Aamsanchar

फिफा विश्वकप : साउदी अरबमा अन्तिम खेल खेल्न अभ्यास गर्दै नेपाली टोली

Author Image
सोमवार, जेठ २८, २०८१

रसाउदी अरब– फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरण खेल्न साउदी अरबमा रहेको नेपाली टोलीले यमनविरुद्धको खेलका लागि अभ्यास गरिरहेको छ।

साउदी अरेबियन फुटबल फेडेरेसनले उपलब्ध गराएको दमामस्थित महोम्मद विन फाहद रिजर्भ स्पोर्टस सेन्टरमा साँझ ८ देखि १० सम्म नेपाली टोलीले अभ्यास गरिरहेको छ।

यही मैदानमा यमनी टोलीले साँझ ६ देखि ८ बजेसम्म अभ्यास गरिरहेको छ। नेपालले छनोट अन्तर्गतको यमनविरुद्धको एउटा मात्र म्याच खेल्न बाँकी छ।

समूह एचमा यूएई, बहराइन र यमनसँगै रहेको नेपालका लागि यो खेल जिते पनि तेस्रो चरणमा पुग्ने सम्भावना छैन। एसियन कप फुटबलका लागि यो खेलले खासै अर्थ राख्दैन।

नेपालले जेठ २९ गते मंगलबार राति पौने १० बजे यमनसँग खेल्नेछ। खेल साउदी अरेबियाको दम्माम स्थित प्रिन्स महोम्मद विन फहद रंगशालामा हुनेछ ।

मंगलबार नेपाल र यमन दुवैका लागि यो खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। नेपाल पनि पहिलो अंक जोड्दै गोलको खडेरी टार्ने ध्याउन्नमा हुनेछ भने यमन पनि थप अंक बटुलेर सुखद अन्त्य गर्न चाहन्छ।

यो खेल यमनमा खेल्नुपर्ने भए पनि न्युट्रल भेन्यूका रूपमा साउदी अरबमा खेल्न लागेको हो। नेपालले यमनसँग यसअघि दशरथ रंगशालामा खेलिसकेको छ।
नेपाली घरेलु मैदानमा भएको खेलमा नेपाल यमनसँग २(० ले हारेको थियो।

नेपाली कप्तान किरण चेम्जोङले यमन विरुद्धको खेलबाट आफ्नो करियरकै १००औँ खेल पूरा गर्दैछन्।

गोलकिपर समेत रहेका किरण चेम्जोङ यमनविरुद्धको खेल जित या बराबरीका लागि हुने बताउँछन्। ‘हामी हार्नका लागि खेल्ने छैनौँ’ उनले भने ‘हामीले जसरीले यो छनोट यात्राको सुखद अन्त्य गर्नुपर्छ। त्यसका लागि जित या बराबरीको विकल्प छैन।’

नेपालले विश्वकप छनोटको दोस्रो चरणमा खेलेका ५ वटा म्याचमा कुनैमा जितेको छैन भने एक गोल पनि गर्न सकेको छैन। नेपालले युएई विरुद्ध भएका दुवै खेल समान ४-० ले हारेको छ ।

बहराइनसँग उसकै भूमिमा दुवै खेल खेलेर दुवैको नतिजा नेपालले सुम्पिएको छ। ४ टोली रहेको यो एच समूहबाट शीर्ष स्थानमा रहेर युएई र बहराइन एसियाली छनोटको तेस्रो चरणमा पुगीसकेका छन् ।

समूहका ५ वटा खेल जितेर १५ अंकसहित यूएई शीर्षस्थानमा रहँदा ३ जित, १ बराबरी र एक हारसहित १० अंक बटुलेको बहराइन दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको यमनले पाँच खेलमा १ जित, १ बराबरी र ३ हारसँगै ४ अंक बटुल्दा पुछारको नेपालले खाता खोल्न सकेको छैन। पछिल्ला ५ खेलमा १८ गोल खाएर एक गोल पनि गर्न सकेको छैन।

नेपाली टोलीका प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनेस युएईविरुद्धको गल्ती नदोहोर्‍याई त्योभन्दा राम्रो खेल यमन विरुद्ध पस्किने बताउँछन्। हामीमाझ दबाब छ, गोल नगरेको र एउटा पनि प्वाइन्ट लिन नसकेको’, उनले भने, ‘आशा छ हामीले त्यो अवसर सदुपयोग गर्नेछौँ।’

उनले युएई जस्तो टोली विरुद्ध बिहीबार नेपाली खेलाडीले तुलनात्मक रूपमा पहिलेभन्दा राम्रो खेलेको प्रतिक्रिया दिए। उनले गोल गर्ने २ वटा अवसर सदुपयोग गर्न नसक्नु दुर्भाग्य भएको बताए। ‘केटाहरूले आफ्नो खेलमा सुधार गरे’, उनले भने, पर्याप्त तयारी, देशमा राष्ट्रिय लिग नहुनुले पनि यूएईका खेलाडीभन्दा नेपाली खेलाडी ‘फिजीकल्ली’ कमजोर देखिए।

नेपाली टिमसँगको सम्झौता सकिनै लागेका इटालियन प्रशिक्षक भिन्सेन्जो नेपालमा लिग नहुनु र खेलाडी टिममा परिवर्तन भइरहनुले नै नतिजा राम्रो नआएको बताउँछन्। ‘ न लिग भइरहेको छ। न त स्वदेशमै खेलाडी टिकेर बसिरहेका छन् , उनले भनेर्, यसरी नै टिम सुधार्न जति मेहेनत गरे पनि सम्भव भएको छैन।

नेपाली टोलीका अनुभवी खेलाडी भरत खवास एउटै सेटका खेलाडीले लामो समय खेल्न पाए, त्यसबाट नतिजा पनि राम्रो आउने बताए। ‘कम्तीमा २ वर्षसम्म एउटै सेट खेलाडी टिममा भइरहे नतिजा पनि राम्रो आउँथ्यो’, उनले भने, ‘यहाँ त एउटा म्याच सकिएर अर्को म्याचमा पुग्दा नै कति खेलाडी परिवर्तन भइरहन्छ जसले गर्दा टिमको सेट मिल्दैन जसको प्रभाव नतिजामा पर्छ।’

नेपालले प्रारम्भिक चरणमा लाओसलाई दुई लेगको खेलमा समग्रमा २-१ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो। क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा सन् २०२६ मा विश्वकप आयोजना गर्दैछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर