Aamsanchar

मधानी महायज्ञ, रौतहटमा बलिउड नायक गोबिन्दा देखी रवि किशन आउँदै

Author Image
आइतवार, फागुन ६, २०८०

रौतहट । मधानी महायज्ञलाई लक्षित गर्दै रौतहटको मौलापुर नगरपालिका अन्तर्गत सरसफाई अभियान सुरु भएको छ।

मौलापुरस्थित पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेस गराउन महाशीवरात्रीको अवसरमा आयोजना हुँदै आएको मधानी महायज्ञ लाई लक्षित गर्दै सरसफाई अभियान सुरु भएको हो।

मौलापुर नगरपालिकाको जगको रूपमा मनाइने मधानी महोत्सवको उपलक्ष्यमा घरघरमा अतिथि पाहुनाहरु आउनुहुने भएकोले सरसफाई अभियानमा सहभागी हुन मेयर रिना कुमारी साहले सम्पूर्ण नगरबासी लाई आग्रह गरेकी छन्।

‘हाम्रो नगर, सुन्दर शहर’ अभियानका रुपमा नगरका मुल हाइवे देखि ठूलो सानो सबै भित्री सडक समेत सरसफाई गर्ने अभियान शनिवार देखि सुरु भएको छ । पुरै नगरलाई सफा र सुन्दर बनाउने यो सरसफाई अभियान लगातार १ महिना चल्ने मेयर साहले जानकारी दिएकी छन्। सरसफाई अभियानमा सबैलाई साथ र सहयोग गर्न उनको आग्रह रहेको छ ।

सम्पूर्ण नगरवासीमा आफ्नो घर अगाडि पछाडि, बाटोमा रहेको फोहर, पराल, गाई गोरु भैंसीलाई ख्वाउन राखिएको नादका साथै छेउछेउमा राखिएको सबै किसिमको समान हटाइ बाटो सफा राख्न मौलापुर नगरपालिकाले आग्रह गरेको छ।

पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा २०७६ सालदेखि मौलापुर नगरपालिकामा मधानी महायज्ञको आयोजना हुँदै आएको छ। पहिलो बर्ष तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि बनेर मधानी महायज्ञको उदघाटन गरेकी थिइन्। महाशिवरात्रीको अवसरमा भगवान शिवको बिशेष पूजा मधानी महायज्ञ हुने गर्दछ।

उक्त अवसरमा हजारौं भक्तजनहरू महादेव स्थानमा जल चढाउने गर्दछन्। परापूर्वकाल देखि रौतहट, बारा, पर्सा र सर्लाहीमा मात्र मधानी महायज्ञ हुने गरेको थियो। तर, मौलापुरमा सप्ताहव्यापी रुपमा मधानी महायज्ञ हुन थाले पछि अहिले अर्न्तराष्ट्रियकारण भएको मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन।

मौलापुरमा हुने सप्ताहब्यापी कार्यक्रममा धार्मिकसँगै सांस्कृतिक पक्षलाई पनि बिशेष महत्व दिने गरिन्छ। उक्त अवसरमा भारतीय सिनेजगतका सुपर स्टार संगै नेपाली सिने जगतका सुपर स्टार नायक नायिकाहरु मौलापुरमा प्रस्तुती दिनेछन्। यसपटक मौलापुरमा वलिउड नायक गोबिन्दा, भोजपुरी नायक रविकिशन, पल शाह, दिनेश डिसीलगायत उपस्थित हुनेछन् ।

साथै, सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरु लाई पनि आआफ्नो प्रस्तुतिका लागि अवसर दिईने गरिन्छ। झण्डै एकसाता सम्म चल्ने मौलापुर मधानी महायज्ञको अवसरमा रौतहट, बारा, पर्सा, सर्लाहीसंगै सीमावर्ती भारतीय क्षेत्रबाट लाखौं मानिस आउने गर्दछन् । मौलापुरसंगै आसपासका पालिका अन्तर्गतको प्रायः सबै घरमा पाहुनाहरु आउने गर्दछन्।

गतबर्ष भएको मधानी महायज्ञको अवसरमा ६ लाख भन्दा बढी मानिस अवलोकन गरेको मौलापुर नगरपालिकाले आँकलन गरेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर