Aamsanchar

सुङनामका मगर नौमती जोगाउँदै

Author Image
मङ्गलवार, साउन ८, २०८१

तेह्रथुम-तेह्रथुमको लालीगुराँस नगरपालिका–७, सुङनामका मगर समुदायले पन्चैबाजा बजाउने कला सिक्दै छन् । जातीय संस्कार र कर्मकाण्डमा पन्चैबाजा बजाउनेको अभाव हुँदै गएपछि मगर समुदाय आफैँले सो कला सिकेका हुन् ।

स्थानीय वीरबहादुर मगरका अनुसार नौमती बाजा बजाउने कला लोप हुँदै गएका कारण विवाह, व्रतबन्धलगायतका कार्य गर्दा बाजाको धुन सुनिन छाडिएको छ । बाजा नहुँदा संस्कार, संस्कृति र पर्व त्यति रमाइलो पनि नहुने अवस्था छ । त्यसैले नौमती बाजासम्बन्धी तालिम सञ्चालन गरिएको हो ।

उहाँका अनुसार अहिले १०÷१२ जनाले बाजा बजाउन सिकिरहेका छन् । नौमतीमा दुई दमाहा, दुई ट्याम्को, दुई सनाई, एक झ्याली र दुई नरसिङ्गा पर्दछन् । यसैलाई मिलाएर १०÷११ जनाको समूहले बजाउने बाजा अहिले फाट्टफुट्ट मात्रामा देखिन्छ । बाजा बजाउने बुढापाकाको अनुभवमा पहिला विवाह बास बस्ने गरी हुने र बाजासमेत बजाउने काम हुने गथ्र्यो । अहिले एकै दिन मात्र विवाह हुने चलन आएको छ ।

पहिला जस्तो गरी रमाइलो गर्ने र बाजा बजाउने चलन अन्त्य हुन पुगेको छ । गाउँकैले सिप सिकेपछि विवाहलगायतका शुभकार्यमा टाढा टाढाबाट बाजा बजाउने ल्याउनुपर्ने बाध्यताको अन्त्य हुने स्थानीय रणबहादुर मगर बताउनुहुन्छ । फेदाप गाउँपालिका–२, ओयाक्जुङका देउमान नेपालीले बाजा बजाउनेलाई जातीयताको आधारमा गरिने व्यवहार र बाजा बजाएर मात्रै जीविकोपार्जन गर्न समस्या हुन थालेको साथै नयाँ पुस्ताले बाजा बजाउने काम गर्न नखोजेपछि लोप हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “युवा विदेश पलायन भए, बुढापाका सकिँदै गए ।

कसले धान्ने त परम्परा ? नौमती र पन्चै बाजाको तालमा छम छम नाचिने बाजा अहिलेका विभिन्न गीत÷सङ्गीतले विस्थापित गरिरहेको देउमानको भनाइ छ । उहाँले बाजा बजाउन जान्नेहरू फाट्टफुट्ट पाइए पनि बाजा बनाउन जान्ने त शून्य जस्तै भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर