Aamsanchar

एसइई नतिजा अबको एक साताभित्र, धेरै फेल हुने अनुमान

Author Image
आइतवार, असार ९, २०८१

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा अबको एक साताभित्र प्रकाशित गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले अहिले यसका लागि तयारी भइरहेको जनाएको छ।

यसअघि नै बोर्डले असार दोस्रो साताभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य लिएको थियो। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उप-नियन्त्रक भक्त गोदारले अबको एक साताभित्र नतिजा प्रकाशन गरिने जानकारी दिए।

उनले भने, ‘एक साताभित्र नतिजा प्रकाशन गर्नेगरि तयारी गरेका छौँ, केही समस्या नभए एक साताभित्र नतिजा प्रकाशन हुन्छ।’

परीक्षा बोर्डले जेठ २३ नै नतिजाको जानकारी गराउन इच्छुक संघसंस्थालाई निवेदन पेश गर्न आह्वान गरिसकेको छ। बोर्डका अनुसार एसएमएस,आइभिआर(टेलिफोन) र वेबसाइट सेवाको माध्यमबाट एसइई नतिजा जानकारी दिनुपर्ने छ।

एसएमएसबाट प्रकाशनका लागि एकमुष्ट ४० हजार र एसएमएसबाट प्रकाशनका लागि एकमुष्ट ४० हजार, वेबसाइटबाट प्रकाशन गर्न २० हजार‚ एमएस र वेबसाइट सेवाका लागि ६० हजार र एसएमएस, आइभिआर र वेबसाइटबाट सेवाको लागि १ लाख रुपैयाँ तोकेको छ।

२०८० सालको एसइई परीक्षा गत चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको थियो। बोर्डका अनुसार परीक्षामा सहभागी हुन ५ लाख ४ हजार विद्यार्थीले फाराम भरे पनि ४ लाख ६७ हजारले मात्रै परीक्षा दिए। परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित थिए। ​प्रवेशपत्र लिएकामध्ये पनि ८ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका थिए।

परीक्षाका लागि देशभरि २ हजार ५७ वटा परीक्षा केन्द्र तोकिएका थिए। जापानमा एउटा परीक्षा केन्द्र तोकियो। गत वर्षको एसइई परीक्षामा पनि जापानबाट १४ परीक्षार्थी एसइईमा सहभागी भएका थिए।

एसइईमा ‘नन ग्रेडेड’ लागू, धेरै फेल हुने अनुमान

सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका जारी गरेको झण्डै ३ वर्षपछि बल्ल एसइईमा ‘नन ग्रेडेड’ गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउँदै छ। बोर्डले ०८० सालको एसइईमा ३५ प्रतिशतभन्दा कम ल्याए नन ग्रेडेड अर्थात् विद्यार्थीहरू फेल हुने निर्णय गरिसकेको छ। परीक्षा बोर्डले २०७८ सालअघि ९ वटा तहमा विद्यार्थीको ग्रेडिङ गर्थ्यो।

नयाँ लेटर ग्रेडिङ निर्देशिका लागू भएकोमा लेटर ग्रेडिङ निर्देशिका २०७८ मा ७ वटा तहमा मात्रै विद्यार्थीको ग्रेडिङ गरिने भनिएको थियो। विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउनेको नतिजामा अवर्गीकृत (नन ग्रेडेड)लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिकामा गरिएको थियो तर यो लागू भने भएन।

अघिल्लो वर्षमा पनि यसबारे अन्योल थियो। बोर्डले अन्तिममा एसइईको नतिजा सार्वजनिक गर्ने वेला कोभिडको दोस्रो लहरका कारण पठनपाठन नियमित नभएको र वैकल्पिक सिकाइ प्रणाली पनि प्रभावकारी नभएकाले निर्देशिका लागू गर्दा धेरै विद्यार्थी फेल हुने अवस्था देखिएपछि ‘नन ग्रेडेड’ लागू नगर्ने निर्णय गरेको जनाएको थियो। तर अबदेखि एसइईमा कम्तीमा ३५ प्रतिशत ल्याउनुपर्ने र कम ल्याएमा नन ग्रेडेड हुनेछ।

बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार पास हुन सबै विषयमा ३५ प्रतिशतभन्दा बढी अंक ल्याउनुपर्नेछ। ३५ प्रतिशत भनेको १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम् ३५ अंक ल्याउनुपर्नेछ। नल्याए फेल हुने बोर्डले बताएको छ।

त्यसैले नयाँ निर्देशिका लागू भएसँगै धेरै विद्यार्थीहरू फेल हुने अनुमान गरिएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उप-नियन्त्रक गोदारले पनि गत वर्ष र यो वर्षमा नतिजामा धेरै फरक पाइने बताउँछन्।

उनले भने, ‘नयाँ लेटरग्रेडिङ लागू भएपछि गत वर्षजस्तो नतिजा हुँदैन, त्यसैले फेल हुनेहरूको संख्या केही बढ्ला भन्ने अनुमान चाहीँ छ तर धेरै मात्रामा फेला नहोलान्, अब नतिजा आएपछि मात्रै सबै कुरा थाहा हुन्छ।’

निर्देशिकाअनुसार मूल प्रमाणपत्र प्राप्त गर्न नसकेका विद्यार्थी ३ पटकसम्म २ विषयमा ग्रेड वृद्धि परीक्षामा संलग्न हुन पाउने छन्। ग्रेड वृद्धि परीक्षामा संलग्न हुने तथा आन्तरिक मूल्यांकनमा सहभागी भई बाह्य मूल्यांकनमा संलग्न हुन नसकेका विद्यार्थीको हकमा आन्तरिक तथा प्रयोगात्मक मूल्यांकनको अंक ३ वर्षसम्म कायम रहने व्यवस्था गरिएको छ।

प्रणालीमा के कति ?

विद्यालय शिक्षा (कक्षा १–१२) मा लेटर ग्रेडिङ लागू गर्न विभिन्न ग्रेड निर्धारण गरिएको छ। ९० र सोभन्दा माथि ४.० सर्वोत्तम, ८० र सोभन्दा माथि ९० भन्दा कम प्रतिशत ३.६ अत्युत्तम, ७० र सोभन्दा माथि ८० भन्दा कम ३.२ उत्कृष्ट ग्रेड निर्धारण गरिएको छ।

६० र सोभन्दा माथि ७० भन्दा कम २.८ उत्तम, ५० र सोभन्दा माथि ६० भन्दा कम २.४ सन्तोषजनक, ४० र सोभन्दा माथि ५० भन्दा कम २.० ग्राह्य, ३५ र सोभन्दा माथि ४० भन्दा कम प्रतिशत १।६ आधारभूत र ३५ भन्दा कम अवर्गीकृतमा ग्रेड निर्धारण गरिएको छ।

लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार कक्षा ८, कक्षा १० र कक्षा १२ मा सबै विषयमा न्यूनतम ग्रेड पूरा गरेपछि मात्र सम्बन्धित निकायले मूल प्रमाणपत्र उपलब्ध गराउनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)