Aamsanchar

जामुनबारी सामुदायिक बनमा निर्वाचन सरगर्मी, स्वतन्त्र उम्मेद्वार गिरीलाई जिताउन अपील

Author Image
मङ्गलवार, वैशाख ४, २०८१

कनकाई ।  झापाको कनकाई नगरपालिका २ र १ मा रहेको जामुनबारी सामुदायिक बन उपभोक्ता समितिको  यही बैशाख ६ गते हुने निर्वाचनमा स्वतन्त्र प्यानललाई जिताउन आग्रह गरिएको छ ।
मंगलबार (आज) स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका पर्शुराम गिरी नेतृत्वको प्यानललाई अत्याधिक मतले बिजयी गराउन कनकाई स्वतन्त्र गणतान्त्रिक समुहका संयोजक चन्द्र मैनाली (भतिज) संरक्षक शेरबहादुर थापा, भिमप्रसाद अधिकारीलगायतले आग्रह गरेका हुन् ।

जामुनबारी चोकमा कोणसभा गर्दै सामुदायिक बनको विकास र समृद्धिका लागि स्वतन्त्र प्यानलको जित आवश्यक रहेको उनीहरूले बताएका छन् ।

नेपालकै सबैभन्दा पहिलो सामुदायिक बनको रुपमा दर्ता भएको पर्यटकीय क्षेत्रको जुन हिसाबमा विकास हुनु पर्ने थियो त्यो हुन नसकेको बताउँदै कनकाई स्वतन्त्र गणतान्त्रिक समुहका संरक्षक शेरबहादुर थापाले दैनिक हजारौं पर्यटक भित्र्याउन सकिने भएता पनि नेतृत्वका कमजोरीका कारण त्यस्तो हुन नसकेको बताए । उनका अनुसार गिरी नेतृत्वको टिम उक्त कार्य गर्न सक्षम र अनुभवी भएकाले उनीहरूलाई जिताउन थापाले सबै समक्ष आग्रह गरेका छन् । ‘हाम्रा लाई होइन’ थापाले भने ‘राम्रा र सक्षमलाई जिताऔँ ।’

सामुदायिक बनको स्थापना काल २०५२ सालदेखि संस्थापक सदस्यका रुपमा रहँदै अध्यक्ष पदका उम्मेद्वार गिरीले २०५८ देखि ०७५ सालसम्म १७ वर्ष ३ महिना अध्यक्षका रुपमा काम गरिसकेका छन् । उनले आफू नेतृत्वमा रहँदा देशका २२ हजार सामुदायिक बन मध्ये उत्कृष्ट बनका रुपमा गणेशमान सिंह सामुदायिक बन राष्ट्रिय पुरस्कारसमेत प्राप्त गर्न सफल भएको बताएका छन् ।
पर्यापर्यटनको हिसाबले नेपालकै नम्बर १ मा रहेको उत्कृष्ट सामुदायिक बन जामुनबारी पछिल्लो समय कोभिड महामारी तथा अन्य विविध कारणले यस क्षेत्रको पर्यटन विकास शिथिल हुँदै गएको गिरीले बताए । उनले शिथिल बन्दै गएको पर्यटकीय क्षेत्रलाई माथि उठाउन आफूसँग भएको लामो समयको अनुभवलाई प्रयोग गरेर  काम गर्ने गिरीले प्रतिवद्धता जनाएका छन् ।

गिरीको नेतृत्वमा उपाध्यक्षमा चन्द्रा बुढाथोकी, सचिवमा दीपक ओली, सदस्यहरूमा राधा कार्की, तेजबहादुर थापा, कृष्णप्रसाद गिरीले उम्मेद्वारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कनकाई २ का अध्यक्ष पुष्पराज गिरीको अध्यक्षतामा भएको कोण सभामा संस्थापक अध्यक्ष केदार गिरी, समुहका संरक्षक तथा सुरुङ्गा खानेपानीका अध्यक्ष भीमप्रसाद अधिकारी, रास्वपा कनकाई सदस्य गोपाल उप्रेतीलगायतले गिरी नेतृत्वको प्यानललाई जिताउन आग्रह गरेका छन् । कार्यक्रमको सञ्चालन दिनानाथ खतिवडाले गरेका थिए । 

अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र कोषाध्यक्ष एकसहित १४ जना निर्वाचित र एक जना सदस्य मनोनित हुने कार्य समितिका लागि निर्वाचन हुन लागेको समितिमा ६ जना सदस्य सर्वसम्मत निर्वाचित भइसकेका भएपनि आधिकारिक घोषणा भने गरिएको छैन ।

पर्शुराम गिरीको नेतृत्व, सिता अधिकारीको नेतृत्व र बुद्धिमान बोहराको नेतृत्वमा प्यानल खडा गरी उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीब्र बनाएका छन् ।  सामुदायिक बनको निर्वाचनमा  बनको ५ वटा क्षेत्र रहेको र ८ सय ५१ उपभोक्ता मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

भिडियो 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर