Aamsanchar

संझनाका लहरहरु (कविता)

Author Image
शनिवार, माघ ५, २०८१

लट्टेखर्क अगाडिका भिरहरु नाप्थेँ म पैले सधैँ
डाँडाको डिलमा पुगेर रमिता हेर्थेँ अहा ! मग्न भै
गाई जङ्गलमा चराउन भनी आई यिनै ठाउँमा
फिर्थेँ गोधुली याममा सखीसँगै बस्तु लिई गाउँमा

नेतेदेखि अगाडि खैरिनी हुँदै उक्लेर हल्वागढ
झाडी जङ्गल थुम्कीमा,डगरमा गाई र गोरुसित
निस्फिक्री वन डुल्दथ्यौँ कति मीठो स्वच्छन्द त्योजिन्दगी
मेरो बालक कालका दिन अहा ! आनन्दका सञ्चिती

धेरै उन्नत साज,साल रुखमा देब्रे थिए बेरिने
फुर्ती बाँदर कुद्दथे मृगहरु हुन्थे सधैँ हेरिने
गोहोरो हुँहुँ गर्दथ्यो चिरिबिरी गाना चरी भर्दथे
सान्नानीसँग जिस्किने रहरले जम्मै अघि सर्दथे

टर्रो थ्यो छन ता तथापि पहिले गायो खुबै खाइयो
भोको पेट हुँदा विचार नगरी स्वादिष्ट नै मानियो
त्यस्तै स्वाद हुने अरु कति थिए हर्रो र बर्रो अनि
जम्बूको फलका ठुला रुखहरु सम्झन्छु ऐले पनि

सान्नेति तिरमा अँगेर फलले जिब्रो रँगाइ कन
खर्बन्दी डिल उक्लिएर गदरी घोगा चबाइ कन
बर्खाको झरीमा भिजी कुसुमको आस्वादमा मग्न थ्यौँ
कैले बस्तु हराउँदा भयसँगै अत्यासमा डुब्दथ्यौँ

मेटिन्थ्यो कति भोक खै तर त्यहाँ रोमाञ्चको जीवन
साथीभाइ सबै समान तहका थ्यो एकता नै धन
बोकी घाँस र दाउरा दिनदिनै पढ्दा सधैँ तृप्त थ्यौँ
माटाको ममता उनेर मुटुमा बाँच्ने कला सिक्तथ्यौँ

मेरो बालक कालका लहर यी उम्रेर आएपछि
लेखेँ यो कवि भावना बगरको ढुङ्गो टुसाएपछि
साँच्चै टिप्न सके सलक्क कविता नाच्छे यसै गाउँमा
लेखौँ ए कवि हो सुरम्य कविता आफ्ना यिनै ठाउँका।

लक्ष्मीप्रसाद रिजाल
बुद्धशान्ति–२ झापा ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर