Aamsanchar

कञ्चनजङ्घाको उत्तरी आधारशिविर हुँदै दक्षिणी आधारशिविरको चक्रीय पदमार्ग (संम्क्षिप्त जानकारी )

Author Image
शुक्रवार, असार १४, २०८१

विश्वको तेस्रो अग्लो हिमाल (८,५८६) मिटर कञ्चनजंगा पुग्न पाए हुन्थ्यो भन्नेहरू विश्वमा करोडौं मानिसहरू होलान्,  कञ्चनजङ्घालाई नजिकैबाट निहाल्न पाए हुन्थ्यो भन्ने लाखौं नेपालीहरू होलान्, कञ्चनजंगा पुग्ने देशी विदेशीहरू मध्ये हजारौं व्यक्तिहरू कञ्चनजङ्गाको समीपमा पुगिसकेका छन् ।

कञ्चनजंगा हिमालको उचाई, सुन्दरता, निर्मलताको वणन गरेर साध्य छैन, कञ्चनजङ्गाको बारेमा मानसपटलमै राखेर हेर्न, बुझ्न र मनन गर्न स्वयम् व्यक्तिले आफ्ना पाइला अगाडि बढाउनुनै पर्छ ।
विगतका वर्षहरूमा कञ्चनजंगा क्षेत्रमा पुग्नको लागि न गुगल नक्सा न बाटो न सुविधा केही थिएन, तरपनि हजारौँले कञ्चनजंगा क्षेत्रमा पाइला टेकिसकेका छन् । चुचुरोमा पुग्ने सौभाग्य भने थोरैले मात्र प्राप्त गरिसकेका छन् । तर अब भने कञ्चनजंगा आधार शिविर सम्म पुग्न धेरै सहज भई सकेको छ ।

बाटो लगायत पर्यटकका लागि चाइने श्रोत साधन, खाना र आवासको प्रबन्ध उचित भएपछि कञ्चनजंगा पदमार्गका लागि जाने पर्यटकहरूको संख्या पछिल्लो वर्षयता ह्वात्तै बढेको छ । कञ्चनजंगा पदमार्ग, नौलो संसारको अनुभूति गर्ने एक गन्तव्य हो भन्न कुनै हिचकिचाहट हुँदैन ।

के तपाई पनि धर्तीको स्वर्ग कञ्चनजंगा क्षेत्र पैदल यात्रा गर्ने सोचमा हुनुहुन्छ भने तपाई पर्यटकका लागि कञ्चनजङ्घा हिमाल क्षेत्र पुग्ने पदमार्गको बारेमा संक्षिप्‍त जानकारी ।
कञ्चनजंगा पश्चिममा तमोर नदी, उत्तरमा ल्होनाक चु र जोङ्सोङ् ला र पूर्वमा टिस्टा नदीद्वारा कञ्चनजङ्घा हिमले घेरिएको छ । यो भारत र नेपालको सिमानामा अवस्थित छ । यसका पाँच चुचुरा मध्ये तीन वटा मुख्य, मध्य र दक्षिणमा सिधा सिमानामा पर्दछन् । यस हिमाल नेपालको ताप्लेजुङ जिल्लामा पर्दछ । यस हिमालको प्राचीन तथा मौलिक रैथाने नाम सेसेलुङ चन्जनलुङ भनिन्छ । उक्त प्राचीन नामलाई अप्रसङ्ग गराई कञ्चनजङ्घा बनाइएको पाइन्छ ।

कञ्चनजङ्घाको उत्तरी आधारशिविर हुँदै दक्षिणी आधारशिविरको चक्रीय पदमार्ग 
झापाबाट ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार हुँदै दुई दिनमा सेकाथुम सम्म सवारी साधनमा यात्रा गर्न सकिन्छ । तमोर खोलाको किनारै किनार यात्रा गरेपछि सेकाथुम भन्ने ठाउँ पुगिन्छ । त्यहाँबाट पैदल यात्रा सुरु गर्नुपर्ने हुन्छ ।  सेकाथुम नजिकैबाट तमोर खोला छोडेर घुन्सा खोलाको वारि र पारी हुँदै यात्रा अघि बढाउनु पर्ने हुन्छ । सेकाथुमबाट इटहरी, जौबारी, लामाटार, फेदी हुँदै आम्जिलेसमा तेस्रो दिनको यात्रा टुंगिन्छ ।  चौथो दिन थाङ्याममा खाना खाएर वासको लागि ग्याब्ला पुुग्न सकिन्छ, अनि अर्को दिन फलेमामा खाना खाएर घुन्सा पुगेर बास बस्न सकिन्छ । घुन्सा उत्तरी कञ्चनजङ्घा आधारशिविर पुग्न अगाडिको अन्तिम मानव बस्ती हो ।  यहाँ पुरानो गुम्बा पनि रहेको छ । प्रहरी चौकी, स्वास्थ्यचौकी, नेपाल टेलिकमको मोबाइल सेवा, विद्युत सेवा यहाँ पाउन सकिन्छ ।

त्यसपछि अर्कोदिन दिन घुन्साबाट हजारे गुफा हुँदै खम्बाछेन पुग्न सकिन्छ । खम्बाछेनबाट कुम्भकर्ण आधारशिविर जान पनि सकिन्छ । खम्बाछेनबाट कुम्भकर्ण आधारशिविर नगई सिधै उत्तरी कञ्चनजङ्घा आधारशिविर तर्फ लाग्न पनि सकिन्छ । खम्बाछेनबाट लोनक पुग्नु पर्ने हुन्छ अनि भोलिपल्ट लोनकबाट  बिहानै पाङपेमा (उत्तरी कन्चनजङ्घा आधारशिविर) ५१४३ मिटर उचाइबाट कन्चनजङ्घाको चुचुरो (८५८६ मिटर), यालुङकाङ, नेपाल चुचुरो, रामथाङ, किरात चुली लगायतका हिम शृङ्खलाहरु नजिकै देख्न सकिन्छ ।

पाङपेमा (उत्तरी कन्चनजङ्घा आधारशिविर)  बाट फर्केर फेरि लोनकको बसाई अनि अर्को दिन घुन्सा फर्कन सकिन्छ अनि घुन्साबाट आएको बाटो छोडेर दक्षिणी आधारशिविरको बाटो लाग्नुपर्छ,सेलेले पास हुँदै चेराम निस्कने, घुन्साबाट सेलेले क्याम्पमा बास बस्ने अनि अर्को दिन सेलेले पास मिर्गेला पास अनि सिनेलेप्चा पास हुँदै चेराममा बास बस्नुपर्ने हुन्छ । सेलेले पास नपुग्दै कुम्भकर्णको चुचुरोहरु देख्न सकिन्छ र अर्को दिन चेरामबाट रामजेर हुँदै कन्चनजङ्घाको दक्षिणी आधारशिविर (ओक्ताङ) ४७५० मिटर पुगेर फर्कन सकिन्छ । कञ्चनजङ्घाको दक्षिणी आधारशिविरबाट कञ्चनजङ्घाको मुख्य चुचुरो  यालुङकाङ, कञ्चनजङ्घा सेन्टर्ल, कञ्चनजङ्घा साउथ,तालुङ, काब्रु,राथोङ लगायतका हिम शृङ्खलाहरु देख्न सकिन्छ अनि अर्को दिन चेरामबाट तोरोन्देन हुँदै झोरेनी हुँदै याम्फुदिन निस्कन सकिन्छ भने अर्को बाटोबाट रानीपुल पनि निस्कन सकिन्छ वा लासेको पहिरो हुँदै भोटेगाउँ (याम्फुदिन) पनि निस्कन सकिन्छ अनि याम्फुदिनबाट गाडीमा अर्को दिन झापा पुग्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर