Aamsanchar

मकैमा फौजी किराको प्रकोप, इलामका किसान चिन्तित

Author Image
मङ्गलवार, जेठ १, २०८१

इलाम-मकैमा फौजी किराको प्रकोप बढ्न थालेपछि इलामका किसान चिन्तित भएका छन् । भर्खर गोड्ने बेला हुँदै गरेको मकैमा किरा लागेपछि किसानलाई समस्या भएको छ ।

जिल्लाको फाकफोकथुम गाउँपालिका, माई नगरपालिका, चुलाचुली गाउँपालिका, रोङ गाउँपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका र माइजोगमाई गाउँपालिकामा फौजी किराको प्रकोप बढेको छ । माङ्सेबुङ, चुलाचुली, फाकफोकथुम गाउँपालिका र माई नगरपालिकालगायत अलि बढी गर्मी हुने क्षेत्रमा लगाइएको मकैमा फौजीले लाग्न थालेको कृषि ज्ञान केन्द्र इलामका कृषिप्रसार अधिकृत जीवन ठाडामगरले बताउनुभयो । रोङ, माइजोगमाई र देउमाइ नगरपालिकामा पनि लगाइएको मकै बालीमा फौजी लागेको जनाइएको छ । इलाम नगरपालिकामा पनि फाटफुट फौजी देखिन थालेको किसानहरूले बताएका छन् ।

फौजीलाई नियन्त्रण गर्नै समस्या भएको फाकफोकथुमका पञ्च योङहाङले जानकारी दिनुभयो । ‘‘फाकफोकथुमको रुपाटार क्षेत्रमा फौजीको प्रकोप निकै छ । यसलाई कसरी नियन्त्रण गर्ने किसानहरू समस्यामै छन् ।,’’ योङहाङले भन्नुभयो, ‘‘यस्तै हो भने मकै फल्ने अवस्था नहोला ।’’

यता फौजीको प्रकोप बढेपछि जिल्लास्थित ज्ञान केन्द्रले किसानलाई जैविक र रासायनिक विषयदीनै प्रयोग गर्न किसानलाई सुझाएको कृषिप्रसार अधिकृत ठाडामगर बताउनुहुन्छ । ‘इनामेक्टिन बेन्जोएड’ नामक विषादी स्प्रे गर्न किसानलाई सल्लाह दिएको मगरले बताउनुभयो । बिहानको समयमा अथवा दिउँसो चार बजेपछि मात्र औषधी छिट्नु उचित हुने मगरको भनाइ छ । जिल्लाका अन्य स्थानहरूमा पनि केही दिन यता कीराको प्रकोप धेरै बढेको छ । ‘‘मकैको गुबोनै खाइसक्यो भने नियन्त्रण गर्न गाहे हुन्छ,’’ मगरले भन्नुभयो, ‘‘खैरो रङ्गको पुतलीले किरा सार्ने गरेको छ । त्यस्तो पुतली बसेपछि लार्भा छोड्छ, पछि त्यो कीराको रूपमा विकास भएको पाइन्छ ।’’ इलाममा करिब ३१ हजार ३९६ हेक्टरमा मकै खेती हुने गरेको ज्ञान केन्द्रको तथ्याङ्क छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर