बिर्तामोड । घरेलु मैदानमा दबाब, दर्शकको साथ र अन्तिम समयमा देखिएको आक्रामक खेल—यी सबैको संयोजनले बुट्टाबारी युनाइटेडलाई एनी चौथो बुट्टाबारी गोल्ड कपको उपाधिसम्म पु¥यायो।
धरानको फेयर फुटबल क्लबविरुद्ध २–१ को संघर्षपूर्ण जित निकाल्दै आयोजक टोलीले ट्रफी आफ्नै मैदानमा राख्न सफल भयो।
बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा भएको फाइनल सुरुआतदेखि नै प्रतिस्पर्धात्मक रह्यो। पहिलो हाफमा दुवै टोलीले अवसर बनाए पनि गोल निस्कन सकेन। खेलको गति तीव्र रहे पनि फिनिसिङ कमजोर हुँदा समर्थकले गोलको पर्खाइ लम्ब्याउनुप¥यो।
तर दोस्रो हाफमा खेलको कथानक नै बदलियो।

बुट्टाबारीका प्रताप राईले ७६औँ मिनेटमा पहिलो गोल गर्दै खेलको ढोका खोले भने ८६औँ मिनेटमा अर्को गोल थप्दै टोलीलाई बलियो अवस्थामा पु¥याए। उनको प्रदर्शनले खेलको निर्णय लगभग तय गरिदियो।
दुई गोलले पछि परेको फेयर एफसीले हार नमान्दै अन्तिम समयसम्म दबाब बनायो। अतिरिक्त समयमा कृष्ण राईले एक गोल फर्काउँदै खेल रोमाञ्चक बनाए पनि बराबरी गर्न भने असफल रह्यो।
उपाधिसँगै बुट्टाबारी युनाइटेडले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित ट्रफी हात पा¥यो। उपविजेता फेयर फुटबल क्लबले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफीमा चित्त बुझायो।
फाइनल खेलको प्लेयर अफ द म्याच बुट्टाबारीका प्रताप राई घोषित भए। उनले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। बुट्टाबारीकै विवेक मगर उत्कृष्ट गोलकिपर बने। उनले नगद १० हजार रुपैयाँ र ट्रफी हात पारे।
त्यस्तै, बुट्टाबारीका करण लिम्बू राइजिङ प्लेयर घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताभर ४ गोल गरेका फेयर एफसीका सौरा राउतले हाइस्कोरर बन्दै नगद १० हजार रुपैयाँसहित ट्रफि पुरस्कार पाए।

बुट्टाबारी युनाइटेडका सनम राई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले नगद १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
समग्र प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका बुट्टाबारीका सनम राई ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए।
विजेता तथा विभिन्न विधागत पुरस्कार विजेतालाई आयोजक समितिका अध्यक्ष प्रविन राई, प्रमुख अतिथि तथा वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, टाइटल स्पोन्सर एनीका सञ्चालक सन्तोष थोप्रा र हरियाली सामुदायिक वनका अध्यक्ष जगतकुमार राईलगायतले पुरस्कार वितरण गरेका थिए।
रोमाञ्चक फाइनलसँगै सम्पन्न प्रतियोगिताले स्थानीय फुटबलप्रति दर्शकको आकर्षण अझै बढाएको आयोजकको विश्वास छ।



