Aamsanchar

डग स्निफिङको माध्यमबाट झापामा ११ जना ब्राउन सुगर सहित समातिए

Author Image
मङ्गलवार, वैशाख ११, २०८१

झापा : पूर्वी जिल्ला झापा प्रतिबन्धित लागुऔषध ओसारपसार गर्ने मुख्य ट्रान्जिट बनेको छ । भारतको पश्चिम बंगाल र विहारसँग खुला सीमा जोडिएको झापामा लागुऔषध ओसारपसारको अवस्था भयावह छ ।

जिल्लाको मुख्य दुई नाका काँकडभिट्टा र भद्रपुरसहित अन्य चोर नाकाहरूबाट लागुऔषध (ब्राउन सुगर)भित्रिरहेको र यहाँका सुरक्षाकर्मीहरूले दिनैपिच्छे उनीहरूलाई पक्राउ गरिरहेको छ। तर,पनि ब्राउन सुगर भित्रिने क्रम अझै रोकिएको छैन । कारोबारी आफै वा प्रयोगकर्ताहरूलाई नै प्रयोग गरी ब्राउन सुगर भित्राइरहेको पाइएको छ ।

लागुऔषधको अवस्था जिल्लामा भयावह देखिएसँगै सशस्त्र प्रहरीले यसको रोकथाम तथा न्यूनीकरणका लागि जिल्लामा कुकुर ९डग० स्निफिङसहितको अभियान सुरु गरेको छ । सशस्त्र प्रहरी बल नेपालले जिल्लामा लागुऔषधको लागि तालिम प्राप्त ल्यावरोडर जोजो नामको कुकुर र विस्फोटक पदार्थको लागि जुलिएट नामको कुकुर स्थायी रुपमा पठाइसकेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी कवीन्द्र राईले जानकारी दिए ।

 

गत असोज २६ गते झापा ल्याइएको जोजो र जुलिएट कुकुरका लागि चारजना तालिम प्राप्त सशस्त्र प्रहरी खटाइएको छ । दुवै कुकुरलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म काँकडभिट्टामा राखिएको छ । लागु औषध र विस्फोट पदार्थ नियन्त्रणका लागि दैनिक रुपमा काँकडभिट्टा नाकामा डग स्निफिङ गरिरहेको एसपी राईले बताए ।

सशस्त्रले विशेष गरी लागुऔषध नियन्त्रण तथा रोकथामका लागि काँकडभिट्टा बाहेक भद्रपुरसहित अन्य नाकाहरू पनि छड्के डग स्निफिङ गरिरहेको उनको भनाइ छ । सशस्त्रको जोजो नामको कुकुरले सोमबार साँझ ६ बजे मेचीनगर–६ स्थित मेची पुलमा धादिङ खन्याबास गाउँपालिका–५ निवासी २० वर्षीय विनोद तामाङलाई ४३.१५ ग्राम ब्राउन सुगरसहित पक्राउ गर्न सहयोग गरेको छ ।

भारतको पानीटंकी नाकाबाट नेपालतर्फ आउँदै गरेका तामाङले कन्डमभित्र ब्राउन सुगर हाली शरीरभित्र लुकाएर लैजान खोजेका थिए । सोही बेला जोजो नामको कुकुर उनको शरीर सुँघेर ब्राउन सुगर निकालेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका प्रवक्ता तथा डीएसपी दिनेश कुटवालले जानकारी दिए ।

पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा बुझाइसकेको उनले बताए । त्यस्तै सशस्त्रले कुकुरको सहयोगमा गत पुस ६ गते जुत्ता भित्र ब्राउन सुगर ल्याउने जिल्ला लमजुङ सुन्दरनगर नगरपालिका–९ निवासी २९ वर्षीय दीपक गैरेलाई पक्राउ गरेको थियो ।

गैरेलाई मेचीनगर–६ मेची पुलस्थित सीमा नाकाबाट १९.६३० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो । जुत्ताभित्र लुकाएर ल्याएको ब्राउन सुगर कुकुरले सुँघेर पत्ता लगाएपछि उनी पक्राउ परेका थिए । हालसम्म तालिम प्राप्त कुकुरले १०५.०५ ग्राम ब्राउन सुगरसहित ११ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइसकेको सशस्त्रका एसपी राईले बताए ।

‘सशस्त्रले सीमा सुरक्षासँगै अहिले लागुऔषध भित्राउनेमाथि विशेष निगरानी बढाएको छ,’उनले भने,‘लागुऔषधको अवस्था जिल्लामा भयावह छ,सशस्त्रले काँकडभिट्टा, भद्रपुरसहित अन्य नाकाहरूबाट पनि लागुऔषध बरामद गरिरहेको छ ।’

लागुऔषध नियन्त्रणका लागि नेपाल प्रहरीसहित भारतीय एसएसबीसँग पनि सहकार्य गरिरहेको उनको भनाइ छ । यता नेपाल प्रहरीले पनि जिल्लाका विभिन्न स्थानबाट दिनहुँ जसो लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई पक्राउ गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर