आजको दिन रजस्वला हुन शुरु भइसकेका महिलाहरूले रजस्वला हुँदा आफूबाट केही गल्ती या अमर्यादित क्रियाकलाप भएको भए ती कुराहरूको शुद्धाशुद्धि कालागि पूजा अर्चना गर्ने दिन हो । मानव सृष्टि नारीहरूविना सम्भव छैन र हामीले रजस्वलालाई जत्तिकै लुकाएर अनि छुवाछुत उन्मुख सोचले हेरे पनि सृष्टिको प्रथम र पुण्य गुणनै नारीहरूको रजस्वला हो । रजस्वला नारीहरूको गर्भाधान गर्न सक्ने क्षमताको प्रतीक अनि उनीहरूमा हुने एउटा नितान्त प्राकृतिक प्रक्रिया हो ।

ऋषि पञ्चमीको इतिहास हजारौँ वर्ष पुरानो छ र त्यतिकै पुरानो छ वैदिक सनातन संस्कारले नारीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारलाई दिएको महत्त्वको इतिहास । नारीलाई रजस्वलाको दिनहरूलाई चार वटा देवीहरू अनुरूप तुलना गर्ने चलन छः प्रथम दिन चण्डालिनी, दोस्रो दिन ब्रह्मधातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुने चलन छ ।

शास्त्रहरूले पनि रजस्वला र महिलाहरूको यस प्राकृतिक गुणप्रति समस्त मानव जगको ध्यानाकर्षण गर्न ऋषि पञ्चमीको परिकल्पना गरेको हुनपर्दछ । गर्भाधान नभएका डिम्बहरू महिलाको गुप्ताङ्ग बाट निष्कासित हुने सरल र सामान्य प्रक्रिया नै रजस्वला हो । यसलाई कुनै दोष भन्दा पनि एउटा विशेष क्षमता र सृष्टिको कारकका रूपमा अभिव्यक्त गर्दै आजका दिनमा रजस्वलालाई नितान्त सामान्य अनि छुवाछुत भन्दा पनि सरसफाइलाई प्राथमिकता दिँदै, महिलाहरूलाई यस अवधिभर आराम र ख्याल गर्ने वातावरण सृजनाको प्रतिबद्धता कायम गर्न जरुरी छ ।

