Aamsanchar

नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले गायत्री माता मन्दिरमा प्रवचन दिने

Author Image
आइतवार, माघ २०, २०८१

बिर्तामोड । झापाको बिर्तामोडस्थित गायत्री माता मन्दिरमा जारी धार्मिक अनुष्ठानमा नेपालका प्रथम जगद्गुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुने भएको छ ।
माघ १७ गतेदेखि सुरु भएको धार्मिक कार्यक्रम अन्तर्गत आज माघ २० गते साँझ ६ः३० बजे जगद्गुरुले विशेष प्रवचन दिने कार्यक्रम रहेको आयोजक समितिका संयोजक रोनक बंशलले जानकारी दिए। उक्त प्रवचन सुन्नका लागि हजारौं भक्तजन उपस्थित हुने अपेक्षा गरिएको छ ।

जगतगुरुको आगमनलाई भव्य बनाउन आयोजक समिति विशेष तयारीमा जुटेको छ । आज बेलुका ५ः३० बजेबाट भजन–कीर्तनको कार्यक्रम तय गरिएको छ । उक्त अवसरमा भारतका चर्चित भजन गायकहरू नेहा सिंह राजपुत, धीरज सिंह राजपुत, साहिल कोहली तथा नेपालका भजन गायक रोशन अधिकारीले भजन प्रस्तुत गर्नेछन् ।
मन्दिरमा दैनिक रूपमा हुने भजन–कीर्तनमा झण्डै २ हजार भक्तजनको उपस्थिति रहँदै आएको छ । आजको विशेष कार्यक्रममा थप भक्तजन सहभागी हुने अनुमान गरिएको छ, जसलाई मध्यनजर गर्दै आयोजकले आवश्यक व्यवस्थापन मिलाएको संयोजक बंशलले जानकारी दिए ।

नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यको परिचय
नेपालका प्रथम जगद्गुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य एक प्रतिष्ठित हिन्दू आध्यात्मिक गुरु तथा धर्मगुरु हुनुहुन्छ। उहाँको जन्म वि।सं। २०३३ साल मंसिर २७ गते झापा जिल्लाको हँडिया बुधबारेमा पिता डिल्लीराम भट्टराई र माता तुलसादेवी भट्टराईको कोखबाट भएको हो। बाल्यकालदेखि नै विलक्षण प्रतिभाका धनी उहाँले प्रारम्भिक शिक्षा पश्चात वृन्दावनमा अनन्त श्री विभूषित स्वामी श्री परशुराम देवाचार्य महाराजसँग ज्ञान प्राप्त गर्नुभयो। त्यहाँ उहाँ निम्बार्क सम्प्रदायमा दीक्षित भई “मोहनशरण“ नाम प्राप्त गर्नुभएको हो।
उहाँको लगनशीलता, कर्तव्यनिष्ठा, अनुशासन, मर्यादा, सदाचारिता र सहिष्णुताका कारण वृन्दावनका वरिष्ठ साधु, सन्त, महन्तहरूले “बालसन्त“ उपाधिले सम्मान गर्नुभएको थियो। वि।सं। २०६७ साल वैशाख १ गते काशी पण्डित सभाले उहाँलाई “जगद्गुरु“ उपाधिद्वारा विभूषित गरेको थियो, जसले नेपालका लागि ऐतिहासिक उपलब्धि बन्यो।
उहाँले नेपालमा धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धिमा विशेष योगदान दिनुभएको छ । चतराधाममा कुम्भ मेला आयोजना, नेपालमाताको ७५ फिट अग्लो मूर्ति निर्माणको संकल्प, तथा विभिन्न धार्मिक ग्रन्थहरूको प्रकाशन उहाँका प्रमुख कार्यहरूमा पर्दछन् । उहाँका प्रकाशित कृतिहरूमा “सप्तकौशिकी माहात्म्य“, “नेपालको चारधाम माहात्म्य“, “जगद्गुरु स्वभूराम देवाचार्यज्यूको जीवनी“, “श्री निम्बार्क दर्शन परिचय“, “श्री शंखमूलधाम माहात्म्य“ आदि रहेका छन्।

गायत्री माता मन्दिर निर्माणमा दाताहरूको योगदान
बिर्तामोडस्थित गायत्री माता मन्दिर स्थानीय दाताहरूको योगदानमा निर्माण सम्पन्न भएको छ। स्थानीय दाताबाट प्राप्त ५ धुर र समितिले खरिद गरेको ५ धुर जग्गामा निर्माण गरिएको मन्दिरको लागत करिब २ करोड ५० लाख रुपैयाँ पुगेको छ । कोशी प्रदेश सरकारले ४० लाख रुपैयाँ तथा बिर्तामोड नगरपालिकाले १५ लाख रुपैयाँ प्रदान गरेको छ । बाँकी रकम स्वेच्छिक दाताहरूबाट संकलन गरिएको संयोजक बंशलले जानकारी दिए।
यस धार्मिक अनुष्ठान तथा प्रवचन कार्यक्रमले धार्मिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने विश्वास आयोजक समितिले लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर