Aamsanchar

झापा सदरमुकाममा सुर्तिजन्य, मदिराजन्य तथा नशाजन्य पदार्थविरुद्ध सचेतनामूलक व्यानर टाँस

Author Image
आइतवार, माघ २०, २०८१

भद्रपुर । सुर्तिजन्य, मदिराजन्य तथा नशाजन्य पदार्थविरुद्ध सचेतनामूलक सूचना अंकित व्यानर सदरमुकाम चन्द्रगढी, भद्रपुरका विभिन्न स्थानहरूमा टाँस गरिएको छ।

आज ( आइतबार) चेतना नेपालको आयोजना तथा आन्तरिक राजस्व कार्यालय झापा र स्वास्थ्य कार्यालय झापाको समन्वयमा सम्पन्न उक्त अभियान अन्तर्गत नापी कार्यालय चन्द्रगढी, आन्तरिक राजस्व कार्यालय झापा, जिल्ला प्रशासन कार्यालय झापा, प्रादेशिक अस्पताल भद्रपुर, भद्रपुर नगरपालिका तथा स्वास्थ्य कार्यालय गरी ६ स्थानमा सर्वसाधारण सबैले देख्न सक्ने गरी व्यानर टाँस गरिएको हो।

सचेतना अभियानसँगै उक्त क्षेत्रका पसलहरूमा रहेका सुर्तिजन्य पदार्थहरू (जस्तै चुरोट, बिडी, खैनी, भोला, मधु, मिठा मधु, पराग)  हटाउन अनुरोध गरिएको थियो। अनुरोधअनुसार आसपासका पसलहरूले ती वस्तुहरू हटाई अब उप्रान्त कार्यालयको १०० मिटर वरिपरि तथा १८ वर्षमुनिका बालबालिका वा गर्भवती महिलालाई विक्री–वितरण नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सदरमुकामका कार्यालय प्रमुख, कर्मचारी तथा उपस्थित सेवाग्राहीहरूले उक्त अभियानको प्रशंसा गर्दै अभियानलाई निरन्तर साथ र सहयोग गर्ने बताएका छन्। भद्रपुर नगरपालिकाकी उपमेयर राधा कार्कीले अभियानको सफलताको कामना व्यक्त गरेकी छन् । प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरीटेन्डेन्ट डा। रामबाबु खड्काले नशाजन्य पदार्थका कारण सर्ने रोगभन्दा नसर्ने रोगहरूको असर गम्भीर हुने बताउँदै, अस्पताल परिसरमा समेत सचेतनामूलक व्यानर टाँस गर्न स्थान उपलब्ध गराउने घोषणा गरे।

यसै क्रममा माइती नेपालका कोशी प्रदेश (क्षेत्रीय) डाइरेक्टर गोविन्द घिमिरेले नापी कार्यालय अगाडि आयोजित कोण सभालाई सम्बोधन गर्दै आफ्नो धारणा राखेका थिए । चेतना नेपालका अध्यक्ष एवं प्रमुख प्रशिक्षक इन्द्र प्रसाद ओलीको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रमलाई प्रशिक्षक कल्पना भट्टराईले सन्देशमूलक गीत प्रस्तुत गर्दै कार्यक्रमको औचित्य स्पष्ट गरेकी थिइन ।

त्यसैगरी, सुर्तिजन्य तथा मदिराजन्य पदार्थको असर, कानुनी व्यवस्था र नियम निर्देशिकाबारे प्रशिक्षक इन्द्र प्रसाद ओलीले जानकारी गराएका थिए। ड्रग्स एडिक्सनको सुरुवाती चरण, युवाहरू कुलत र दुर्व्यसनतर्फ आकर्षित हुने कारणहरू तथा यसलाई न्यूनीकरण गर्ने उपायबारे परामर्शदाता दर्शन भट्टराईले जानकारी गराए। कार्यक्रममा व्यवस्थापन तथा प्रविधिक भूमिकामा परामर्शदाता आशिम श्रेष्ठको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा चेतना नेपालका सदस्य तथा दौतरी शिक्षा अभियानका परामर्शकर्ता दर्शन भट्टराई, सदस्य शुभेच्छुक तथा विभिन्न सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर