Aamsanchar

मुख्यमन्त्रीको नेतृत्वमा झापाबाट प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि हात्ती प्रभावित क्षेत्रमा पैदलयात्रा

Author Image
बुधवार, फागुन ९, २०८०

झापा – पछिल्लो समय झापा सहित पूर्वी नेपालमा भारतबाट आउने गरेका जङ्गली हात्तीले मानवीय र भौतिक रूपमा ठुलो क्षति पुर्‍याउन थालेपछि कोशी प्रदेश सरकारले मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा ‘प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि हात्ती प्रभावित क्षेत्रमा पैदलयात्रा २०८०’ सुरु गरेको छ ।

कोशी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालय आफैँले पदयात्राको संयोजन गरेको हो । भारतबाट हात्ती नेपाल छिर्ने प्रमुख नाका झापाको मेचीनगर नगरपालिकाको वडा नं.४ को बाहुँण्डागीको प्रशादगौडाबाट मुख्यमन्त्री कार्की सहितको टोलीले बुधबार बिहानदेखि हात्ती प्रभावित क्षेत्रको पैदलयात्रा सुरु गरेको हो ।

हात्तीको परम्परागत जैविक मार्गको पुनः स्थापना तथा वासस्थानको संरक्षण एवम् मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्दै संरक्षणमा सहअस्तित्व र हात्तीमैत्री पर्यापर्यटन विकास गर्ने पदयात्राको उद्देश्य रहेको जनाइएको छ । हात्ती र मानवबिचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा सुरु गरिएको हो, कार्कीले पैदलयात्रा सुरु गर्दै भन्नुभयो । हात्तीले पारेको पीरमार्का सुन्न र हात्तीको जैविक मार्गको अवलोकन गरेर पर्यटन प्रवर्द्धन गरिने कार्कीले बताउनुभयो ।

पदयात्रामा विशेष गरेर हात्ती हिँड्ने गरेको बाटो पछ्याउँदै प्रभावित क्षेत्रका बासिन्दाहरूसँग छलफल गरिने जनाइएको छ । झापाबाट सुरु भएको एकसाता लामो पैदलयात्रा उदयपुरमा गएर समापन गरिनेछ । पदयात्रामा हात्ती प्रभावित क्षेत्रका बासिन्दाहरू, वन कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, सामुदायिक वनका पदाधिकारीहरू सहित पर्यटन विज्ञहरूको सहभागिता छ ।

‘जीव, जनवार, जल, जङ्गल र जनतामैत्री जिम्मेवार जनप्रतिनिधि’ मुख्य नारा सहितको यो यात्राले समस्या समाधानका लागि जनप्रतिनिधिलाई पनि जिम्मेवारीबोध गराउने अपेक्षा लिइएको पनि कार्कीले बताउनुभएको छ । ´म आफैँ यो यात्राभर हिँडेर जनअपेक्षा सङ्कलन गरी त्यसै अनुसार कार्यक्रम बनाउने लाग्नेछुू, मुख्यमन्त्री कार्कीले पैदलयात्रा सुरु गर्दै प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री सहितको टोलीले झापाबाट उदयपुरसम्म कूल २४३ किलोमिटर पैदल यात्रा गर्नेछ । यस क्रममा मुख्यमन्त्री कार्कीले चार जिल्लाका विभिन्न २३ स्थानीय तह पुगी प्रभावित क्षेत्रका बासिन्दासँग साक्षात्कार गर्नुहुनेछ । हात्ती प्रभावित क्षेत्रमा नै बसोबास समेत गर्ने कार्यक्रम तय भएको छ ।

वि.स.२०६७ सालदेखि यता झापा जिल्लामा मात्र मानव हात्ती द्वन्द्वका कारण ६५ जना मानिसहरूको ज्यान गएको छ । यो अवधिमा २१ वटा हात्तीको मृत्यु भएको छ । हामीले अब क्षति न्यूनीकरण सहित प्रभावित क्षेत्रलाई नयाँ पर्यटकीय हबको रूपमा विकास गर्ने सोच अनुसार कार्यक्रम ल्याउन लागिएको पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले बताउनुभएको छ ।

हात्ती आउने मुख्य बिन्दुहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नका लागि हात्ती कोरिडोर निर्माण र हात्तीको समस्या दीर्घकालसम्मका लागि समाधान गर्न यसपछि प्रदेश सरकारले गुरुयोजना बनाएर अघि बढ्ने पनि मन्त्री उप्रेतीले जनाउनुभएको छ । ूहात्तीलाई समस्याको रूपमा मात्र नलिएर पर्यटकीय विकासको आधारको रूपमा पनि लिन सक्नुपर्छ भन्ने लागेर यो कार्यक्रम सुरु गरिएको होू, उप्रेतीले भन्नुभयो ।

हात्ती प्रभावित तथा पीडित नागरिकहरुसंगको संवाद सहितको यो कार्यक्रम अहिलेसम्मकै नयाँ र नमुना कार्यक्रम भएको मानव हात्ती द्वन्द्व व्यवस्थापनको लागि सक्रिय अभियन्ता समेत रहनुभएका मेचीनगर नगरपालिका ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । ´यस विषयमा हामी मात्र एकोहोरो बोलिरहेका थियौँ अब कोशी प्रदेश सरकारले नै अपनत्व लिएको छू, उहाँले भन्नुभयो ।

पैदल यात्रा उद्घाटनमा कोशी प्रदेश सरकारका कृषिमन्त्री रामकुमार खत्री, भौतिक पूर्वाधार मन्त्री कमल जबेगु, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर