


फायल फोटो ।


ताप्लेजुङ । मुकुम्लुङ क्षेत्रमा सशस्त्र प्रहरी र स्थानीयबिच भएको विवादपछि आजदेखि मेची राजमार्ग, तमोर करिडर, र ताप्लेजुङ प्रवेश मार्गमा अनिश्चितकालीन बन्द घोषणा गरिएको छ। मुकुम्लुङ बचाऊ संघर्ष समितिले यस घटनामा सुरक्षाकर्मीले गोली चलाएको विरोधमा बन्दको आह्वान गरेको हो।

माघ १२ गते साँझ मुकुम्लुङ क्षेत्रमा सशस्त्र प्रहरीले स्थानीयमाथि लाठीचार्ज र गोली प्रहार गरेको आरोप लगाइएको छ। संघर्ष समितिका अनुसार, स्थानीयले खाना खाइरहेको बेलामा बर्बर दमन गरिएको थियो। यस घटनामा याम बहादुर लिम्बू, सगुन लावती, धर्मेन पालुङ्वा, र मंगल लावती घाइते भएका छन्। लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बूलाई प्रहरीले हिरासतमा राखेको जनाएको छ।


संघर्ष समितिका पाँच घटकले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै सिडिओ र सशस्त्र प्रहरीका डिएसपीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्।


ताप्लेजुङ जिल्ला प्रशासनले पनि घटनाबारे आफ्नो विज्ञप्ति जारी गर्दै, सुरक्षाकर्मीमाथि ढुंगामुढा र घरेलु हतियार प्रयोग गरी प्रदर्शनकारीहरूले आक्रमण गरेको दाबी गरेको छ। उनीहरूका अनुसार, आत्मरक्षाको अन्तिम विकल्पको रूपमा हवाई फायर गरिएको हो।
बन्दको आह्वानसँगै पूर्वका मुख्य सडकहरू ठप्प भएका छन्। यातायात अवरुद्ध हुँदा यात्रुहरू समस्यामा परेका छन्। बजार र कार्यालयहरू पनि बन्द रहेका छन्।
घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगलगायत विभिन्न संघसंस्थाले चासो व्यक्त गरेका छन्। घटनाको निष्पक्ष छानबिन र विवाद समाधानका लागि संवाद आवश्यक रहेको विज्ञहरूले बताएका छन्।
मुकुम्लुङ घटनाले ताप्लेजुङको अवस्था थप जटिल बनाएको छ। बन्द र विरोधका कारण क्षेत्रीय यातायात तथा जनजीवन प्रभावित भइरहेको छ। अबको समयमै समाधान खोजिएन भने यसले थप सामाजिक र आर्थिक असर पुर्याउने देखिन्छ।