

इलाम – गत वैशाख ५ गतेदेखि सुरु भएको ‘इलाम गोल्डकप’ को उपाधि मछिन्द्र फुटबल क्लब, काठमाडौँले हात पारेको छ । यससँगै मछिन्द्रले नगद १० लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) लाई शून्यका विरुद्ध दुई गोल गर्दै मछिन्द्रले उपाधि जितेको हो । इलामको ठुलो टुँडिखेलमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलको ४७ औँ मिनेटमा मछिन्द्रका सौरभ लिम्बूले पहिलो गोल गर्नुभएको थियो । त्यसको केही मिनेटपछि अर्थात् खेलको ५० औँ मिनेटमा मिलन राईले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गर्नुभयो ।
उता, अघिल्ला दुई संस्करणको विजेता एनआरटीले गोल गर्ने थुप्रै अवसर प्राप्त गरे तापनि सफल हुन सकेन र उपविजेतामा चित्त बुझाउनु पर्यो । एनआरटीले नगद ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

फाइनल खेलको ‘म्यान अफ द म्याच’ मछिन्द्रका प्रदीप बुढाथोकी घोषित हुनुभयो । उहाँले नगद ८ हजार १०० रुपैयाँ प्राप्त गर्नुभयो ।
शनिबार खेल सुरु भएदेखि नै हावाहुरी र पानीले प्रभाव पारे तापनि खेल भने अवरुद्ध भएन ।



