Aamsanchar

हेटौंडाले जित्यो प्रकाश दाहाल स्मृति भलिबलको उपाधि

Author Image
बिहिवार, वैशाख २७, २०८१

ललितपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले प्रथम संस्करणको प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

बुधबार भएको फाइनल खेलमा हेटौंडाले मकवानपुरकै थाहा नगरपालिकालाई २१–२५, १७–२५, २५–१६, २५–१५ र १५–४ ले पराजित गर्‍यो।

सुरुवाती २ सेट लगातार गुमाएर पनि उत्कृष्ट पुनरागमन गर्दै हेटौंडाले थाहालाई पाखा लगाएको हो।

विजेता टोली हेटौंडाले ३ लाख तथा उपविजेता टोली थाहाले २ लाख पुरस्कार पाए।

सेमिफाइनलमा पराजित ललितपुरको महांकाल गाउँपालिका र सिन्धुलीको घ्याङलेख गाउँपालिका संयुक्त रूपमा तेस्रो भए । दुवै टोलीले एक-एक लाख रुपैयाँ पुरस्कार पाए।

प्रतियोगितामा थाहा नगरपालिकाका विष्णु क्षेत्री उत्कृष्ट खेलाडी घोषित भए।

उपाधि विजेता हेटौंडाका सुजन चोखालले उत्कृष्ट सेटर, हेटौंडाका राजन दर्लामी मगर उत्कृष्ट लिबरो र महांकाल गाउँपालिकाका जीवन सुनार उत्कृष्ट ब्लकर भए।

यसैगरी उपाधि विजेता हेटौंडाका पुष्प मैनाली उत्कृष्ट प्रशिक्षक घोषित भए। उत्कृष्ट भएका सबैले ५०-५० हजार रुपैयाँ पुरस्कार पाए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरी ज्ञानु र छोरा प्रकाश को स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिता महांकाल गाउँपालिकाका गोटीखेल र मानिखेलका कोर्टमा सञ्चालन भएको थियो।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोग थियो। यसैगरी नेपाल भलिबल संघको प्राविधिक सहयोग थियो । ललितपुर जिल्ला खेलकुद विकास समिति सह-आयोजक रहेको थियो।

प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो। प्रतियोगिता लिग कम नकआउटको आधारमा भएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)