Aamsanchar

अस्वस्थकर माछा, मासु र दूधको कारोबार हुने गुनासो बढेसँगै उदयपुरमा बजार अनुगमन सुरु

Author Image
आइतवार, फागुन २०, २०८०

उदयपुर – उदयपुरमा बजार अनुगमन सुरु गरिएको छ। बजारमा अस्वस्थकर माछा, मासु र दूधको कारोबार हुने गुनासो बढेसँगै उदयपुरको सदरमुकाम गाईघाटमा अनुगमन सुरु गरिएको हो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र त्रियुगा नगरपालिकाले संयुक्त रुपमा आइतबारदेखि गाईघाट बजारका पसलहरूमा अनुगमन गरेको छ। अनुगमनका क्रममा दर्ता विना तथा मापदण्ड विपरीत सञ्चालित मासु पसललाई पहिलो पटकका लागि सचेत गराइएको छ।

मासु र मासुजन्य चीजबाट लाग्ने रोगबारे मासु पसललाई जानकारी दिन र सरसफाइमा ध्यान पुर्‍याउन निर्देशनसहित अनुगमन गरिएको त्रियुगा नगरपालिकाका नगर उपप्रमुख महेश्वरी राईले बताइन। उनले नगरभित्रका मासु पसलमा सरसफाइ, दर्ता, पान नम्बर लिए–नलिएको लगायतका विषयमा अनुगमन गरिएको उनले बताइन्।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख रामनारायण साहका अनुसार पहिलो दिन आइतबार मासु पसल १३, माछाका चार र दूध डेरी तीन पसल गरी २० वटा पसलमा अनुगमन गरिएको हो।

त्यसमध्ये धेरैले पान नम्बर नलिएको, नवीकरण नगरेको, माछा ल्याउँदा श्रोत नखुलेको, स्वास्थ्य प्रमाणपत्र जारी नभएको, बिल र भेटेरिनरी प्रमाणपत्र जारी नभएको पाइएको उनले बताए। दर्ता नभएकाहरूलाई १५ दिनको म्याद दिएको, प्रतिबन्धित मुङ्री माछा बिक्री वितरणमा रोक लगाउन सचेत गराइएको त्रियुगा नगरपालिकाका पशु तथा भेटेरिनरी शाखाका प्राविधिक दीपक फुयाँलले बताए।

उनका अनुसार मनकामना फ्रेस हाउसमा सडेगलेको मासु भेटिएको र रामविलास र विजय माछा पसलमा मरेको माछा भेटिएकाले नष्ट गरिएको छ। विज्ञ केन्द्रका प्रमुख साहले गाईघाटका दूध डेरीहरूले दूध ढुवानी गर्न प्रयोग गर्ने प्लाष्टिकको क्यान सरकारले प्रतिबन्ध लगाएकाले आगामी दिनमा प्रयोग नगर्न निर्देशन दिइएको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर