Aamsanchar

झापाको कनकाईमा केपी ‘बा’ सँग बालबालिकाहरूले प्रश्न राख्ने  

Author Image
आइतवार, जेठ ६, २०८१

कनकाई । झापाको कनकाई नगरपालिकालाई बालमैत्री नगर बनाउने अभियान अन्तरगत कनकाई नगरपालिकामा बा सँग बालबालिका  अन्तर संवाद कार्यक्रम आयोजना हुने भएको छ । कनकाई नगरपालिकाको व्यवस्थापन र मुख्य सहयोगमा  झापा जिल्ला बाल सञ्जालको आयोजनामा जेठ ८ गते सुरुंगा स्थित कनकाई उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम आयोजना गर्ने तयारी गरिएको आज होटल डिलाइटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताईएको छ ।

संविधानमा सुनिश्चित भएको बालअधिकार कार्यन्वयनको पक्ष र सामाजिक तथा पारिवारिक अवस्थामा बालबालिकाले भोग्दै आएको समस्याहरूमाथि नीति निर्माणको तहमा रहेका राजनीति नेतृत्व समक्ष प्रश्न गर्ने र नीतिगत रुपमा बालबालिकाको मुद्दालाई सम्बोधन गर्नको लागि राजनीति नेतृत्वको तर्फबाट प्रतिवद्धता र कार्यन्वयन गर्न तर्फ कार्यक्रमले मद्दत पुर्याउने भएकाले कोशी प्रदेशमै पहिलो पटक बासँग बालबालिका कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्था  झापा जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्रले बताए ।

बालबालिकाले उठान गरेका प्रश्नको जवाफ दिन पूर्व प्रधानमन्त्री केपी शर्मा ओली (केपी बा) कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थित हुने बताइएको छ । कार्यक्रममा बाल सञ्जालमा आवद्ध बालबालिकाहरूले केपी बा को दूरदृष्टि वा योजना सुन्ने, झापाका बालबालिकाका प्रतिनिधिहरूको  उपस्थिति रहने,  बालबालिकाहरूले आवाज, अपेक्षा र आवश्यकता बारे केपी बालाई जानकारी गराउने, केपी बा र बालबालिका बीच अनुभव तथा सिकाइ आदन प्रदान हुने, विगत, वर्तमान र भविष्य बारे केपी बा का बिचारहरू सुन्ने कार्यतालिका रहेको सञ्जालका अध्यक्ष मिश्रले आमसंचारलाई बताए ।

कार्यक्रममा श्रव्यदृश्य प्रस्तुति, कनकाई नगरपालिकाको बालमैत्री अभियानबारे जानकारी दिने, बालबालिकाहरूले गायन तथा नृत्यहरू प्रस्तुत गर्ने कनकाई नगरपालिकाका कर्मचारी बालकल्याण अधिकारी उमानाथ ढकालले जानकारी दिए । उनले भने ‘कनकाई नगरपालिका क्षेत्रमा बाल अधिकार हनन भएको जानकारी पाएको खण्डमा सुन्य सहनशीलता अपनाई कठोर बनेर जुनसुकै वर्ग व्यक्तिबाट बाल अधिकार हनन भएको छ । उक्त व्यक्तिलाई कानुनी कारवाहीको लागि नगरपालिकाले कदम चाल्ने छ ।’

कार्यक्रम बा सँग बालबालिकामा आई.वाई डायनामिक इनटरनेशनलले समन्वय गर्ने भएको छ ।

कार्यक्रममा झापा जिल्लाका १५ वटै पालिकाबाट बाल सञ्जालका ३० जना प्रतिनिधि र कनकाई नगरका ६ सय जना बालबालिकाको सहभागिता रहने आयोजक समितिका सदस्य अर्जुन उप्रेतीले बताए ।
पत्रकार भेटघाट कार्यक्रममा जिल्ला समन्वय झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्य रहेको थियो भने कार्यक्रमको सञ्चालन तीर्थ खरेलले गरेका थिए ।

कार्यक्रम सम्पन्न गर्न आयोजकले ५ लाख ३७ हजार बजेट अनुमान गरेको छ। उक्त बजेटका लागि झापाका सबै पालिका र कनकाई नगरपालिका मुख्य सहयोगी दाता बन्ने आयोजकले जनाएको छ ।
कनकाई नगरमा मात्र ४० वटा बाल क्लबहरू रहेको छ । 

केपी ओलीलाई ‘बा’ भनिनुको पृष्ठभूमि

‘केपी ओलीलाई कसैले निर्णय गरेर या निर्देशन दिएर बा भन्न थालिएको होइन’– नेकपाका नेता महेश बस्नेत भन्नुहुन्छ । अर्का नेता गोविन्द थापाको भनाइ छ– ‘झापा जिल्लाका हामी केहीले बा भनेकाले उहाँलाई सबैले बा भनेका होइनन् । एमालेका युवा विद्यार्थीले मात्र नभएर पार्टी बाहिरका तथा राजनीतिमा नलागेका मानिसले समेत बा भन्न थाले । त्यसपछि मात्र ‘बा’ सम्बोधन ब्यापक बन्न थालेको हो ।’

‘बा’ अथवा ‘केपी बा’ सम्बोधनमा प्रचण्ड समूहका नेता माधवकुमार नेपालले भयानक आपत्ति जनाउनुभएको छ । माधवले ‘बा’ सम्बोधनलाई ‘ खराब प्रवृत्ति’ समेत भन्नुभएको छ । तर, ‘केपी बा’ सम्बोधन चलाउने काम प्रकारान्तरले पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालहरूले नै गरिदिनुभएको अनौठो दावी महेश बस्नेत र गोविन्द थापाको छ । 

गोविन्द भन्नुहुन्छ– ‘केपी ओलीलाई बा भनाउने माधव नेपालहरु नै हो । माधवले पार्टी र देशको अभिभावकीय भूमिका निर्वाह गरिदिनुभएको थियो भने शायद उहाँ नै बा सम्बोधन र सम्मानको हकदार बन्नुहुन्थ्यो । जनता, देश र पार्टीको ‘बा’ नबनेर आततायीहरुको ‘बा’ बन्ने बाटोमा लाग्नुभयो । ‘बा’ नबनेर मालिक बन्न खोज्नुभयो । त्यसैले माधव नेपाल ‘बा’ बन्नुभएन । अभिभावकीय भूमिका ओलीले निर्वाह गर्नुभयो, त्यसैले ‘बा’ बन्नुभयो । ‘बा’ सम्मान नपाएको कुण्ठाले विक्षिप्त भएर माधवले ‘बा’ सम्बोधनको विरोध गरिरहनुभएको छ ।’

‘बा’ सम्बोधन फैलनुको सारथी र साक्षी तत्कालीन एमालेको युवासङ्घको नेतृत्व पंक्ति हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)