

काठमाडौं । नेपालमा हवाई र सडक यातायात क्षेत्रमा कार्यस्थलमा हुने घरेलु हिंसाको प्रभावसम्बन्धी राष्ट्रिय सर्वेक्षण सुरु भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रम गरी अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ ९आइटीएफ० मा आबद्ध नेपालका तीन मजदुर संगठन यूनिट्राभ, इटवन, नेटवनसँगको सहकार्य र सामाजिक संस्था उज्जल थापा फाउन्डेसनको समन्वयमा सर्वेक्षण शुभारम्भ भएको घोषणा गरिएको हो ।
सर्वेक्षण शुभारम्भ गर्दै यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले सर्वेक्षणले विभेद र कार्यथलोमै हुने गरेको हिंसा र विभेद बारे यथार्थ चित्रण बाहिर निकालेर त्यसको नीतिगतरूपमा सुझाव दिनसक्ने विश्वास व्यक्त गर्नुभयो । कार्यथलोमै हुने गरेका हिंसा र पीडाबारे महिलाहरूले खुलेर सर्वेक्षणमा सहभागिता जनाउनुपर्ने भन्दै यसमा सबै युनियनले हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो । त्यस्तै नेटवनका अध्यक्ष धर्मराज भण्डारीले यातायात क्षेत्रमा रहेका महिलाहरूको अवस्थाको तथ्यांक सङ्कलनमार्फत निस्कने निष्कर्षबाट यस क्षेत्रमा महिला हिंसा न्यूनिकरणका लागि प्रेरणादायी नतिजा निकाल्न सकिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा इटवनका अध्यक्ष भीमज्वाला राईले नेपालको श्रम क्षेत्रमा रहेका महिलाहरूबारे कार्यस्थल र घरेलु हिंसाको रूप पत्ता लगाउन राष्ट्रिय सर्वेक्षणको थालनी गरिएको बताउँदै यसले नीति निर्माण गर्नेलाई सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
यो सर्वेक्षण विशेषगरी देशका चारवटा प्रदेशमा पुगेर अध्ययन गरिने मजदुर सङ्गठनहरूले बताएका छन् । यो २४ पेजको सर्वेक्षण फारम रहेको र प्रतिनिधिमूलक हुने मजदुर सङ्गठनले जानकारी दिएका छन् । कार्यक्रममा उज्जल थापा फाउन्डेसनका उपाध्यक्ष गोविन्द नारायण तिमल्सिनाले नीति निर्माणका लागि यस किसिमको सर्वेक्षणमार्फत आउने तथ्याँक आवश्यक रहेको बताउनुभयो । सर्वेक्षणमा ६८ वटा प्रश्न राखेर तथ्यांक संकलन गरिनेछ । तीन महिनाभित्र देशभर सडक र हवाई यातायात क्षेत्रसँग सम्बन्धित विशेषत अनौपचारिक क्षेत्रका महिला श्रमिकहरूमाझ यो सर्वेक्षण गरिनेछ । आइटिएफ स्टेरिङ समूहका सदस्यहरू सरस्वती रिजाल, गिता श्रेष्ठ र रञ्जु थापाले कार्यस्थलमा हुने विभिन्न हिंसा अन्त्य गरेर त्यसलाई सम्बोधन गराउन सर्वेक्षण फलदायी हुने जानकारी दिँदै सरकारले आउने योजनामा यसबाट आवश्यक खाका कोर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।



सर्वेक्षणले एक वर्षमा पूर्ण नतिजा दिने बताइएको छ । कार्यस्थलमा कार्यरत अधिकांश अनौपचारिक क्षेत्रमा कार्यरत ३ हजार भन्दा बढी महिलाबीच यो सर्वेक्षण गरिनेछ । सर्वेक्षणको नतिजा सरकारलाई बुझाउने कार्यक्रम रहेको छ । नेपालमा वि।सं। २०५१/२०५२ सालदेखि सडक यातायात क्षेत्रमा महिलाको प्रवेश भएको पाइन्छ ।



