Aamsanchar

आजको राशिफल : २८ भदौ २०८१, शुक्रवार

Author Image
बिहिवार, भदौ २७, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
शरीर हलुका र मन प्रसन्न रहनेछ, लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । मातापिता र गुरूजनसित अति सुमधुर सम्बन्ध कायम हुनेछ । सुदूर र दुर्गम प्रदेशको भ्रमणको योजना बनाउने दिन हो । असम्भव आशाका पछि लाग्ने हुँदा उल्टै नोक्सानी हुनेछ । आज कालीगढी, मरम्मतसम्भार, काठपात, प्लास्टिक र रबरसम्बन्धी कारोबारमा राम्रो हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
जीवनसाथी वा परिवारका सदस्यसँग ठास्सठुस्स र मतभेद बढ्ने समय हो । आज यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठीक हुन्छ । परीक्षा र प्रतिस्पर्द्धामा सामेल हुने हो भने गोपनीयतामा जोड दिनुहोला, अनि एक्लै वा एकान्तमा बसेर तैयारी गरेको राम्रो हुन्छ । जोखिम र सङ्कटले घेरेको समय छ, धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र महत्त्वाकाङ्क्षालाई थाती राखी संयमताका साथमा आफ्नो कामलाई निरन्तरता दिनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
कार्यक्षेत्रमा सफल हुने दिन हो, तर आफ्नो काममा मात्र एकोहोरिनुभन्दा पनि जीवनसाथी वा परिवारका सदस्यहरूको इच्छा बुझेर काम गर्ने दिन हो । प्रेमभाव प्रकट गर्न अनुकूल समय छ, पार्टनरको इच्छानुसार चल्नुपर्दा कार्यक्षेत्रमा समस्या आउने भएकाले महत्त्वपूर्ण काम बेलैमा गरिहाल्नु ठीक हुनेछ । ठूलाबडालाई खुसी तुल्याएर फाइदा बटुल्ने दिन हो, कार्यक्षेत्रमा प्रशंसा मिल्नुका साथै आम्दानीको मार्गमा पनि बृद्धि गर्न सकिने छ । आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । दैनिक काममा जीवनसाथी र सन्तानको सहयोग जुट्नेछ, तर ससाना कुरामा पनि बहस र विवाद हुने दिन हो, सचेत हुनुपर्छ । पढाइमा परिश्रम गरे अनुसार प्रतिफल पाइनेछ । सिर्जनात्मक क्रियाकलापमा समेत संलग्न भइने छ, साहसी वा पराक्रमी काममा पनि मन जानसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ । ज्ञान वा अनुभव बढाएर व्यक्तित्वलाई अपडेट गर्नु समुचित हुन्छ । कुनै नयाँ कामको थालनी गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला । व्यक्तित्व विकास र उज्ज्वल भविष्यको कामना राखी काम गर्ने समय हो, प्रयास गरेमा इनसर्भिस अध्ययन वा तालिमको अवसर प्राप्त हुनेछ । मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
नैराश्य र एकोहोरोपन बढ्नसक्छ, कार्यक्षेत्रमा सहयोगी स्टाफ वा जुनियर कर्मचारीका तथा घरपरिवारमा परिवारका सदस्यको कुरा सुन्ने तथा भावना बुझ्ने दिन हो । शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ । भावनाप्रधान दिन हो, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । धनार्जनका दृष्टिले उत्तम समय देखिन्छ, हाकिम वा मान्यजनको विश्वासपात्र बन्न सकिने छ, घर परिवारबाट पनि सुखद समाचार प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
सँगीसाथी वा आत्मीयजनसित भेटघाट हुने वा सहकार्यमा कुनै काम सम्पन्न हुने समय छ, पारिवारिक माहौल र आर्थिक पक्षसमेत सुदृढ देखिन्छ । विद्वान् व्यक्तिका साथमा निकटता बढ्ने समय हो, नजानेको कुनै कुरा छ भने दाजु÷दिदी वा गुरु÷गुरुआमाको सहायता लिंदा लाभ पाइने छ । नयाँ योजना प्रारम्भ गर्न उत्तम समय छ, प्रयास गरेमा कार्यप्रणालीमा सकारात्मक परिवर्तन हुनेछ । सामाजिकता र सामूहिक क्रियाकलापमा दिलचस्पी बढ्नाले पुराना साथीभाइ वा दौंतरीको काममा समेत दौडधूप गर्न सकिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो । आम्दानीको मार्ग बढ्नेछन् । शङ्कास्पद कारोबार र गलत तरिकाबाट समेत धनार्जन गर्ने सम्भावना छ, तर रिस्कमा काम नगर्नु होला । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
मन भोगविलास र रमझमप्रति आकर्षित बन्नसक्छ, घरपरिवारमा सम्पर्क हुने र पतिपत्नी वा प्रेमीप्रेमिकाका बीचमा भलाकुसारी हुने वा निकटता बढ्ने समय हो । व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो, नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ । इच्छानुसार कार्य सम्पन्न हुँदै जाँदा प्रसन्नतामा बृद्धि हुने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता नगर्नु राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
मनमा दुविधा छ वा बढी थकान र बोझको अनुभूति भएको छ भने आराम गरेर तन्दुरुस्त हुनु जायज हुन्छ । परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्न सक्छ, तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ, विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो । पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्नसक्छ, लाभमूलक काममा कार्यालयबाहिरको काममा पनि खट्न सकिने छ । तर कर्तव्य र जिम्मेबारीप्रति सचेत हुनुपर्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
दाजुभाइ र बन्धुबान्धवका बीचमा उन्नति÷प्रगतिको चर्चा हुनेछ, तपाईंको परिश्रमको प्रशंसा हुने वा कमजोरीको विश्लेषण गर्दै सुझाव प्राप्त हुने समय छ । जीर्णोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ, तर प्रयास गरेमा अड्किएको वा फँसेको धन हात पर्ने दिन हो । नयाँ काम सुरु गर्ने समय छ, बोनस वा अतिरिक्त आम्दानी हातलागी हुनाले सँगीसाथीसँग रमाइलो गर्न मन हौसिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु हात पर्नसक्छ, सँगीसाथी र सहयोगीहरूको साथ पाउनाले हिम्मत बढ्ने तथा प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुने समय छ । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ । घरपरिवारमा सानातिना कुरामा वैचारिक मतभेद वा विवाद भइरहन्छ, तर पनि आज सबैले तपाईंकै रुचिअनुसार व्यवहार गर्ने समय छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर