Aamsanchar

ट्वान्टी–२० विश्वकप : पाकिस्तानविरुद्ध ६ रनको जित निकाल्दै भारत समूह ´ए`को शीर्ष स्थानमा

Author Image
आइतवार, जेठ २७, २०८१

काठमाडौं – चिर–प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध ६ रनको जित निकाल्दै भारत आईसीसी ट्वान्टी–२० विश्वकपमा समूह ´ए`को शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार न्यूयोर्कमा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १२० रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तनले निर्धारित २० ओभर ब्याटिङ गरे पनि ११३ रनमात्र बनाउन सक्यो ।

पाकिस्तानका कुनै पनि ब्याटर भारतीय बलरसामु खुलेर खेल्न सकेनन् । पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए । यसबाहेक, इमाद वसिमले १५ रन थप्दा कप्तान बाबर आजम, उस्मान खान र फखर जमानले समान १३ रन जोडे ।पाकिस्तानलाई कमजोर योगफलमै रोक्न भारतका जसप्रित बुमराहले तीन विकेट लिए । कसिलो बलिङ गरेका बुमराहले चार ओभरमा १४ रनमात्र खर्चिए । हार्दिक पन्ड्याले दुई विकेट लिँदा अर्शदीप सिंह र अक्षर पटेलले समान एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको भारतले १९ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो । ट्वान्टी–२० विश्वकपको इतिहासमा पाकिस्तानले पहिलोपटक भारतलाई अलआउट गरेको हो ।

भारतका ऋषव पन्तले सर्वाधिक ४२ रन बनाए । उनले ३१ बलमा ६ चौका प्रहार गरे । अक्षर पटेलले २० र कप्तान रोहित शर्माले १३ रन थपे । यसबाहेक, भारतका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका दुई ब्याटर गोल्डेन डक हुँदै पभेलियन फर्किएका थिए । कुनै समय ८९–३ को अवस्थाबाट भारतले थप ३० रन जोड्दा सात विकेट गुमाएको थियो ।

भारतलाई मध्यम योगफलमा रोक्न पाकिस्तानका चार तीव्र गतिका बलरले नौ विकेट लिए । पाकिस्तानका नसिम साह र ह्यारिस रौफले समान तीन विकेट लिए । चार ओभर बलिङ गरेका नसिमले २१ र तीन ओभर बलिङ गरेका रौफले पनि २१ रन नै खर्चिए ।

यसबाहेक, मोहम्मद आमिरले दुई विकेट लिँदा साहिनसाह अफ्रिदीले एक विकेट हात पारे ।

आजको जितसँगै भारत चार अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । अंकविहीन पाकिस्तान चौँथो स्थानमा छ । लगातार दोस्रो खेलमा पराजित भएको पाकिस्तानको शीर्ष–८ को सम्भावना कमजोर बनेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर