कनकाई । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा फक्ताङलुङ महोत्सव २०८१ आयोजना हुने भएको छ। फक्ताङलुङ एजुकेसन फाउण्डेसनको प्राङ्गणमा आगामी फागुन ७ गते बुधबार आयोजना हुने महोत्सव विद्यालयको १५औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा गर्न लागिएको हो। विद्यालयका प्रिन्सिपल ओमविक्रम नेम्वाङका अनुसार महोत्सवमा विविध कार्यक्रमहरू समावेश गरिने छन्।


महोत्सवमा प्राचीन घरेलु सामग्री प्रदर्शनी, फक्ताङलुङ म्युजियमको उद्घाटन, विज्ञान तथा रोबोटिक्स प्रदर्शनी, पौराणिक तथा सांस्कृतिक सामग्रीको बिक्री एवं प्रदर्शनी, चित्रकला प्रदर्शनी, विद्यार्थीहरूद्वारा उत्पादन गरिएका कृषि सामग्रीको प्रदर्शनी, खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू रहने छन्।



विद्यालयकी शिक्षिका विना उप्रेतीका अनुसार विद्यालयमा अनुभवी शिक्षक, व्यवस्थित भवन, छात्र-छात्राका लागि छुट्टाछुट्टै शौचालय, खानेपानी, क्यान्टिन, तथा अतिरिक्त क्रियाकलापको राम्रो व्यवस्थापन रहेको छ।


स्थानिय अभिभावक शान्ता खवासले विद्यालयमा पढाइसँगै सरसफाइ, वृक्षारोपण, दुना-टपरी, बाती कात्ने जस्ता सीपमूलक कार्य सिकाइने भएकाले बालबालिका विद्यालय जान रुचाउने गरेको बताइन्।
२०६६ सालमा थोरै विद्यार्थीबाट सुरू गरिएको विद्यालयमा हाल ४५० भन्दा बढी विद्यार्थी, ३० भन्दा बढी शिक्षक तथा अन्य कर्मचारी कार्यरत छन्। विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेको छ।
विद्यालयले हरेक बिहीबार अतिरिक्त क्रियाकलाप अन्तर्गत किताबमा पढाइएका ज्ञानलाई व्यावहारिक रूपमा कला, संस्कृति, नृत्य, गायन, नाटक तथा सीप सिकाउने कार्य गरिरहेको प्रिन्सिपल नेम्वाङले जानकारी दिए।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेम्वाङले वर्तमान शिक्षा प्रणाली व्यावहारिक, सीपमूलक, तथा आयमूलक हुनुपर्नेमा जोड दिँदै विद्यालय, शिक्षक, र अभिभावक मिलेर त्यसका लागि वातावरण सिर्जना गरिरहेको बताए।
विद्यालयले चाडपर्व, सरसफाइ अभियान, वृक्षारोपण, विज्ञान प्रदर्शनी, डस्टबिन वितरण, तथा भूगोल, समाज, कला, संस्कृति सम्बन्धी कार्यक्रमहरू आयोजना गर्दै आएको छ। विद्यालयले केही समयअघि अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त गरेको विद्यालय प्रशासनले जानकारी गराएको छ।