Aamsanchar

इजरायल र हमासबीच गाजामा ६ हप्ताका लागि युद्धविराम

Author Image
आइतवार, फागुन २०, २०८०

काठमाडौं – इजरायल र हमासबीच गाजामा जारी युद्ध ६ हप्ताका लागि रोक्न इजरायल तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

इजरायल गाजामा युद्धविराम गर्न र बन्धक रिहाईको सम्झौता गर्न सहमत भएको बताइए पनि यसलाई औपचारिकता दिने कि नदिने भन्ने हमासको हातमा रहेको छ।

अमेरिकी एक वरिष्ठ अधिकारीका अनुसार शनिबार भएको छलफलपछि इजरायल युद्धविराम गर्न तयार भएको हो।

प्रस्ताव अनुसार गाजामा ६ हप्ताको युद्धविरामसँगै हमासले बिरामी, घाइते, वृद्धवृद्धा र बन्धक बनाएका महिलाहरूलाई पनि रिहा गर्नु पर्ने छ। यस विषयमा हमासबाट भने कुनै प्रतिक्रिया आएको छैन।

गाजामा इजरायल र हमासबीच झण्डै पाँच महिनादेखि द्वन्द्व चलिरहेको छ। अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि सुरु भएको युद्धमा तीस हजारभन्दा बढी मानिसको ज्यान गएको छ।

इजरायली सेनाले शनिबार रफाह सहरको एक अस्पताल नजिकैको शरणार्थी शिविरमा बमबारी गर्दा ११ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका छन्।

गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले देर अल–बालाह र जबलियामा तीनवटा घरहरूलाई निशाना बनाएर हवाई आक्रमण गरेको जनाएको छ। आक्रमणमा १७ प्यालेस्टाइनी मारिएका छन् भने दर्जनौँ घाइते भएको पनि स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)