

फिदिम – फिदिम नगरपालिका पाँचथरमा आयोजित १६ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा पहिलो स्थान सुरक्षित गर्न सफल भएको छ ।
हिलिहाङ गाउँपालिकाको जोर्पोखरी माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगितामा फिदिमले २८ स्वर्ण, १९ रजत र ६ कांस्य पदक जित्दै समग्र उपाधि हात पारेको आयोजकले जनाएको छ ।
पदक तालिकाअनुसार याङवरक गाउँपालिका १८ स्वर्ण, २२ रजत र १२ कांस्य पदकसहित दोस्रो स्थानमा रह्यो। त्यस्तै फाल्गुनन्द गाउँपालिकाले १० स्वर्ण, २ रजत र १२ कांस्य पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ ।

अन्य स्थानीय तहमध्ये हिलिहाङ गाउँपालिकाले ६ स्वर्ण, ४ रजत र ७ कांस्य, फालेलुङ गाउँपालिकाले २ स्वर्ण, ७ रजत र ८ कांस्य, मिक्लाजुङ गाउँपालिकाले ७ स्वर्ण, ५ रजत र ६ कांस्य पदक जितेका छन् ।
त्यसैगरी कुम्मायक गाउँपालिकाले २ स्वर्ण, २ रजत र ४ कांस्य पदक प्राप्त गर्दा तुम्बेवा गाउँपालिकाले १ स्वर्ण पदक जितेको आयोजकले जनाएको छ ।
जिल्लाभरका विद्यालयका विद्यार्थीहरूले एथलेटिक्ससहित विभिन्न खेल विधामा प्रतिस्पर्धा गरेको प्रतियोगिताको समापनसँगै अन्तिम पदक तालिका सार्वजनिक गरिएको हो ।



