
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर तथा प्रारम्भिक ब्याटर आसिफ शेख र उपकप्तान दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)एकदिवसीय पुरुष ब्याटिङ वरीयताको शीर्ष एक सयमा पर्न सफल भएका छन्।
आईसीसीले बुधबार अध्यावधि गरेको एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष एक सयभित्र आसिफ र दीपेन्द्र परेका हुन्। यसअघि कुनै पनि नेपाली खेलाडी यस विधाको शीर्ष सयमा अटाउन सकेका थिएनन्।
घरेलु मैदानमा आोजना भइरहेको आईसीसी विश्वकप क्रिकेट लिग–टु शृंखलामा गरेको प्रदर्शनका आधारमा आसिफ शेख ९३औं स्थानमा परेका छन्।


यस्तै दीपेन्द्रसिंह ऐरी ९९औं स्थानमा छन्। यसअघिको वरीयतामा आसिफले १३ स्थान सुधार गरेका हुन् भने दीपेन्द्र दुई स्थान माथि उक्लिएका हुन्। नेपाली टोलीका प्रारम्भिक ब्याटर आसिफ शेखले संयुक्त अरब इमिरेट्स ९यूएई० र ओमानसँगको लिग–टुको शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले ओमानसँगको खेलमा ९४ रन बनाएका थिए।
यसैगरी दीपेन्द्रले यूएईसँगको पहिलो खेलमा ७५ रन बनाएका थिए भने ओमानसँगको खेलमा पनि ६० रनको योगदान दिएका थिए। यूएईसँगको दोस्रो खेलमा शतक प्रहार गरेका उनले ओमानसँगको दोस्रो खेलमा ३३ रन बनाएका थिए। यसैगरी एकदिवसीय अलराउन्डर वरीयतामा दीपेन्द्र २८औं स्थानमा छन्। उनी तीन स्थान सुधार गर्दै २८औं स्थानमा उक्लिएका हुन्।
उनको रेटिङ एक सय ५३ अंक छ। घरेलु मैदानमा भएको लिग–टु शृंखलामा गरेको प्रदर्शनका आधारमा उनको वरीयता सुधार भएको हो। ओमान र यूएईसँगको शृंखलाका चार खेलमा उनले एक शतक र दुई अर्धशतक बनाउनुका साथै चार विकेट पनि लिएका थिए।
यसैगरी स्पिनर सन्दीप लामिछाने ७२औं स्थानमा छन्। तीन स्थान खस्किएका करण केसी ८४ र एक स्थान सुधार गरेका ललितनारायण राजवंशी ८५औं स्थानमा छन्। यस्तै १० स्थान सुधार गरेका गुलसन झा एक सय स्थानमा छन्। यसैगरी एकदिवसीय बलिङ वरीयतामा सन्दीप ४२औं स्थानमा छन्। उनी एक स्थान सुधार गर्दै ४२औं स्थानमा उक्लिएका हुन्।


