बिर्तामोड : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को मर्मत कार्यका लागि दैनिक १० घण्टा बन्द गरिने निर्णयले हवाई यात्रामा ठूलो प्रभाव परेको छ। यसले हवाई भाडा लगभग दोब्बरले बढाएको छ, जसले गर्दा नेपाली यात्रुहरु भारतीय विमानस्थल प्रयोग गर्न बाध्य भएका छन्।

टीआईए बन्द हुने समयका कारण उडान र सिट अभाव भएपछि हवाई भाडामा करिब १००% वृद्धि भएको छ। यो बढोत्तरीले विशेषगरी श्रमिक, विद्यार्थी, र पर्यटकहरुलाई प्रभावित पारेको छ।
नेपाली यात्रुहरुको प्राथमिकता अहिले भारतीय विमानस्थलतर्फ मोडिएको छ। पश्चिम बंगालको बागडोग्रा, दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, र अन्य भारतीय विमानस्थल मुख्य विकल्प बनेका छन्।
उदाहरणका लागि हिजो शुक्रबार, ४० जना महिला कामदारहरुको टोली, जो विभिन्न जिल्लाबाट आएका थिए, अबुधाबी जानका लागि दिल्ली विमानस्थल हुँदै यात्रा गर्दै थिए। एजेन्टहरुले नेपालबाट उडान सम्भव नभएको जनाउँदै उनीहरुलाई भारतबाट उडानको व्यवस्था गरेका थिए।
विमानस्थल बन्दको निर्णयले नेपालका पर्यटन व्यवसायमा पनि नकारात्मक असर गरेको छ। चरम सिजनमा विमानस्थल बन्द गरिनु पर्यटक आगमनमा कमी आउने संकेतका रुपमा हेरिएको छ। पर्यटन व्यवसायीहरुले यस्तो निर्णय पर्यटन क्षेत्रका लागि घातक भएको बताएका छन्।



नेपालको हवाई यातायातको महत्वपूर्ण केन्द्रका रुपमा रहेको टीआईएको यो बन्दले यात्रुहरुलाई भारतीय विकल्प रोज्न बाध्य बनाएको छ, जसले नेपालका हवाई यातायात र पर्यटन क्षेत्रमा दीर्घकालीन असर गर्न सक्ने देखिन्छ।



