Aamsanchar

क्यानबाट क्रिकेटर सन्दीप लामिछाने उपरको निलम्बन फुकुवा

Author Image
बुधवार, जेठ २, २०८१

काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेको छ । बुधबार क्यानले लामिछानेको निलम्बन फुकुवा गरेसँगै उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने बाटो खुला गरेको हो ।

यसअघि बुधबार नै उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएको थियो । ‘सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौँ,’ क्यानले निर्णयमा भनेको छ ।

क्यानको निर्णयसँगै सन्दीपले टी–२० विश्वकप खेल्ने बाटो खुलेको छ । आज निलम्बन फुकुवा गरेपछि क्यानले उनलाई विश्वकप खेल्ने टोलीमा समावेश गराउने प्राविधिक पाटोहरु मिलाएर थप निर्णय गर्नेछ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकपमा २० टोलीले सहभागिता जनाउँदै छन् ।

नवौँ विश्वकपका लागि टोली घोषणा गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मे १ तारिखसम्मको समय दिएको थियो । सोही अनुसार, नेपाल क्रिकेट संघ (क्यान) ले पनि १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन् ।

अदालतबाट सफाइ पाएसँगै सन्दीपले आगामी टी–२० विश्वकप खेल्न पाउने सम्भावना कायम छ । सहभागी टोलीहरूले विश्वकपका लागि यसअघि नै आफ्नो टोलीको घोषणा गरिसके पनि उचित कारण देखाएर उक्त टोलीमा हेरफेर गर्न सकिने अवस्था कायमै छ ।

साभार: रातोपाटी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर