

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले आइतबारदेखि पदभार ग्रहण गरेको छ । अध्यक्षमा विजयी भएका राजु न्यौपाने नेतृत्वको कार्यसमितिले पदभार ग्रहण गरेको हो । २०८० फागुन १४ मा भएको निर्वाचनबाट न्यौपाने नेतृत्वको समिति निर्वाचित भएको थियो । सङ्घका अध्यक्ष प्रकाश शिवाकोटीले नवनिर्वाचित अध्यक्ष न्यौपानेलाई पदभार सुम्पिएका हुन् ।
अध्यक्ष न्यौपानेले निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनियताको सपथ गराएका थिए । यसअघि निर्वाचन समितिका संयोजक नारायणप्रसाद पौडेलले अध्यक्ष न्यौपानेलाई सपथ गराएका थिए । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलाकार विल्सनविक्रम राई, सञ्चारकर्मी विष्णुकुल श्रेष्ठ, व्यवसायी कुमार निरौलालाई सम्मान गरिएको छ ।
पद हस्तान्तरण कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष शिवाकोटीले आफूले कोरोनाको सङ्क्रमणको अवस्थामा नेतृत्व लिएको र मानवीय सेवाका क्षेत्रमा धेरै काम गरेको बताए । उनले व्यवसायीको हितमा काम गर्दै पाँच लाख रुपैयाँको ब्यवसायिक राहत कोष स्थापना गर्नुका साथै कोरोनाको संक्रमणका समयमा व्यवसायी तथा मजदुरहरूलाई कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्नुका साथै वाणिज्य संघको गेट निर्माण लगायतका काम गरेको बताए । उनले व्यवसाय प्रर्वद्धनका लागि औद्योगिक कृषि पर्यटन महोत्सव सञ्चालन गर्नुका साथै बैंकको चर्को ब्याजदर विरुद्ध व्यवसायीको पक्षमा आफू नेतृत्वको कार्य समितिले आवाज उठाएको बताए ।



कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति केशवराज पाण्डे, एमालेका जिल्ला उपाध्यक्ष शिव ढुङ्गेल, राप्रपा अध्यक्ष केशव ओझा, चिया श्रमिक संघका केन्द्रिय अध्यक्ष दीपक तामाङ, उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य नरेन्द्रकुमार खड्का, अलैँची व्यवसायी महासङ्घका केन्द्रिय अध्यक्ष निर्मल भट्टराई, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडाध्यक्ष अग्निप्रसाद पाण्डे, मेची भन्सार प्रमुख रामप्रसाद रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य उमेश डालमिया, लगायतले बोलेका थिए ।

प्रमुख अतिथि ढकाल ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । पहिलो सत्रको कार्यक्रम निवर्तमान अध्यक्ष शिवाकोटी अध्यक्षतामा भएको थियो भने दोस्रो सत्रको कार्यक्रम नवनिर्वाचित अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा निवर्तमान जनसम्पर्क उपाध्यक्ष नैनाकला भट्टराईले स्वागत गरेकी थिइन । पहिलो सत्रको कार्यक्रमको सञ्चालन निवर्तमान महासचिव अर्जुन मैनालीले गरेका थिए भने दोस्रो सत्रको कार्यक्रम नवनिर्वाचित महासचिव कुशल खतिवडा सञ्चालन गरेका थिए । यसैबीच बिर्तामोड उद्योग वाणिज्य संघको नवनिर्मित प्रवेशद्वारको समेत उद्घाटन गरिएको थियो ।



