Aamsanchar

काठमाडौँ महानगर-२३ क्षेत्रका १८ वटा सम्पदा संरचनामा क्युआर कोड

Author Image
बिहिवार, चैत २२, २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २३ ले आफ्नो वडाभित्र रहेका १८ वटा सम्पदा स्थलको जानकारी दिन क्युआर (क्वीक रेस्पोन्स) कोड राखेको छ ।

सांस्कृतिक सम्पदाहरूको अरुलाई चिनाउँदा गलत रुपमा चिनाएपछि प्राचीन, पुरातात्विक तथा ऐतिहासिक तथ्यमा तोडमोड हुने भएकोले यो खतराबाट सम्पदाहरुलाई जोगाउन क्युआर कोडको प्रयोग थालिएको हो ।

कुमारी घरको प्रवेश द्वारसँगै राखिएको कोड स्क्यान गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले कार्यक्रम थालनी गरेकी हुन् । जनजीवनमा कुमारी घर भनेर चिनिने यस संरचनालाई नेपाल भाषीहरू कुमारी छेँ, कुमारी वहाः भन्छन् । यसको मौलिक नाम राजकीर्ति मनोरम विहार हो । यसलाई राजलक्ष्मी बिहारका नामले पनि चिनिन्छ ।

क्युआर कोड स्क्यान गरेपछि यसको स्थापना कहिले भयो, यससँगै सम्बन्धित प्राचीन अवस्था, परिवर्तित अवस्था र अहिलेको अवस्था (भौतिक अवस्था तथा अभौतिक चलन), यससँग सम्बन्धित पर्वपूजा, कुमारी प्रतिस्थापन विधि, कुमारीको वाह्य आगमन, कुमारीको दर्शन कहिले र कसरी हुन्छ, जस्ता विषयसँग सम्बन्धित जानकारी पढ्न र सुन्न सकिन्छ ।

कुमारी घरको जस्तै सबै सम्पदाका क्युआर कोडमा यस्तै विवरण छन् । वडा २३ ले सम्वर्धनसँगको सहकार्यमा सम्पदाको चिनारीलाई प्रविधि हेर्न, बुझ्न र जान्न सक्ने बनाएको हो ।  क्युआरमा भएका विवरणलाई अहिले नेपाली र अंग्रेजी टेक्स्टमा पढ्न र आवाजमा सुन्न सक्ने बनाएको छ ।

क्युआर कोडमा प्राप्त हुने विवरण पाटन संयुक्त क्याम्पसको इतिहास तथा बौद्ध अध्ययन विभागका प्रमुख डा. जुनु बासुकलाको अध्ययनमा आधारित छन् । वडा २३ मा भएका सम्पदामध्ये सबैभन्दा प्राचीन संरचना सिखमु (अहिलेको बोलीचाली) हो ।

यसको प्राचीन नाम श्रीखण्ड तरुमुल महाविहार हो । काठमाडौँ मण्डपसँग साइनो देखिने भएकोले यसको निर्माण काष्ठमण्डपसँगै (७ औँ शताव्दीमा)  हुन सक्छ । यसको यकिन तथ्याङ्क पाइएको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर