Aamsanchar

शब्द तस्वीरमा पाँचथरको तिम्बु पोखरी 

Author Image
आइतवार, जेठ २७, २०८१

पाँचथर र ताप्लेजुङ जिल्लाको सिमानामा अवस्थित तिम्बु पोखरी क्षेत्र । धार्मिक तथा पर्यटकीय दृष्टिकोष महत्त्वपूर्ण यस स्थल  पुग्न पाँचथर जिल्ला सदरमुकाम फिदिमबाट करिब १८ कोस टाढा पर्दछ । तिम्बु पोखरी समुन्द्री सतह देखि करिब ४,२३८ मिटरको उचाइमा छ । यो पोखरीको लम्बाइ करिब ४०० मिटर र चौडाइ २०० मिटर भएपनि गहिराइ भने पत्ता लागेको छैन । पाँचथर र ताप्लेजुङ जिल्लाको सिमानामा पर्ने भएको हुँदा दुबै तर्फबाट आफ्नो सम्पदाको रूपमा तिम्बु पोखरीलाई लिएको पाइन्छ ।

वर्षभरिमा आठ महिना सम्म हिँउले ढाक्ने भएपनि जेष्ठ देखि भाद्र महिना सम्म मात्र हिउँ पग्लने गर्छ । यस पोखरीका आसपासमा शिव पोखरी, सूर्य कुण्ड, दूध कुण्ड, हाँस पोखरी, मयुरपोखरी, नीरपोखरी लगायतका अठारवटा पोखरी छन । यसै क्षेत्रमा कुम्भकर्ण हिमालको वरिपरि १७८ कुण्डहरू माला जस्तै आकारमा रहेकाले यस स्थानलाई पूर्वको गोसाइँकुण्ड भन्ने गरिएको पाइन्छ ।

यहाँको प्राकृतिक सुन्दरता र दृष्यहरू पशु, पंक्षी, रंगीचंगी फूलहरू अनि अनेकौँ जडीबुटी देख्दा यहाँ पुग्ने जो कोहीलाई पनि स्वर्गमा पुगेको आभास हुन्छ । तिम्बु पोखरीबाट निस्केको मूलपानीबाट विशाल इवा नदीको उत्पति भएको छ । यो पोखरीको विशेषता के छ भने यहाँको पानी अतिनै सङ्गलो र पारदर्शी छ त्यसैले त्यति गहिरो पोखरीमा तीर्थयात्रीहरूले चढाएको पैसा र अन्य वस्तुहरू पोखरीका पीधमा विस्कुन सुकाए झैं स्पष्ट देखिन्छन् । पोखरीको सतहमा छिनछिनमा कुहिरोले ढाक्ने र उघ्रने क्रम दोहरी रहन्छ ।

तिम्बु पोखरी रहेको स्थानबाट खुल्ला मौसम भएका बेला कञ्चनजङ्घा र कुम्भकर्ण लगायत विभिन्न हिमश्रृखंलाहरू मनोहक दृष्य, तराइका विशाल फाँटहरू, अग्ला होचा पहाड र भारतको सिक्किम, दार्जिलिङ सहरहरूको पनि दृश्यावलोकन समेत गर्न सकिन्छ । पोखरीको छेउछाउमा फुल्ने क्यान्जो नामक फूलजातको जडिबुटीले त्यहाँको वातावरण सुगन्धित र मनमोहक बनाउने गरेको छ ।
फोटो : अमिर राई/आमसंचार

   

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालको गोक्यो लेक
बिहिवार, जेठ १०, २०८१
रमणीय अर्घाखाँची
शुक्रवार, चैत २३, २०८०