Aamsanchar

म नेपाली टिमको समर्थक हुँ : दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर डेल स्टेन

Author Image
आइतवार, असार २, २०८१

काठमाण्डौ – दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर डेल स्टेनले आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र दक्षिण अफ्रिकाबीचको खेललाई प्रतियोगिताको अहिलेसम्मकै उत्कृष्ट खेल भनेका छन् ।

खेल सकिएपछि प्रतिक्रिया दिँदै डेल स्टेनले आफूले नेपालले जितेको देख्न चाहेको पनि बताएका छन् । आईसीसीले साझा गरेको भिडियोमा स्टेनले भनेका छन्, ‘यो हेर्नलायक खेल थियो । मलाई लाग्छ, यो यस प्रतियोगिताको अहिलेसम्मकै उत्कृष्ट खेल थियो । म दक्षिण अफ्रिकी खेलाडी भए पनि अन्डरडग (जसबाट कुनै आशा गर्न सकिँदैन) टिमको समर्थक हुँ । म नेपालको जीत चाहिरहेको थिएँ ।’

डेल स्टेनले स्टेडियममा मानिसहरू रोइरहेको देखेको र यो खेलले उनीहरूका लागि कति अर्थ राख्थ्यो भन्ने महसुस गरेको बताए । उनले भने, ‘यो खेल २ सय रनको खेल थिएन । यो खेल यस्तै हो । पूरै प्रतियोगिताभरि यसको चर्चा हुनेछ । यदि नेपालले जितेको भए उत्कृष्ट हुन्थ्यो । नेपाल जीतको हकदार थियो ।’

हिजो बिहान किङ्ग्सटाउनमा भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले हार्दै इतिहास रच्नबाट चुकेको थियो । दक्षिण अफ्रिकालाई १ सय १५ रनमा रोकेको नेपालले जवाफी ब्याटिङमा ७ विकेट गुमाएर १ सय १४ रनमात्र बनाउन सक्यो । यो हारसँगै नेपाल सुपर–८ मा पुग्ने सम्भावना सकिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर