महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइ र वागमती पेट्रोलियम डिलर एशोसिएसन बिच सम्झौता भएको छ । सम्झौता पत्रमा एकाइका प्रमुख नरेन्द्रबिलास बज्राचार्य र एशोसिएसनकातर्फबाट अध्यक्ष अच्युतबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।
सम्झौताबमोजिम महानगरपालिकाभित्रका ५० वटा पेट्रोल पम्पमा भएका शौचालयहरु सर्वसाधारणलाई प्रयोग गर्न निःशुल्क उपलब्ध हुनेछन । यसवापत महानगरपालिकाले सरसफाइ र स्वच्छताका शौचालय सफाइ गर्ने र दुर्गन्ध हटाउने सामान सूचीकृत सामानसहित निःशुल्क सार्वजनिक शौचालय लेखिएको बोर्ड दिनेछ ।
एकाइका प्रमुख बज्राचार्यकाअनुसार चालु आर्थिक बर्षमा ३ सय वटा निःशुल्क सार्वजनिक शौचालय थप गरिनेछ । यस क्रममा एशोसिएनसँग सम्झौता गरिएको हो ।
सम्झौताबमोजिम सेवाग्राहीसँग पम्पहरुले शुल्क लिन वा शौचालय प्रयोग गरेवापत् कुनै सामान खरिद गर्न करकाप गर्न वा प्रोत्साहन गर्न पाउने छैनन् । सार्वजनिक शौचालयमा कुनै पनि प्रकारको प्रचार सामग्री राख्न पाउने छैनन् । शौचालयका लागि आवश्यक पर्ने पानी उपलब्ध गराउने, सफाइ गर्ने, मर्मत सम्भार र निकासाको व्यवस्था पम्पहरुले गर्नुपर्नेछ ।
महानगरपालिकाभित्रका पेट्रोल पम्पहरुको तत्काल सुधार गर्न गठित समितिले दिएको सुझावका आधारमा अहिले सबै पम्पहरु पहेँलो रङ्ग चिन्ह प्रयोग गरेका छन् ।