झापा। प्रतिबन्धित लागू–औषध ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। झापा गाउँपालिका–५ पन्थपाडा र झापा गाउँपालिका–१ लसुना क्षेत्रमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको चेकिङ टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
२०८१ साल माघ ७ गते साँझ ६ः१५ बजे, भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०१–०१६ प ९००९ नम्बरको मोटरसाइकललाई जाँच गर्दा झापा अर्जुनधारा–५ बस्ने ३० वर्षीय प्रबिण गिरी र कनकाई–८ बस्ने २५ वर्षीय सुमन राजवंशीलाई प्रतिबन्धित लागू–औषधसहित पक्राउ गरिएको हो। जाँचका क्रममा उनीहरूको साथबाट ब्राउन सुगर प्लास्टिकसहित १२ ग्राम २० मिलिग्राम (प्लास्टिक बाहेक १० ग्राम १५ मिलिग्राम) बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, झापा गाउँपालिका–१ लसुना क्षेत्रमा सोही कार्यालयबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पाँचथर फिदिम–४ की १९ वर्षीया रदिमा बर्देवा र सोही स्थानकी १९ वर्षीया इन्दिरा लिम्बुलाई पक्राउ गरेको छ। चेकजाँचका क्रममा उनीहरूको साथबाट ब्राउन सुगर प्लास्टिकसहित ३ ग्राम ९५ मिलिग्राम (प्लास्टिक बाहेक १ ग्राम ६० मिलिग्राम) बरामद भएको थियो।

पक्राउ परेकाहरूलाई लागू–औषधसम्बन्धी कानुनी प्रक्रियाअनुसार नियन्त्रणमा लिइ मोटरसाइकलसहित थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ। लागू–औषध नियन्त्रणका लागि प्रहरीले जिल्लामा निगरानी र चेकजाँचलाई कडा बनाएको छ।

इलाका प्रहरी कार्यालय कुमरखोदले विशेष सूचनाको आधारमा सफल कारबाही गर्दै लागू–औषध तस्करीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। यस कदमले लागू–औषध कारोबार नियन्त्रणमा थप योगदान पु¥याउने विश्वास गरिएको छ।

