Aamsanchar

मकै र कोदोबाली पशुपक्षीले सखाप पारेपछि कटारीका किसान केराखेतीमा

Author Image
मङ्गलवार, असार ११, २०८१

उदयपुर – कटारी नगरपालिका-८ का किसानलाई दुम्सी, सुगा र बाँदरबाट खेती जोगाउन समस्या भएपछि उनीहरू वैकल्पिक खेतीमा आकर्षित भएका छन्। मकै र कोदोबाली पशुपक्षीले सखाप पारेपछि उनीहरू केराखेतीमा लागेका हुन्।

केराखेतीबाट आम्दानी हुन थालेपछि आफूहरू व्यावसायिक रूपमै खेती गर्न थालेको किसान लाखबहादुर राई बताए। ‘चार सय केराको बोट लगाएको छु, यसबाट आम्दानी लिन थालको छु’, उनले भने, ‘गत वर्ष पनि करिब एक लाख रुपैयाँको केरा बेचेँ। यो वर्ष झनै खेती बढाएको छु।’

भोटाङ्गे, मर्चे, जहाजी जातका केराखेती गरिरहेका किसानको मुख्यबजार पहाडी जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ बनेको छ। ‘पहाडी जिल्लाका व्यापारी घरमै केरा लिन आउँछन् त्यसैले बजार लैजाने झञ्झट पनि हटेको छ’, कटारी-८ ढापटारका किसान रत्नबहादुर विश्वकर्माले भने, ‘फलाएपछि भयो, व्यापारीले बारीबाट आफैँ केरा उठाउँछन्।’

किसान साङ्दोर्जे तामाङले मकै सखाप पार्ने दुम्सी, सुगा चराबाट आजित हुननपरेको बताए। स्थानीय किसानले थोरैमा प्रतिघर बर्सेनी ५० हजारदेखि दुई लाखसम्म केराबाटै आम्दानी लिने गरेका जनाइएको छ। पाखो झाडी सफा गरेर केराखेती शुरु गरेका किसानले यसैलाई पहिलो नगदे बालीका रूपमा मन पराउन थालेको कटारी-८ वडाध्यक्ष नवीन्द्र तामाङले बताए।

नौ रोपनी जग्गामा केराखेती गरिरहेका ढापटारकै मोहन कोइरालाले व्यापारीले बारीमै प्रतिखापा ५० रुपैयाँले लैजाने गर्दा आम्दानी राम्रो भएको बताए।
अझै गाउँगाउँसम्म जाने बाटो राम्रो छैन, त्यसैले मूलबाटोसम्म लैजाने बिचौलियाले यहीँको यहीँ ८० रुपैयाँमा बेच्ने गरेका छन्’, उनले भने।

वडाध्यक्ष तामाङका अनुसार वडाका हलेदे, मरुवाखानी, केराबारी, पटना, कवासे, गेरु, सिक्रे, ढापटार, वड्मी, माटे, खलङ्गेका गरी ४५० हाराहारीका किसानले केराखेती गर्दै आएका छन्। केराखेती फस्टाएपछि कृषि ज्ञान केन्द्रले पनि खेती प्रणालीसम्बन्धी तालिम किसानलाई दिइसकेको छ।

तालिम लिएपछि झनै केराखेतीमा हौसिएका किसानले वडालाई केरा पकेट क्षेत्र बनाउन माग गरेका छन्। परम्परागत अन्नखेतीभन्दा केराबाट तेब्बर आम्दानी हुने गरेको किसान बताउँछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर