेट पार्टनरसिप अनुसार मातृका आँखा केन्द्र सँगको सहकार्यमा लेजर रिफ्लेक्टिभ सर्जरी युनिटको स्थापना मेची आँखा अस्पतालमा स्थापना गरिएको छ ।
विपी कोईराला लायन्स सेन्टर फर अफ्थाल्मिक स्टडिज सँगको सहकार्यमा अतिविशिष्टकृत सेवाको लागि आवश्यक दक्ष जनशक्ति विकास गर्नको लागि फेलोसिप कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिरहेको र इन्टेरियर सेग्मेन्ट मा १८ जना, सर्जिकल रेटिनामा ८ जना, मेडिकल रेटिनामा २ जना र अकुलोप्लास्टिकमा २ जना गरि ३० जना नेत्र विशेषज्ञहरूले तालिम लिइसकेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर पुरुषोत्तम जोशीले जानकारी दिए ।

मेची आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा टिचिङ हस्पिटल विपी केएलसीओस आँखा विभाग प्रमुख प्राध्यापक डाक्टर मिनु चौधरी, नेपाल आखा बैंकका निर्देशक शंख तोयना, अस्पताल सँग सहकार्य गर्ने राष्ट्रिय बिमा बोडका एक जना प्रतिनिधि र लेलिम लिम्बुलाई सम्मान गरिएको छ ।

त्यसैगरी मेची आँखा अस्पतालमा कार्यरत कर्मचारीहरू मध्ये १० जनालाई वर्ष उत्कृष्ट कर्मचारी घोषणा गरि सम्मान गरिएको छ । सम्मानित हुने कर्मचारीहरू डाक्टर इशा विष्ट, कविता कार्की कडरिया, श्रवण सरदार, मन्जुरी राई, रुद्र मगर, दुर्गेश पासवान, देवी राई, सर्मिला श्रेष्ठ, सुस्मिता चौलागाईँ र कमला राजवंशी रहेका छन् ।

कार्यक्रममा सम्मानित मिनु चौधरी,  डाक्टर किशोर प्रधान, सामाजिक संघ संस्थाको तर्फबाट लोकबन्धु कन्दङवा, बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौला, वेलका नगरपालिकाका प्रमुख अशोक कार्की, नेपाली कांग्रेसका झापा जिल्ला सभापति देउकुमार थेवे, कोशी प्रदेश सांसद एकराज कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा आँखा दान गर्नेहरूलाई मरणोपरान्त सम्मान गरिएको छ । दिवंगत भएका सपना भट्टराई, विष्णुप्रसाद रिजाल, रामबहादुर गुरुङ, तिलरुपा चिमरिया, रमाप्रसाद सापकोटा, योगमाया खनाल र खडानन्द वाग्लेका परिवारलाई सम्मान पत्र हस्तान्तरण गरिएको छ । उत्तm सम्मान पत्र अप्टिमिस्ट नेपालका अध्यक्ष खगेन्द्र ओलीको हातबाट प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।

त्यस्तै भद्रपुर सेवा केन्द्रलाई उत्कृष्ट सेवा केन्द्र घोषणा गरिएको छ । टिचिङ अस्पताल र मेची आँखा अस्पतालको सहकार्यमा सञ्चालित अतिविशिष्टकृत विधामा सहभागी बन्ने र दक्षता हासिल गर्ने डाक्टर सतिश तिम्सिना, डाक्टर अशेष कोइराला र विपिन विष्टलाई प्रमाण पत्र प्रदान गरिएको छ । उनि हरुलाई डाक्टर मिनु चौधरी र डा पुरुषोत्तम जोशीले प्रमाण पत्र वितरण गरेका थिए ।

कार्यक्रममा स्वागत सञ्चालक समिति सदस्य चण्डीराज ढकालले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव गणेश पोखरेलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)