![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/05/New-Project-4.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
उर्लाबारी- मोरङका अधिकांश स्थानमा लामो समयको खडेरीपछि आइतबार पानी परेको छ । पानी परेसँगै किसानको पछुवा मकैबालीलाई राहत भएको छ ।
मोरङका केही स्थानमा बाहेक फागुन यता पानी परेको थिएन । पानी नपर्दा जङ्गल भित्रका पानीका मुहान सुकेका थिए । आइतबार बिहानदेखि जिल्लाका सबै ठाउँमा पानी परेको छ । लामो समय खडेरी पर्दा मोरङको कानेपोखरी क्षेत्रका भलुवा, सुकुना खोलाका मुहान सुकेका थिए ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
स्थानीय सय वर्षीय छविलाल पराजुलीले भन्नुभयो, ‘‘म २०२७ सालमा तेह्रथुमबाट बसाइ सरेर यो ठाउँमा आएको हुँ । ५४ वर्षयता यो ठाउँका चापाकल, पानीका मुहान सुकेको सम्झना थिएन् । जङ्गल नजिकैको गाउँका सबै पैनी भलुवा र सकुनाको पैनीले भरिभराउ हुन्थे । यो वर्ष बालीनाली सुकेर पराल भएको छ । पानीको मुहान मात्र होइन, घरका चापाकल, पानी तान्ने बोरिङसमेत सुकेका छन् ।’’
उता, उर्लाबारी क्षेत्रको बेतनी सिमसारमा समेत पानीको सतह घटेको थियो । लामपाते सिमसारमा कमिला हिँड्न थालेका थिए । पानी परेपछि मुहान रसाउन थाल्ने स्थानीयको भनाइ छ ।
जङ्गलको छेउमा खानेपानी आयोजनाले ठुला ठुला मोटरपम्प राखेर पानी तान्ने गरेकाले सिमसार क्षेत्र सुकेको कानेपोखरी–७ का पदमप्रसाद कोइरालाले बताउनुभयो ।
‘‘सदियौं पुराना पानीका मुहान सुकेका छन् । खडेरीकै कारणले मात्र यस अघि कहिलै नसुकेका पानीका मुहान सुक्नुको प्रमुख कारण खानेपानी आयोजना निर्माण हुनु पनि हो ।’’ कोइरालाले भन्नुभयो । बाह्रै महिना पानी बग्ने कानेपोखरी–७ को बैकुण्ठघाटमा पानीको थोपा छैन । गाउँपालिका र कानेपोखरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले दुई किलोमिटर पाइप बिच्छ्याएर चिता पखाल्ने पानी बैकुण्ठघाटसम्म पुर्याएको छ ।
पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा समेत पानीका मुहानमा असर परेको सडक किरानामा बसोबास गर्नेहरू बताउँछन् । पथरीशनिश्चरे–१० जिरिखिम्तीका लक्ष्मीप्रसाद भट्टराईले भन्नुभयो, ‘‘एकपटक पाइप गाडेपछि नपेलिकन पाइपभरि पानी आइरहन्थ्यो । अहिले पाइपको एकचौथाई मात्र पानी आउँछ ।’’
यता आइतबार राती पानी परेपछि लेटाङको तेलि, मिक्लु खोलामा बाढी आएको छ । डाँस, मोरङ्गी खोलाको मुहान समेत फुटेको छ ।