Aamsanchar

ओलीको बगैँचामा लटरम्म स्याउ

Author Image
बिहिवार, जेठ ३, २०८१

कैलाली – कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका किसान गोकर्ण ओलीको बगैँचामा लटरम्म स्याउ फलेका छन् ।

चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान ओलीले लटरम्म स्याउ फलाउनुभएको छ । उहाँले फलाउनुभएको (हर्मन ९९) जातको स्याउ ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा लगाउन सकिन्छ ।

२०७८ सालको माघमा ओलीले भारतको हिमाचल प्रदेशको विलासपुरबाट स्याउका बिरुवा ल्याएर रोप्नुभएको हो । उहाँका अनुसार बिरुवा लगाएको दुुई वर्ष पूरा भएको छ, अर्को वर्षदेखि एक बोटबाट आठदेखि १० किलोग्रामसम्म आम्दानी लिन सकिनेछ । पाँच वर्षपछि भने एउटै बोटमा ५० देखि एक सय किलो ग्रामसम्म स्याउ फल्ने गर्दछ ।

स्याउखेतीका लागि अहिलेसम्म ८० लाख रुपैयाँ लागत लागिसकेको ओलीले बताउनुभयो । तराईमा पनि स्याउ फल्ने विषय इन्टरनेटका माध्यमबाट थाहा पाएको उहाँको भनाइ छ ।

किसान ओलीले प्रति बेर्ना तीन सय रुपैयाँका दरले अहिलेसम्म एक हजार आठ सय स्याउका बेर्ना बेचिसकेको बताउनुभयो । उहाँले स्याउसँगै अम्बा र बयर पनि रोप्नुभएको छ ।

ओलीले प्रदेश कृषि निर्देशनालय र कृषि ज्ञान केन्द्र कैलालीबाट १५ लाख रुपैयाँ अनुुदानसमेत पाउनुुभएको छ । शुरुमा तराईमा स्याउ लगाउनेभन्दा छिमेकीले विश्वास नगरे पनि अहिले बगैँचामा फलेको स्याउ हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर