Aamsanchar

रोङ गाउँपालिकाले सानी पाथिभरा मन्दिर व्यवस्थापन गर्न थालेपछि ऐतिहासिक उपलब्धि

Author Image
सोमवार, माघ २८, २०८१

कुटीडाँडा स्थित सानी पाथिभरा मन्दिर । फोटो:बिनोद पाण्डे

बिर्तामोड । इलाम, रोङ गाउँपालिका–३ स्थित प्रसिद्ध सानी पाथिभरा मन्दिरको व्यवस्थापन स्थानीय सरकारले आफ्नो हातमा लिएपछि उल्लेखनीय उपलब्धि हासिल गरेको छ। गाउँपालिकाले २०७९ साल फागुन १ गतेदेखि मन्दिरको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी लिएपछि दुई वर्षको अवधिमा ३ करोड ३६ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ।

स्थानीय सरकारले व्यवस्थापनको जिम्मा लिनु अघि ५ वर्षमा ३ करोड ५० लाख हाराहारीमा भेटी दान रकम संकलन हुने गरेको थियो । पछिल्लो दुई वर्षको भेटी संकलन रकमलाई आधार मान्ने हो भने ५ अब ३ वर्षमा भेटी दान दातव्य रकम ८ करोड ४० लाख पुग्ने अनुमान गर्न सकिन्छ ।

गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबो (सुबास) का अनुसार, संकलित रकम मन्दिरको संरचना विकास, पारदर्शिता, भक्तजनको सुविधासम्बन्धी कार्यहरूमा खर्च गरिएको छ। ‘अघिल्लो आर्थिक वर्षसम्मको पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ। यस आर्थिक वर्षमा नयाँ योजना लागू गर्दैछौँ,’ उनले जानकारी दिए।

गाउँपालिकाले २०७९ सालमै ‘पाथिभरा संरक्षण तथा व्यवस्थापन ऐन’ जारी गरी दिलिप राईको नेतृत्वमा १९ सदस्यीय समिति गठन गरेको थियो। हालै पुनः उक्त समितिलाई निरन्तरता दिइएको छ। समिति गठनपछि व्यवस्थापन सुधार हुँदै भक्तजनहरूको विश्वास समेत बढेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार धार्मिक स्थलहरूको संरक्षण गर्दै जैविक विविधताको प्रवर्द्धन गर्ने उद्देश्यले मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याइएको थियो।

पाथिभरा मन्दिरमा बर्सेनि पाँच लाखभन्दा बढी भक्तजन भित्र्याउने लक्ष्यसहित व्यवस्थापन सुधार गरिएको हो। व्यवस्थापन सुदृढीकरणसँगै नजिकैका कन्याम, श्रीअन्तु जस्ता पर्यटकीय स्थलहरूमा समेत चहलपहल बढ्न थालेको छ। आम्दानीको पारदर्शी उपयोगले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको छ।

गाउँपालिकाले मन्दिर व्यवस्थापनको दीर्घकालीन योजना निर्माण गर्दै भक्तजनहरूको सुविधालाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर